देउवाको काउन्ट–डाउन शुरु भएकै हो त ?

0
7

सत्ताका माहिर खेलाडी नेपालका प्रमुख तीन राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र अन्य साना दल समेतको सहभागितामा यो वर्षको हिउँदे सिजनको राजनीतिक खेल रोमाञ्चक बन्यो । काङ्ग्रेस भर्सेस माओवादीबीच भएको सेमिफाइनलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल नभएपछि थप गरिएको इन्जुरी समयमा गगन थापाले दिएको उत्कृष्ट पासलाई काङ्ग्रेस टिमका क्याप्टेन शेरबहादुर देउवाले दिशा दिन चुक्दा खेल बराबरीमा टुङ्गिई पेनाल्टी सुटआउटतर्पm मोडियो । पेनाल्टी सुटआउटमा माओवादी टिमका कप्तान कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का कप्तान देउवालाई स्तब्ध पार्दै निर्णायक गोल गरेसँगै प्रचण्डको टिम फाइनल प्रवेश ग¥यो ।

खेलमा धेरै फाउल खेल्ने खेलाडीको रूपमा माओवादी सुप्रिमो कमरेड प्रचण्ड दरिए भने बेस्ट प्लेयर काङ्ग्रेसका गगन थापा बने । पटक–पटक पहेंलो कार्ड पाएर पनि नचेतेका पुष्पकमल दाहाल प्रचण्डले यसअघिका सिजनमा रातो कार्ड पाएर खेल मैदानबाट बाहिरिनु परेको यहाँ स्मरणीय छ । फाइनल खेल कप्तान कमरेड केपी शर्मा ओलीको टिम एमाले र कप्तान कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)को टिमबीच हुनेछ । फाइनल खेलमा दुई टिमबीच राम्रै भिडन्त हुने आँकलन गरिँदै छ राजनीतिक खेल जगतमा । फाइनलमा ओलीले दाहाललाई बिट गर्ने कि दाहालले ओलीलाई, त्यो चाहिँ खेलसम्म पर्खनै पर्ने हुन्छ । फाइनल खेल छिट्टै शुरु हुने बताउँछन् आयोजक । ओलीको टिमले बाजी मारे उपबिजेताका लागि काङ्ग्रेस र माओवादीबीच हुने खेलमा काङ्ग्रेसले माओवादीलाई पछार्ने ठोकुवा गर्छन् खेल पारखीहरू ।

फागुन ७ मा शुरु भई १० मा समापन भएको नेपाली काङ्ग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले माओवादीको १० वर्षे बिद्रोहलाई हिंसात्मक द्वन्द्व भनि प्रयोग गरेको वाक्यांश र आगामी निर्वाचनमा काङ्ग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको प्रस्ताव सर्वसम्मत रूपमा पास हुनु अनि हिन्दू धर्मको मुद्दाले प्रवेश पाउनुलाई नेकपा माओवादी केन्द्रले गलत विश्लेषण गरी आपत्ति नै जनाउँदै आफ्ना कमी–कमजोरी ढाकछोप गर्न, लुकाउन काङ्ग्रेससँगको गठबन्धन तोड्नु केवल बहानाबाजी अनि बेइमानी र धोखाधडी मात्र हो । माओवादीको कुतर्कमा कुनै दम छैन । यो राजनीतिक घटनाक्रम अप्रत्यासित रूपमा विकसित भएको होइन । यसको पृष्ठभूमि कोट्याउन नयाँ सरकारको विषयलाई लिएर सातदलीय सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेसका केही प्रदेससभा सदस्यले कोशी प्रदेशमा गरेको बिद्रोहसम्म पुग्नु पर्ने हुन्छ ।

गठबन्धन भत्किनुमा काङ्ग्रेस र माओवादीले धारे हात लगाउँदै दुबैले एकअर्कालाई सत्तोसरापसहित दोषारोपण गरे पनि भित्री गुह्य कुरो र चुरो भनेको कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्री नपाउनु, कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेकी माओवादी नेतृ चम्पादेवी कार्की पराजित हुनु, गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठलाई हटाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)लाई पटक(पटक दबाब दिनु, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच तिक्तता हुनु, महत प्रधानमन्त्री प्रतिभन्दा पनि बढी सभापति देउवा र आरजु भाउजूप्रति उत्तरदायी हुनु, टेरामक्स भ्रष्टाचार प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई हटाउन देउवा तयार नहुनु यी र यस्तै ‘ईस्यु’ नै गठबन्धन भत्कधनुको रसायन भई कडी बन्न पुगे ।

पार्टीका कार्यकर्ता अनि जनताको अभिमतबाट अनुमोदित नभई प्रत्यक्षतर्फ पराजित डा. प्रकाशशरण महतलाई पार्टीको मूल नेतृत्वले पार्टीको केन्द्रीय प्रवक्ता अनि मन्त्री बनाउँदा, त्यस्तै गरेर मनि, मसल, डन र गनको सहारा र भरमा निर्वाचन जितेर समाजलाई आतङ्कित गर्ने, सार्वजनिक स्थलमा मात्र होइन जो कोहीसँग पनि अभद्र व्यवहार प्रदर्शन गर्ने, तल्लो स्तरको गालीगलौजमा उत्रने भनि पहचान बनाएका मोहनबहादुर बस्नेत जस्तालाई काङ्ग्रेसको मूल नेतृत्वले बुई चढाएर कोँध थाप्दा अनि पुल्पुल्याएको परिणाम पनि हो काङ्ग्रेस सत्ताबाट बाहिरिनुको । के भयो मङ्गले आफ्नै ढङ्गले ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत अन्य साना दलबीच अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्काएर त्यही वर्षको २५ फागुनमा नेकपा माओवादी केन्द्रसहित अन्य पाँच दललाई समेत समावेश गराएर सात दलीय गठबन्धन गरी काङ्ग्रेसलाई १० पुस अगाडि कै अवस्थामा पु¥याएर बहादुरी गरेको भनि ‘वेटिङ प्राइममिनिस्टर’को रूपमा गमक्क फुल्दै माओवादी सुप्रिमोको ‘कम्फोर्टेबल’ बन्दै आएका काङ्ग्रेस सभापति देउवा एक वर्षपछि फागुन २१ गते भने युद्ध हारेको सेनापतिको रूपमा देखिए ।

नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धन भत्किएबाट काङ्ग्रेसको मूल नेतृत्व र उनका हुक्के, बैठके, द्वारपाल अनि चाटुकदारहरू मर्माहत भए पनि नेपाली काङ्ग्रेसका आम कार्यकर्ता, मतदातामा खुशियाली छाएको छ । उनीहरू उत्साहित भएका छन् । कार्यकर्तामा जोश र जाँगर पलाएको छ भने सकारात्मक सन्देश समेत प्रवाह भएको छ । उनीहरूको मुहारमा चमक फर्किएको छ । कार्यकर्ता, मतदाता मात्र होइन शुभेच्छुक र समर्थकको भावनाको समेत कदर र सम्मान भएको छ । माओवादीको छायाँबाट काङ्ग्रेसलाई मुक्त गराएको अनि सम्मानजनक रूपमा अवतरण गराएको श्रेय र जस कार्यकर्ता, मतदाता, शुभेच्छुक र समर्थकले महामन्त्री गगनकुमार थापालाई दिएका छन् ।

राष्ट्रिय राजनीति, सत्ता गठबन्धन र नेपाली काङ्ग्रेसको आन्तरिक शक्ति सन्तुलनमा प्रभाव पार्ने गरी हलचल आउने राजनीतिको कोर्षको शुरु काङ्ग्रेसभित्रैबाट डा. शेखर कोइराला समूहले कोशी प्रदेशमा असोज २५ गते गरेको बिद्रोहको दिनबाट शुरु भएको थियो । त्यसको केही समयअघिदेखि नै नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा र शीर्ष नेता डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन तोड्नुपर्ने धारणा राख्दै आएको पृष्ठभूमिमा काङ्ग्रेस र माओवादीबीच पारपाचुकेसम्म हुन सक्ने बीऊ त्यसै दिन रोपिएको थियो ।

काङ्ग्रेसभित्रैबाट भएको बिद्रोहको तरङ्ग प्रदेशदेखि केन्द्रसम्म पर्दा गठबन्धन धरापमा परेको मात्र होइन, गठबन्धनको जग त्यसैबेला हल्लिएको थियो भने प्रधानमन्त्री निवास र देउवा निवासमा सानोतिनो भुइँचालो नै गएको थियो । देउवाको निरङ्कुशता र स्वेच्छचारितामा पनि त्यसै दिनदेखि ‘ब्रेक’ लाग्न शुरू भएको छ । नेपाली काङ्ग्रेस संसदीय दलको नेताको निर्वाचनमा सभापति देउवालाई ठाडो चुनौति दिँदै टक्कर दिने महामन्त्री गगनकुमार थापा र सभापतिका प्रत्यासी डा. शेखर कोइरालाको माओवादीसँग गठबन्धन गर्न हुँदैन भन्ने मत बलियो भएर बढ्दै गएपछि देउवाले तनाव झेलिरहेका थिए भने माओवादी सुप्रिमा कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनै पनि बेला गठबन्धन टुट्न सक्ने सङ्केतको रूपमा लिँदै आएका थिए ।

कोशी प्रदेशबाट शुरु भएको बिद्रोहको ‘साइड इफेक्ट’ अरु प्रदेशमा समेत पर्न सक्ने, यसको झड्काबाट प्रदेश मात्र होइन अन्ततः केन्द्र नै प्रभावित हुने देखेपछि आत्तिएका काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय गठबन्धन नभत्काउन डा. शेखर कोइरालासँग लिखितै ग्यारेन्टी मागेपछि देउवा, दाहाल र डा. शेखरले असोज २७ गते कागजको एउटा चिर्कटोमा ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं’ भनि संयुक्तरूपमा हस्ताक्षर गरेको एकबुँदे हस्तलिखित सहमतिपत्र लावारिस र बेवारिसे बन्न पुग्यो सभापति देउवा र अध्यक्ष दाहालका कारण । देउवाको सत्तालिप्सा अनि दाहालको अस्थिर चरित्रका कारण यसअघि पनि काङ्ग्रेस र माओवादीबीच गठबन्धन टुटेको यहाँ स्मरणीय छ ।

विकसित र परिवर्तित घटनाक्रमको सूक्ष्मरूपले मूल्याङ्कन, विश्लेषण, परिणाम आँकलन गर्न अनि सतर्कता अपनाउन चुकेका काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री कमरेड पुष्पकमल दाहालका पुराना शर्तसहित थप नयाँ शर्त पूरा गरेरै भए पनि आफ्नो पालाको प्रधानमन्त्री पद सुरक्षित गर्न समय घर्किएपछि उपसभापति पूर्णबहादुर खड्कालाई साथैमा लिएर २१ फागुनको बिहानै माओवादी सुप्रिमो कमरेड प्रचण्डको आरती उतार्न चन्दन, अक्षता, अबिर र पूmलमाला अनि नैवेद्य र भेटीसहित प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरे । देउवाले दाहालसँग लम्पसार परेर अनुनय, विनय र अलाप–विलाप गर्दा पनि सुप्रिमो पग्लेनन् । प्रचण्डको व्यवहारबाट अपमानित र आहत भएका सभापति देउवा भारी मन लिएर आफ्नै निवास फर्किए ।

‘वेटिङ प्राइममिनिष्टर’ देउवालाई पावर–सक्ड भयो । माओवादी सुप्रिमोसँग सभापति देउवाले गरेको सम्वादको पुष्टि उपसभापति खड्काले यसरी गरे– ‘प्रधानमन्त्रीलाई हामीले राष्ट्रियसभा अध्यक्ष माओवादीबाटै बनाउन पनि काङ्ग्रेस तयार छ, काङ्ग्रेसका सबै मन्त्री फेरबदल गर्न तयार रहेको जानकारी गराएका थियौं । साथै प्रधानमन्त्रीको कार्यकाल बढाउन समेत काङ्ग्रेस तयार छ भन्यौं तर उहाँले त्यसका लागि ढीला भइसक्यो, अब काङ्ग्रेससँग गठबन्धनमा रहन सकिँदैन भन्नुभयो । उहाँहरू पहिलेदेखि नै यो योजनामा रहेको देखियो ।’

प्रधानमन्त्री निवासबाट फर्किएपछि सोही दिन बसेको पाटी पदाधिकारीहरूको बैठकमा सभापति देउवाले दुखेसो पोख्दै माओवादी सुप्रिमो कमरेड प्रचण्ड धोकेबाज भएको आरोप लगाए । उनको भनाइ थियो– ‘ओलीजीले पटक–पटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर मैले भेट्न खोजिनँ । तर, प्रचण्डजीले भित्रभित्रै धोका दिनुभएको रहेछ । प्रचण्डजी धोकेबाज हुनुहुँदो रहेछ । उहाँले पछिल्लो समय निकै निहुँ खोज्दै आउनुभएको थियो । महासमितिमा उठेका विषयमा पनि धेरै केरकार भएका हुन् । धोका दिनका लागि पूरै आन्तरिक तयारीमा लाग्नुभएको रहेछ ।’

गठबन्धन भत्किने आधार कोशी प्रदेशमा मुख्यमन्त्री छनौट प्रक्रियामा देखिएको राजनीतिक उतारचढावदेखि तयार भएको पुष्टि गरेका छन्, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कान्तिपुर दैनिकलाई २०८० फागुन २२ गते दिएको अन्तरवार्तामा । अन्तरवार्ताको अंश– ‘हामीसँग गठबन्धन गरिरहेको दल काङ्ग्रेससँग कोशीको मुख्यमन्त्री छनौट प्रक्रियामा देखिएको राजनीतिक उतारचढावदेखि नै यो आधार बनेको थियो । राष्ट्रियसभाको निर्वाचनको मत परिणामले त्यसलाई झन् चर्कायो । निर्णायक काम चाहिँ काङ्ग्रेसको महासमिति बैठकमा देखिएको गतिविधिले हो । काङ्ग्रेसको महासमिति बैठकमा उठेका मुद्दाले हामो पार्टीमा हलचल नै ल्यायो । माओवादी स्थायी समितिको बैठकमा अब काङ्ग्रेससँग अगाडि बढ्न सकिँदैन भनेर सबैजसोको एकमत रह्यो । तीन महिनादेखि सरकारका मन्त्रीहरू पनि फेर्न नसक्ने पृष्ठभूमिमा नयाँ गठबन्धनको वातावरण बनेको हो ।’ चाइना–कार्ड खेल्दै सात दलीय गठबन्धन भत्काउन नेकपा एमालेबाट उपाध्यक्ष बिष्णु पौडेल र नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन सक्रिय थिए ।

नेपाली काङ्ग्रेससँग गठबन्धन भत्काएर नेकपा एमालेसँग नयाँ समिकरण गर्नु प्रधानमन्त्री कमरेड पुष्पकमलको प्रधानमन्त्रीको आयु लम्ब्याउने रणनीति र षड्यन्त्र मात्र हो । उनको यो दिवासपना सोमनाथ शर्माको सातुको भाँडोको किस्सा जस्तै हो । अलोकप्रियताका कारण खस्कँदै गएको जनमतलाई उकासेर पार्टीलाई बिघटनउन्मुख हुनबाट जोगाउन माओवादी सुप्रिमो कमरेड प्रचण्डले प्रयोग गर्न खोजेको कार्यनीति कुनै पनि बेला फेल हुने प्रायः निश्चितजस्तै छ । प्रधानमन्त्रीको ‘हट’ कुर्सीमा टाँसिएर बस्न काङ्ग्रेस वा एमालेको बैशाखी टेक्नु पर्ने बाध्यताका कारण ‘अनकम्र्फोटेबल’ भए पनि कमरेड प्रचण्ड नेकपा एमालेसँग लहसिन पुगे । कमरेड प्रचण्डलाई ‘सम्भ्रान्त कलगर्ल’को बात लाग्यो । सुशासन, डेलिभरी र राजनीतिक स्थायित्वका लागि यो सरकार गठन भएकै होइन । विकास, सामाजिक न्याय र समृद्धि त हावादारी गफ मात्र हुन् । यो गठबन्धन मुतको न्यानो मात्र हो ।

नेकपा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)लाई गठबन्धन भत्काउने आधार र वातावरण अनि धरातल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले नै तयार गरिदिए । यसको सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता पनि देउवाले नै लिनु पर्दछ । पार्टी र संसदीय दुबै फाँटमा शेरबहादुर देउवाको नेतृत्व पूर्णरूपमा असफल भइसकेको हुँदा उनले संसदीय दलको नेता र सभापति दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ । देउवाले शेखर–गगन समूहलाई दुबै पद हस्तान्तरण गरेर प्रायश्चित गर्नु पर्दछ भन्ने पनि आवाज बुलन्द हुँदै गएको छ पार्टीमा । देउवाको ‘काउन्ट–डाउन’ शुरू भइसकेको चर्चा चलेको अनि उनको वहिर्गमन अनिवार्य जस्तै मानिँदै आएको पृष्ठभूमिमा सम्मानजनक विदाइ लिन राजीनामा नै देउवाका लागि उत्तम विकल्प हुने बुझाई ठम्याई यो पंक्तिकारको रहेको छ । अन्यथा आगामी दिन देउवाका लागि कठिन र चुनौतीपूर्ण हुने छन् ।

(पराजुली शहीद श्रीप्रसाद पराजुलीका पुत्र हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here