झापालीलाई निराश नपार्न प्रमलाई सुझाव

0
692

बिर्तामोड।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पद छाड्न दबाब बढिरहेका बेला उनको गृहजिल्ला झापाका सर्वसाधारणलेसमेत विभिन्न सुझाव दिएका छन् ।

उनीहरुले झापा क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद, प्रधानमन्त्री ओलीलाई आन्तरिक राजनीतिक खिचातानीमा नलागी कोरोनाको बढ्दो संक्रमण नियन्त्रण र समृद्ध मुलुक निर्माणमा जुट्न सुझाएका हुन् । प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतको समूहले दुवै पद छाड्न दबाब दिइरहेका बेला ओलीको गृहजिल्लाका सर्वसाधारणले समेत जनता महामारी र भोकले ग्रसित हुँदैगर्दाको किचलो उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् ।

झापाका सर्वसाधारणले राजनीतिक लडाइँभन्दा संघीय सरकार अहिलेको अवस्थामा कोरोनाबिरुद्धको लडाइँमा जुट्नुपर्ने भन्दै गुटको रस्साकस्सीले विकास, स्वास्थ्य, शिक्षालगायतका क्षेत्र ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

केहीले भने प्रधानमन्त्री ओलीलाई एकलौटी रुपमा लखेटिएको भन्दै पाँच वर्ष काम गर्न दिनुपर्ने मत राखेका छन् । झापा बिर्तामोडका व्यवसायी चेतनाथ तिम्सिना बिनोदले जनताको मताधिकार पाएर प्रधानमन्त्री बनेका ओलीले पाँच वर्ष नै प्रधानमन्त्री पद चलाउनुपर्ने धारणा राखेका छन् । उनले ओली नेतृत्वको सरकारले राष्ट्रियताको नाममा केही राम्रा काम गरेको चर्चा गर्दै काम गर्नेक्रममा केही तलमाथि भए त्यसलाई सुधारेर लान सकिने धारणा राखे ।

झापा विद्रोहबाट उदाएका नेता ओलीले आफ्नो भूमिकालाई पछिल्लो समय भुल्दै गएको भन्दै केहीले भने उनको आलोचनासमेत गर्ने गरेका छन् । केहीले भने पार्टीलाई एकताबद्ध बनाउन र आफ्नो मत खेर नजाओस् भन्नका लागि लचिलो बन्दै ओलीलाई अध्यक्ष पद छाडेर पार्टी बचाउन सुझाव दिएका छन् । झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालले यो वा त्यो नभई केपी शर्मा ओलीले पार्टीको अध्यक्षबाट राजीनामा दिएर प्रधानमन्त्री पद सम्हाल्नुपर्ने धारणा राखे । उनले झापालीले दिएको मतको कदर गर्दै अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

पछिल्लो समयमा झापाकै अधिकांश सर्वसाधारण भने ओलीको कार्यशैलीप्रति त्यति खुशी छैनन् । ओलीले पदको दुरुपयोग गरेको भन्दै बिर्तामोडका गायत्री शिवाकोटीले यो सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । ओलीले देशको विकास गर्नुको सट्टा आफू र आफ्नो गुटलाई मात्र हेरेको शिवाकोटीको भनाइ छ ।

उनीहरुले ओलीबाट केही हुने आशा गरे पनि सबै निराशामा परिणत भएको भन्दै भाषण र नाराबाजीमा सीमित हुँदा समस्या भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको भनाइ छ । मुलुकको अर्थतन्त्र डामाडोल भएको भन्दै उनले व्यापार व्यवसायलाई प्रवद्र्धन गर्नुपर्नेमा सरकार गम्भीर नभएको आरोप लगाए । उनीहरुले झापालीको सपनामा तुषारापात भएको र बोलेको कुरा समेत पूरा नगरेको आरोप लगाएका छन् ।

२०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको र झापा विद्रोहलाई चलायमान बनाएको बताइन्छ । मुलुक संघीयतामा गएपछिको पहिलो प्रधानमन्त्रीको रुपमा शपथ लिएका ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को एजेण्डालाई पूरा गर्न नसकेको झापाबासीको बुझाइ छ ।

एकका लागि एक अभियानका सामाजिक अभियन्ता बिनोद बस्नेतले जनताको मन जितेर प्रधानमन्त्री वनेका ओली र नेकपाको यो सरकारले पाँच वर्ष नै सत्ता सञ्चालन गर्नुपर्ने बताउँछन् । यता मेदनी प्रसाईले भने ओलीले अति राष्ट्रवादको नारा वोकेर हिँडे पनि व्यवहारमा त्यस्तो नदेखिएको धारणा राखे । उनले छिमेकी मुलुक चीन र भारतलाई चिढ्याएर देशको नाममा खोक्रो राष्ट्रवाद काम नलाग्ने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनाएर चुनावमा होमिएको नेकपा अन्ततः दुई वर्षपछि फुटको संघारमा पुगेको छ । तर, झापाका सर्वसाधारणले भने नेकपामा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्रीले तदारुकता देखाउनुपर्ने भन्दै समृद्ध मुलुक, सुखी नेपाली नारामा मात्र नभइ कार्यान्वयनमा ल्याउन पनि सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here