जेठीलाई फर्केर हेर्दा

१९ फाल्गुन २०८०, शनिबार मा प्रकाशित

‘के सङ्लो पानीले धमिलो पानीलाई कहिल्यै सङ्लो पार्न नसक्ने नै हो ? धमिलो पानीले सङ्लो पानीलाई सजिलै धमिलो पार्छ । धमिलै बलियो हुने रहेछ प्रकृतिमा पनि ?’

पुण्यप्रसाद खरेलद्वारा लिखित दोसाँधको घाम, त्रिवेणी आमा, झापाली गर्जन उपन्यासहरु पढ्ने मेसो नमिलेको भए पनि ‘जेठी उपन्यास’ भने पढ्ने अवसर मिल्यो । पूर्वी पहाड भूगोल पाँचथर, ताप्लेजुङ र तेह्रथुमभरि फन्का मारिरहन्छ यो उपन्यासको कथाले ।

नेपाली जनजीवन अझ पूर्वेली भूगोलको पहाडी बस्तीमा नारीले भोगेका व्यथा, चेतनाको स्तर, आर्थिक तथा सामाजिक वातावरण आदिलाई बोकेको छ यस उपन्यासले । पुस्तकको नामकरणले नै महिलाले आफ्नो पहिचान र अधिकार विवाहपश्चात गुमाउँछे स्वतः स्प्रष्ट हुन्छ । नौले प्रसाईंकी माइली छोरी फूलबारीका भगीरथका छोरा जेठा डिल्लीप्रसादसँग विवाह भएपछि ऊ जेठीमा परिणत हुन्छे ।

उपन्यासभित्रका भाषा, स्थान तथा पात्रहरु :स्थानीय लवजमा लेखिएको छ यो उपन्यास । जस्तैः अनजुवाफ, भतखरु, घरकौले, तिनर्का, काठमान्नु, असेटो, कम्निष्टे, बिजेत आदि । अरु हाँसेको र कालेको बाउ काँषेको मिल्दैन आदि ।

स्थानको नाम : पूर्वी पहाडका विभिन्न स्थानहरुमा पु¥याउँछ यस उपन्यासले । अझ तेह्रथुम, पाँचथर, ताप्लेजुङ जिल्लाहरुमा जन्मेहुर्केका तथा घुमेदेखेका मान्छेहरुका लागि जेठीको माइती गाउँ तथा घर अत्यन्तै परिचित लाग्दछन् । जस्तैः ह्याकु, नवमी बजार, लिम्बुनी पुल, परेवा डाँडा, फूलबारी, पोखरी, सिनाम, आङबुङ, फौदारपाटी, आठराई आदि ।

पात्रहरु : स्थानको आधार वा भाषा लवजसँग सहजै मिल्ने पात्रहरु चयन गर्नु लेखक खरेलको अर्को विशेषता हो । यहाँ प्रयोग भएका पात्रहरु हरिप्रसाद, भगीरथ, डिल्लीराम (डिल्ले), गौतम माइला, कृष्ण, मेघप्रसाद, माइला, खगनाथ, झिल्सिङ्गे आदि । मान्छेको जीवन मृत्युपर्यन्त संर्घष नै हो । प्राचीन कालदेखि अँगाल्दै आएको परम्पराले समाजका संस्कारहरुका गुण र दोष छुट्याउन दिँदैन र मान्छेलाई अन्धभक्त बनादिन्छ । पुरुषप्रधान समाजमा एउटी महिलाको आजीवनको भोगाइ हो जेठी उपन्यास । यसभित्रका संघर्षहरुलाई निम्नानुसार हेर्न सकिन्छ ।

पारिवारिक द्वन्द्व :एउटी नारीको विवाह पश्चात थरगोत्र बदलिन्छ र नयाँ थर प्राप्ति हुँदा भूमिका बदलिन्छ । उसका आमाबाबु र सासुससुराले हेर्ने चश्मा फरक हुन्छन् । पतिको घरलाई आफ्नो घर बनाउन उसले ठूलो संर्घष गर्नुपर्दछ । घरपरिवारको विश्वास जित्न भोग, प्यास, आराम, निन्द्रा आदिको वेवास्था गर्दै निर्देशनहरु अक्षरसः पालन गर्नु पर्दछ । पतिले पत्नीसँग बोलचाल गर्न समेत अनावश्यक ठान्दछ । बालबालिका जन्मदाको व्यथा होस् या आफ्नो कोख उजाडिँदाको दर्द, महिला एक्लैले झेल्नु पर्दछ । घरभित्रका सम्पूर्ण कामहरु तथा खेतबारीका कामको जिम्मा लिनु पर्दछ । पुरुषका लागि यी कामहरु स्वेच्छिक मात्र हुन्छन् । खाना र नानामा समेत विभेद गर्ने समाजमा नेपाली नारीहरु बाँचेका हुन्छन् । रात र दिन फरक नहुने गरी श्रम गर्नु पर्दछ ।

सामाजिक द्वन्द्व : पूर्वी पहाडको भूगोलमा घरपरिवार तथा घरजग्गा, वैवाहिक झमेला, जारी आदि जस्ता शीर्षकमा हुने झैं–झगडाहरु प्रतिनिधिमूलक विवादका विषयहरु हुन् । न्याय निरुपणका लागि स्थानीय कचहरी सर्वेसर्वा हुन्थ्यो । थरी मुखियाको सन्की वा मोलतोलले पल्ला भारी हुने प्रयास सफल हुन्थ्यो खतुकीको । जातजाति बिच फराकिलो खाडल थियो । तल्लो जात र माथिल्लो जातमा विभक्त समाजमा तल्लो जातसँगको छुवाछुत आलोचना मुक्त थिएन, सामाजिक वहिष्कारमा समेत पर्नु पर्दथ्यो । जातीय बेमेलले समाजको कुरुपता प्रदर्शण गर्दथ्यो ।

लैड्डिक विभेद : लैङ्गिक भेदभावको आगोमा पिल्सिएकी जेठी सिंगो नेपाली समाजकी प्रतिनिधि पात्र हुन् । प्राकृतिक लिङ्ग (क्भह)बाट हुने भेदभाव त छँदै थिए सामाजिक लिङ्ग (न्भलमभच)को आधारमा कामको बाडफाँड हुने गर्दथ्यो । महिलाले दोस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्दथ्यो र घोर दमन सहनु पर्दथ्यो । यसका साथै घरभित्र बुहार्तनको पीडा पनि छँदै थियो ।

‘माइला भाइ छोरो भएर जन्मिस् छोरी भएर जन्मेको भए थाहा पाउँथिस् ।’
‘म खाटमा कहिल्यै बसेको छुइन, भूइँमै बस्छु ।’
‘मारे पाप पाले पुन्य ।’
‘छोरीको जात अर्काको ओछ्यान ।’

‘विवाहपछि छोरीको रुपसुप एकै छाक हुन्छ ।’ आर्थिक द्वन्द्व ः वर्षौदेखि घरपरिवारका कुनै पनि विषयमा निर्णय लिने अधिकार महिलाहरुलाई छैन । उत्पादनका लागि श्रमशक्तिको रुपमा उपयोग गर्ने र अत्यन्तै सानो हिस्सा (बाँच्नेसम्मको) मात्र उपलब्ध हुन्छ नारीलाई । अन्य आर्थिक अधिकारहरु पुरुषमा निहित हुन्छ । विवाह समेत कामदारको आवश्यकता परिपूर्ति गर्ने हेतु गरिन्छ ।

राजनीतिक द्वन्द्व : २०१७ साल पछाडिको पञ्चायती राजतन्त्र प्रति जनमानसमा अविश्वास बढ्दै गएको र पञ्चायतबिरुद्धको आवाज घनिभूत बनाउन इतर पक्ष प्रयासरत थियो । परिणाम स्वरुप गाउँघरसम्म पढे लेखेका मान्छेहरु आवाज बोकेर पुग्दथे र चेतना फैलाउँथे । तर संस्कार, संस्कृतिले बाँधेको समाजमा नयाँ विषयवस्तु समावेश गराउन कठिन हुन्थ्यो । माओवादी द्वन्द्वले समाजमा ठूलो त्रास फैलाएको थियो । यद्यपि लडाकु दस्ताहरु र राजनीतिककर्मीहरु गाउँघर छिरेका र चेतना फिजाउन सफल थिए भन्ने देखिन्छ । गाउँघरका मानिसहरुले समेत उनीहरुलाई सहयोग पु¥याउँथे । राजनीतिक कार्यमा सहयोग गर्नेहरुले मृत्युवरण गर्दा पार्टीको झण्डा ओढाएर सम्मान गर्ने तथा सलामी दिने कार्य गर्दथे जसले माओवादीप्रतिको आकर्षण बढेको थियो । लेखक पुण्यप्रसाद खरेल पात्र माइला भएर कम्युनिष्ट आन्दोलन र जनचेतना फैलाउन प्रस्तुत भएको देखिन्छ ।

सांस्कृतिक द्वन्द्व : विवाह गर्ने उमेर सानै भए पनि यस उपन्यासकी पात्र माइलीको विवाह १८ वर्षमा गराएको छ । बालविवाह तथा अनमेल विवाह रोकिएको उदाहरण प्रस्तुत छ । मान्छे मर्दा १३ दिनमा गरिने काजक्रिया सात दिनमा सिध्याउने प्रचलनको अवधारण अघि सारिएको छ । मागी विवाहको सट्टा स्वेच्छिक रुपमा केटा र केटीको सम्बन्ध स्थापित भई विवाह गर्ने प्रचलन शुरु भएको छ । कथित तल्लो जातिले बजाउन मिल्ने बाजाहरु बाम्हणले बजाएर चुनौती दिएको छ । पुरुषहरुमात्र मलामी जाने प्रचलन रहेकोमा महिला समेत मलामी गएको अवस्था सिर्जना गरिएको छ । महिलाले दोस्रो विवाह गरेको उदाहरण पस्किएको छ ।

अन्त्यमा, जातीय भेदभाव रहेको समाज भए पनि जातीय दंगा भएको नदेखिनु उपन्यासको सवल पक्ष हो । सामाजिक, आर्थिक तथा सांस्कृतिक क्रान्ति बोकेर आएको छ यो उपन्यास । मान्छे बाँचुञ्जेल अपहेलित भएर बाँचे पनि प्रकारान्तरले उसले आफ्नो पहिचान पाउँछ । जेठीले आफ्नो कीर्तिशेषपछि कमरेड दुर्गाको पहिचान पाएकी छन् । समग्रमा यो सामाजिक उपन्यासले एकताका नेपालका महिलाहरुको स्थितिको अध्ययन हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here