‘सेल्टर’ बनाउँदै रेडक्रस

0
1018

झापा।

जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

झापामा हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको विपद् व्यवस्थापन टोली र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

झापामा नेपाल रेडक्रस सोसाइटीले बाढीका बेला सुरक्षित रहन जिल्लाका विभिन्न ठाउँमा सेल्टर निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको समन्वयमा निर्माण गरिएको सेल्टर तथा गोदाम घरको झापाका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, स्थानीय सरकार प्रमुख, रेडक्रसकर्मी र स्थानीयबासीले अनुगमन गरेको रेडक्रस सभापति लोकराज ढकालले बताएका छन् ।

झापा सहित प्रदेशका पाँच जिल्लामा विभिन्न घटनामा परी पछिल्लो १० दिनमा १६ जनाको मृत्यु भएको छ । यी घटनामा सबैभन्दा बढी मोरङमा ८ जनाको मृत्यु भएको हो । झापा, मोरङ, उदयपुर, इलाम र ताप्लेजुङमा भएका घटनामा उनीहरुको मृत्यु भएको हो । प्रदेश १ का बाँकी ९ जिल्लामा मृत्युको घटना भएको जानकारी नआएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले खोलाले बगाउँदा, पानीमा डुबेर, चट्याङले लागेर र सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए ।

घटना विवरण अनुसार शुक्रबार दिउँसो मोरङको जहदा गाउँपालिका–३का १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीय रिक्की राजवंशीको पोखरीमा डुबेर मृत्यु भएको छ । करिब साँढे १ बजे स्थानीय ब्रम्हदेव राजवंशीको पोखरीमा पौडी खेल्नेक्रममा रिक्कीको पोखरीमा नै मृत्यु भएको थियो ।

दिनेशलाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल बिराटनगर पु¥याउनासाथ मृत्यु भएको बताइएको छ । त्यसैगरी बिहीबार मोरङको बेलवारी नगरपालिका–९ घर भई बिराटनगर महानगरपालिका–१९मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । राति साँढे १० बजे सुत्नको लागि झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही राति ११ बजेतिर मोरङको बिराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु.४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए । बिराटनगर महानगरपालिका–१६का २३ वर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । असार १० गते झापाको बाह्रदशी गाउँपालिका–६ कञ्चनवारीमा एक वर्षीया अनुषा टुडूको खाल्डोमा डुबेर मृत्यु भएको थियो । खेल्नेक्रममा घर नजिकै पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको हो ।

असार १२ गते मोरङको बिराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडिको खाल्डोमा डुबेर ७ वर्षीय अंकुश मण्डलको मृत्यु भएको थियो । पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीले देखेका थिए । उद्धार गरी उपचारको लागि कोशी अस्पताल बिराटनगर पु¥याउनासाथ बालकको मृत्यु भएको हो ।

त्यस्तै असार १२ गते नै मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला किनारमा चौपाया चराइरहेकी साहलाई अचानक बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा १३ गते उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । झापाको शिवसताक्षी नगरपालिका–८मा असार १३ गते ३ वर्षीय बालक संयमकुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको थियो । कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका–२का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर असार १५ गते मृत्यु भएको थियो । पहाडी जिल्ला ताप्लेजुङको श्रीजंघा–१ जौबारीका ७ बर्षीय रवीन दर्जीको असार १५ गते कुलोमा डुबेर मृत्यु भएको छ ।

असार १६ गते उदयपुरका दुई स्थानमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१३ का ३८ वर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको छ । स्थानीय थलाहा खोलाले बगाउँदा सुनसरीगढी गाउँपालिका–२ मुसहरी टोलका ४२ वर्षीय बब्लु भनिने बलराम ऋषिदेवको मृत्यु भएको हो । सोही दिन इलामको देउमाई नगरपालिका–५का २५ वर्षीय हरिप्रसाद चापागाँई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए । पूर्वमा वर्षासँगै बाढी र पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ । पानी आएको समयमा नदी तथा खोला किनारमा नजान प्रहरीले आग्रह गरेको छ ।

असार २० गते रतुवा खोलाले बगाउँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । हरेक वर्ष आउने बाढीले झापामा जन धनको ठूलो क्षति गर्दै आएको छ । यो वर्ष कोरोना भाइरस कोभिड–१९को बढ्दो संक्रमणका कारण पनि अझ बढी सतर्क रहन जिल्लास्थित विपद् व्यवस्थापन समिति झापाले अनुरोध गरेको छ । विपद् व्यवस्थापन समिति झापाले मनसुन पूर्व तयारी कार्ययोजना २०७७ समेत तयार गर्दै विपद् व्यवस्थापनका लागि सक्रियता देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here