स्वदेशी उद्यममा रमाएका इलामका युवा

0
988

किरण पौड्याल / झापा।

इलाम नगरपालिका–६ स्थित बालन गाउँका बुद्धिमान राईलाई घरको आर्थिक सङ्कट टार्न विदेश जानुपर्ने बाध्यता आइलाग्यो । स्वदेशमा आम्दानीको बाटो नभेटेपछि उनले विदेशको विकल्प पनि देखेनन् ।

आर्थिक अभावमा विदेश हानिएका उनको १० वर्ष कमाएको केही रकमले छोराछोरीलाई उच्च शिक्षा पढाउने धोको त पूरा भयो तर विदेशबाट कमाएर ल्याएको रकम सकिएपछि फेरि पहिलेकै स्थितिमा पुगिने हो कि भन्ने त्रासले भने छोडेन । त्यसैले स्वदेशमै केही गरौँ भन्ने सोच आयो ।

स्वदेश फर्किएर उनी व्यवसायिक पशुपालन र आधुनिक कृषि गर्ने उद्देश्यले आफ्नै बारी खनजोत गर्न थाले । त्यही भूमिमा एभोकाडो, कफी, कागती र सुन्तला लगाए । विदेशमा गरे जति दुःख घरमै गर्ने भन्दै उनले लोकल कुखुरा, बट्टाइ र टर्की चराको व्यावसायिक पालन पनि थाले ।

अहिलेसम्म वुद्धिमानको लगानी उठेको त छैन तर ‘पैसा डुब्दैन’ भन्नेमा भने उनी ढुक्क छन् । करीव डेढ वर्षअघि शुरु गरेको यो व्यवसायमा उनको करिब रु. १४ लाख लगानी भइसकेको छ । भौतिक संरचनादेखि विरुवा र चौपाया किन्दा ठूलो रकम खर्च भएको उनी बताउँछन् । वुद्धिमान भन्छन्– ‘तर राम्रो कमाइ भयो भने एक वर्षमै यो लगानी उठाउन सक्छु भन्ने लागेको छ, आम्दानी पनि राम्रै हुन शुरु भएको छ ।’ विभिन्न संघ–संस्थाबाट ऋण लिएर थालेको यो व्यवसायका लागि उनले आफ्नो बाहेक २५ रोपनी जमिन ठेक्कामा लिएका छन् ।

उनी मात्र नभएर अहिले यो काममा परिवारका पाँचै जना सदस्य खट्ने गरेको देखिन्छ । यो व्यवसाय चक्रिय खालको छ, पशुपालनबाट मल निस्कन्छ त्यो मल बोटविरुवामा हाल्छु र बोटविरुवाको घाँस गाईवस्तुलाई हुन्छ । दैनिक १२ घण्टा खट्ने गरेका वुद्धिमान आफूले नयाँ किसिमको व्यवसाय शुरु गरेको बताउँछन् । जिल्लामै नौलो रूपमा लिइएको बट्टाइ र टर्की चराबाट पनि राम्रै आम्दानी लिने सोचमा उनी छन् ।

अबको उनको चाहना बाख्रापालनमा छ । राम्रै जातको बाख्रा पाल्ने तयारीमा छन् उनी । विदेश गएकोमा असन्तुष्टि भने उनलाई छैन । परिवारबाट समेत राम्रो साथ पाइरहेका वुद्धिमानले विदेशमा सिकेको सिप अहिले आफ्नो व्यवसायका लागि काम लागेको उनको अनुभव छ ।

माई नगरपालिका वडा नंं. १०का धनपति दुलाल पनि सशस्त्र द्वन्द्वको समयमा रोजगारीका लागि विदेशिनु प¥यो । माओबादीले घर–घरबाट मान्छे लिएर जान थालेपछि धनपति बच्नकै लागि पनि मलेसिया हानिएको बताउँछन् । सात वर्ष विदेशमा बिताएका उनको मनमा स्वदेशमै केही इलम गर्नुपर्छ भन्ने सोच आएपछि विदेशमा सँगै बसेका सात जना नै नेपाल फर्किएर सामूहिक बाख्रापालन गर्ने सल्लाह भयो । अहिले धनपति र उनका प्रवासी साथीहरू मिलेर कृषि तथा पशुपालन फार्म खोलेका छन् ।

उनीहरुको फार्मको लगानी उठेको त छैन तर उनीहरु पनि निराश छैनन् । करिब रु. २३ लाख लगानी गरेर उनीहरूले फार्म खोलेर बाख्रापालन थाले । विदेश जाँदा पनि नराम्रो भएन, घरजग्गा जोडियो, केही कमाई त भयो तर घरपरिवारबाट टाढा बस्दा भनेजस्तो भने नहुँदोरहेछ, आफ्नै देशमा इलम गरेजस्तो आनन्द नआउने रहेछ । स्थानीय तह र स्थानीय संघ–संस्थाबाट पनि सरसल्लाह पाइएको र निराश हुनुपर्ने स्थिति नआएको उनीहरुको भनाइ छ ।

सन्दकपुर गाउँपालिकास्थित जमुनाका युवा केवल राईले पनि लामो समय विदेशमा बिताए । लामो समय प्रवासमा बिताएर राम्रै पैसा कमाएका उनी घर फर्किएर डेरी चलाउन थाले । अहिले केवलसहित गाउँका दुई जना साथी मिलेर गाउँभरिको दूध सङ्कलन गरी घरमै दूध पेलेर घ्यु र छुर्पी बनाउने गरेका छन्– उनीहरु ।

आफ्नो घरमै डेरी सञ्चालन गरेका केवलले एक दिनमा दुई सय ५० लिटर दूध पेलेर त्यसबाट छुर्पी र घ्यु उत्पादन गर्ने गरेका छन् । केवलको डेरीमात्र नभई ‘होलिस्टेन’ जातका चारवटा गाई समेत छन् । गाउँमै गाई फार्म र डेरी चलाइरहेका केवल अहिले यसैमा सन्तुष्ट छन् । राम्रै कमाई भएको बताउने उनी व्यवसाय बृद्धि गर्दै लैजाने सोचमा छन् ।

विदेशबाट फर्किएका धेरैले पछिल्लो समय स्वदेशमै इलम थालेका छन् । उनीहरूले वैदेशिक रोजगारका क्रममा कमाएको पैसा र सिकेको सिप गाउँमै खर्चिएर उद्यम शुरु गरेका छन् । धेरै व्यक्ति अरूको हल्लाको पछि लागेर विदेशिने गरेकाले कतिपय युवाले विदेशमा निकै दुःख पनि पाएको वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशिलता कार्यक्रम चलाइरहेका सन्तोष मगरको भनाइ छ ।

मगरका अनुसार गाउँमा राम्रो रोजगारीको माध्यम नदेख्नु, विदेशमा सहज रूपमा पैसा कमाइने धारणा बनाउनु र साथीसङ्गतका कारण धेरैजसो विदेशिने गरेका हुन् । स्थानीय तहसँगको समन्वयमा सुरक्षित आप्रवासनको प्रवद्र्धन र मानव वेचविखन रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका मगरले स्वरोजगारका लागि आफूहरुले उद्यमशीलता तालिम दिन थालेपछि वैदेशिक रोजगारको दर घटेको बताएका छन् । हामी यो कार्यक्रममार्फत पहिले विदेश नजान अनुरोध गर्छौँ । यदि उहाँहरू विदेशिने सोचमा पुग्नुभएको रहेछ भने त्यो देशका बारेमा जानकारी गराउने काम गर्छौँ’– मगरले भने ।

मगरले गत करीव डेढ वर्षमा विदेशबाट फर्किएका दुई सय ४१ जनालाई उद्यमशिलता तालिम दिएर गाउँमै काम गर्न सहयोग पु¥याएको बताउँछन् । यो समयमा स्थानीय क्षेत्रमा जे उत्पादन हुन्छ त्यहीसम्बन्धी तालिम दिँदा धेरैजसो विदेशिन खोज्ने युवा पनि स्वदेशमै काम गर्न थालेको मगरले सुनाए । गत मंसीरबाट शुरु भएको यो परियोजना जिल्लाको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङ्सेबुङ्ग गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

वैदैशिक रोजगारीमा जान तयारी र रोजगारीपछि स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित कसरी गर्न सकिन्छ भनेर परियोजनाले काम गर्दै आएको छ । परियोजनाका इलाम जिल्ला संयोजक ईश्वरी तामाङले परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानूनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्र्थापना कार्यक्रम गर्दै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here