हात धुन पाइडल ट्याङ्की

२४ असार २०७७, बुधबार मा प्रकाशित

झापा ।

विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उद्देश्यले राष्ट्रिय सेवा दल ४५औं र ४६औं जुनियर डिभिजन, इष्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने (पाइडल टेङ्की) राखेको छ ।

नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको हो । सेवा दलका विद्यार्थीको सहयोगमा बनाइएको उक्त टेङ्कीको क्षमता ५ सय लिटर रहेको सेवा दल होराइजका समन्वय शिक्षक विमलकुमार शाहीले बताए । हात धुने उक्त टेङ्कीको पानीमा सेनेटाइजर प्रयोग गरिएको छ ।

दुवै स्थानमा राखिएको हात धुने टेङ्की स्थानीय संस्थाको संरक्षणमा रहनेछ । धुलाबारी बजार सिरानमा राखिएको टेङ्कीको संरक्षण सञ्जीवनी महिला विकास संस्थाले र मोडमा राखिएको टेङ्कीको संरक्षण धुलाबारी युनिटीले गर्ने भएको छ । हात धुने टेङ्कीको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापाले निरीक्षण गरेका थिए ।

टेङ्की राखिएपछि दुवै स्थानमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । धुलाबारी मोडको कार्यक्रममा मेचीनगर–१०का वडाध्यक्ष सुवेश पनेरु, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरी, धुलाबारी युनिटीका संयोजक प्रकाश खड्कालगायतले सचेतना मन्तव्य राखेका थिए ।

यस्तै, धुलाबारी सिरानको कार्यक्रममा मेचीनगर–९का वडाध्यक्ष गोपाल खड्का, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, सहारा साकोसका निर्मल दाहाल, प्रेम डाँगीलगायतले मन्तव्य राखेका थिए । दुवै कार्यक्रममा इस्ट होराइजनका प्रिन्सिपल सञ्जीव राईले औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।

शैक्षिक तथा सामाजिक क्षेत्रमा अगाडि रहेको इस्ट होराइजनले सोही अवसरमा धुलाबारी ट्राफिक पोष्टलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको थियो भने सर्वसाधारणलाई साबुन तथा मास्क वितरण गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here