मिलन अधिकारी / गौरादह।

गौरादहमा क्वारेन्टिनमा बस्न विदेशबाट आएकाहरुलाई पहुँचको आधारमा दोहोरो मापदण्ड लगाइएको पाइएको छ ।
विदेशबाट पीसीआर रिपोर्ट बोकेर आएका मध्ये सोर्स लगाउन सक्ने र पहुँचवालाहरुलाई ‘होम क्वारेन्टिन’मा र सोर्स नपुग्ने र सर्वसाधारणहरुलाई अनिवार्य ‘सार्वजनिक क्वारेन्टिन’मा राखिएको पाइएको हो ।
गौरादहको बिभिन्न स्थानमा रहेकाहरु मध्ये खाडी, मलेसियाबाट जाने अधिकांशले पीसीआर रिपोर्ट बोकेका छन् । तर, उनीहरुलाई अनिवार्य भन्दै सार्वजनिक क्वारेन्टिनमा राखिएको छ । युरोप, अस्ट्रेलियाबाट आएका र पहँुच हुनेहरुलाई त्यही पीसीआर रिपोर्टको आधारमा सिधै घर पठाउने गरिएको उनीहरुले बताएका छन् ।
अस्ट्रेलियाबाट आएका एकजनालाई माथिल्लो तहका नेताको सोर्स लगाएर नगर प्रमुखकै आदेशमा घर पठाइएको उनीहरुको आरोप छ । हामी पनि पीसीआर रिपोर्ट बोकेरै आएका छौं । तर, हामीहरुलाई सार्वजनिक क्वारेन्टिनमा बस्नै पर्ने नियम भएको बताइएको मलेसियाबाट फर्किएर बैगुन्धुराको अमर मावि क्वारेन्टिनमा रहेका सबिन कार्कीले बताए ।
पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण लिएर सार्वजनिक क्वारेन्टिनमा बसेका अधिकांशले पहँुचको आधारमा नगरले अपनाएको दोहोरो नियम तत्काल बन्द गर्नुपर्ने बताए । कि रिपोर्ट भएका सबैलाई घर पठाऊ, कि त सबैलाई सार्वजनिक क्वारेन्टिनमा बसाउनुपर्ने उनीहरुले बताएका छन् । बिदेशबाट आएकाहरुलाई वडाध्यक्षको समन्वयका आधारमा क्वारेन्टिनमा पठाइने गरिएको छ ।
यसैबीच गौरादह नगरपालिका– १ कि स्थानीय ६८ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । केही दिनअघि उपचारका लागि काठमाडौं गएकी महिलामा संक्रमण पुष्टि भएको थियो । घाँटीमा समस्या आएपछि मात्र उनी गौरादह बाहिर गएकी हुन्, उनको अन्य ‘ट्राभल हिस्ट्री’ छैन ।

त्यसैले उनलाई गौरादहमै कोरोना लागेको हो भन्न सकिने आधार रहेको गौरादहमा सञ्चालित ‘कोभिड साथी’ अभियानका अभियान्ता डा. तीलक खनालले बताए । समुदायमा ‘मास टेस्टिङ्ग’ गर्ने हो भने धेरै संक्रमितहरु हुनसक्ने उनले बताए । समुदायमा जनचेतनाकमी र लापरवाहीका कारण सुरक्षाका उपायहरु नअपनाउनाले अझ जोखिम बढाएको उनको ठहर छ ।
यसैबीच गौरादहमा कोरोनाको जोखिम बढेको भन्दै चार किल्ला तोकेर नगरका सम्पूर्ण व्यापार, व्यवसाय सँगै आवागमन बन्द गरिएको गौरादह नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । समुदायमा कोरोना फैलने सक्ने आशंकाले गौरादहको चैतुचोकदेखि दक्षिणमा कार्की चोक, पश्चिममा गौरीया खोलादेखि पूर्वमा गोल्छा चोकसम्मलाई तत्कालका लागि आवतजावतमा निषेध गरिएको बताइएको छ ।






























