लकडाउनको असर : खेतमै कुहियो मकै

0
1425

झापा ।

लामो समयदेखिको लकडाउन र निरन्तरको वर्षाको कारण झापाका किसानले उत्पादन गरेको मकै खेतवारीमै कुहिएको छ । असारको दोस्रो सातादेखि झापासहित पूर्वी तराईमा पानी परेर मकै भाँच्न नपाउँदा किसानले लगाएको मकै खेतवारीमै कुहिएको हो । मकै भित्र्याएका कृषकलले समेत लकडाउनका कारण मकै विक्री गर्न नपाउँदा समस्यामा परेका हुन् ।

झापा गाउँपालिका–६का कृषक हुमाई शेखले यो वर्ष तीन बिगाह क्षेत्रफलमा मकै लगाएका थिए । तर, मकै भित्र्याउने समयमा निरन्तरको वर्षा र भित्र्याएको मकै पनि बेच्न नपाएपछि उनले उत्पादन गरेको मकै अहिले खेतवारीमा नै कुहिएको हो ।

उत्पादन गरेको मकै अहिले प्रतिक्वीन्टल १५ सय रुपैयाँमा पनि बिक्री नभएको उनले बताए । गतवर्ष राम्रै भएको थियो– उनले भने– यो वर्ष मल वीऊ नपाइरहेको अवस्थामा पनि ऋण खोजेर मकै खेती गरेको थिएँ, एक विगाह क्षेत्रफलको मकै त माटोमै मिल्यो । अगाडि भाँचेको मकै पनि राम्रो भाऊ नहुँदा बेच्न पाएको छैन ।

हामीले मकै बिक्री गर्ने बेलामा व्यापारीले वार्गेनिङ गर्छन्– शेख भन्छन्– आफूले मकैको बीऊ खरिद गर्नु पर्दा आफूले भनेको दाम छाड्दैनन् । अहिले एक क्वीन्टल मकै विक्री गर्दा पनि एक केजी मकैको बीऊ खरिद गर्दाको पैसा आउँदैन । मल, बीऊ नेपालमा सहज रुपमा नपाइने भएपछि आफूहरुले भारतीय बजारबाट महंगो मूल्यमा मकैको बीऊ र मल खरिद गर्ने गरेको शेखले बताए । उनले भने – अहिले बिक्री गर्ने बेलामा भाऊ छैन, बेच्न खोज्यो मकै बिक्दैन, झण्डै आधा मकै त कुहिएरै गयो ।

खेतीका लागि उर्वरभूमि मानिएको झापामा धानपछि धेरै क्षेत्रफलमा यहाँका कृषकले मकै खेती गर्दै आएका छन् । झापाका कृषकलले यो समयमा प्रशस्त मकै उत्पादन गरे पनि मुलुकमा देखिएको कोरोना भाइरस(कोभिड–१९)को बढ्दो संक्रमणका कारण लामो समयदेखि मुलुक बन्दाबन्दी हुँदा मकै बेच्न नपाएको बताउँछन्– अर्का कृषक आसमद महमद् । उनी भन्छन्– सरकारले किसानलाई कुनै सहुलियत दिएको छैन । हुने खाने किसानले मात्रै सुविधा लिन्छन्, हामी जस्ता गरीव किसानलाई हेर्ने कोही हुँदैन ।

 

बजार भाऊ नहुँदा म मात्र होइन, यहाँका धेरै किसानले मकै बेच्न पाएका छैनन् । धेरै मकै उत्पादन हुन्छ राख्ने ठाउँ हुँदैन । हाइब्रिड मकै धेरैसमय राख्दा पनि बिग्रिने गरेको उनको भनाइ छ । सरकारले मकै खरिद गर्ने व्यवस्था गर्ने हो भने धेरै राहत हुने थियो– उनले भने– भारतमा कृषकलाई कुनै समस्या हुँदैन तर नेपालमा हल्ला धेर काम भने सरकारले वास्तविक कृषकका लागि केही गरेको छैन ।

झापा गाउँपालिका–३का कृषक सफिक अन्सारी भन्छन्– व्यापारीले मकैको भाऊ छैन भन्दै मकै नलिँदा आफूहरुको मकै विक्री भएको छैन । मकै बिक्री गरेर धान रोप्ने खर्च जुटाउनुपर्ने हुन्छ तर मकै नै बिक्री नहुँदा हामीलाई समस्या परेको छ । मल खरिद एक त सहज छैन अर्काेतर्फ हामीसँग पैसा हुँदैन ? कसरी यो वर्ष धान रोप्ने उनी भन्छन्– लगातार पानी परेर भाँचेको मकै पनि भिजाएर बिग्रियो । वारीमा भाँच्न बाँकी मकै भाँच्न नपसे हुन्छ ।

झापाको कूल खेतीयोग्य जमिन ९८ हजार हेक्टर क्षेत्रफलमध्ये ३१ हजार हेक्टर क्षेत्रफलमा बसन्ते, ८ हजार हेक्टरमा हिँउदे र ९ सय हेक्टर क्षेत्रफलमा बर्खे मकैखेती हँँुदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकमा उल्लेख छ । झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ । कृषकले उत्पादन गरेको मकै बिक्री गर्ने मुख्य समयमा बजार भाऊ नहुँदा कृषक एकातर्फ पीडामा छन् भने अर्काेतर्फ वर्षाका कारण उत्पादन गरेको मकै भित्र्याउन नपाउँदा समस्यामा परेका छन्् ।

झापा गाउँपालिका–७का कृषक प्रदीप मण्डलका अनुसार व्यापारीले आफूखुशी भाऊ निर्धारण गर्दा किसानले मकैको उचित मूल्य पाउँदैनन् । उनी भन्छन्– सरकारले मकैको भाऊ निर्धारण गर्ने खरिद गर्ने गरे मात्रै वास्तविक किसानले मकैको भाऊ पाउनेछन् । आफूले पनि डेढ विगाह क्षेत्रफलमा मकै खेती गरेको बताएका उनले भने– यो वर्ष मकै बिक्री नहुँदा उत्पादन गरेको मकै कुहिएर र घुनले खाएर वर्वाद पार्छ ।

कृषि उत्पादनलाई बढाउँदै युवालाई कृषि पेशामा आत्मनिर्भर बनाउन झापा गाउँपालिका र कनकाई नगरपालिकाको केही वडालाई मकै जोन क्षेत्र घोषणा गरिएको छ । मकै जोन सञ्चालनका लागि चालू आर्थिक वर्ष संघीय सरकारबाट एक करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट बिनियोजन भएको थियो । विनियोजित रकमले कृषकलाई मकै उत्पादनमा जोड दिँदै उन्नत जातको मकैखेती गर्न प्रोत्साहित गरेसँगै जिल्लाका अधिकांश किसानले मकै खेती गर्दै आएका थिए । तर, कृषकलले उत्पादन गरेको मकैले बजार भाउ नपाउँदा उत्पादित मकै खेतवारीमै कुहिएर गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here