सिट संख्याको आधा यात्रु बोकेर गाडी चलाउन नसकिने ः यातायात व्यवसायी

0
900

तुलसीप्रसाद निरौला
विर्तामोड , सरकारले सार्वजनिक यात्रु बसको सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर सार्वजनिक यातायात चलाउन दिने निर्णय अनुसार सार्वजनिक यातायात चलाउन नसकिने झापाका यातायात व्यवसायीले बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति झापाको आयोजनामा विर्तामोडमा भएको यातायात व्यवसायी र सरोकारवाला निकायसँगको छलफलमा उनीहरुले यस्तो वताएका हुन् ।

एक पंक्तिको एक सिटमा एक जना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने , सवारी, चालक र सह चालकले मास्क र सेनिटाइजर , भाइजर र पञ्जा लगाउनुपर्र्ने , गाडीमै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने, यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने , दैनिक निसंक्रमित गरेर मात्रै सवारी साधन चलाउनु पर्ने मापदण्डमा उल्लेख भएका विषय अनुसार अहिलेको अवस्थामा सार्वजनिक यातायात चलाउन नसकिने यातायात ब्यवसायी वताउँछन् ।

सिट संख्याको आधा यात्रु बोकेर गाडी चलाउँदा गाडीको व्यवस्थापन खर्च धान्न नसकिने भएकाले त्यसको विकल्पको खोजी गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए ।
उनले अहिले कामविहीन अवस्थामा थन्किएका सवारी भविश्यमा संचालनमा आउँदा ती सवारीको ब्याट्रि, टायर, मोविल, इन्धन लगायत बिग्रने भएकाले ती सवारीलाई संचालन गर्दा कम्तिमा एकलाखदेखि तीन लाख रुपैयाँ खर्चेर मर्मत सम्भार गर्नुपर्ने बताए ।

ती सवारी मर्मत सम्भार गर्नुपर्दा यातायात व्यवसायी झनै बढी आर्थिक मारमा पर्ने बताउँदै उनले सवारी मर्मत सम्भारका लागि यातायात व्यवसायीलाई सहुलियत दरमा पुर्नकर्जा प्रदान गर्नुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति झापाका संयोजक टंकप्रसाद दवाडीको अध्यक्षता तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति झापाका सह संयोजक भुपाल ओलीले स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी यातायात व्यवसायीले यात्रु र मजदुरको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने, लकडाउन पछिको सार्वजनिक सवारी साधनको बैक किस्ता स्थगन गरी लकडाउन खुलेको छ महिना पछि मात्र शुरु गर्नुपर्ने , व्याज मिनाह गर्नुपर्ने , बैंक ऋणको ब्याजमा पुर्नतालिकिकरण गर्ने र सवारी मर्मतका लागि सहुलियत दरमा पुर्नकर्जा प्रदान गर्नुपर्ने , सवारीसंग सम्वन्धित सवारी कर, रुट ईजाजत नविकरण, जाँच पास, र चालक अनुमति पत्रको नविकरण जरिवाना मिनाहको व्यवस्था लगायतको माग गरेका थिए ।

कार्यक्रममा अहिलेको परिस्थितिमा कसरी गाडी चलाउने र लकडाउन अवधिमा व्यवसायमा व्यहोर्नु परेको क्षतिलगायतबारे छलफल भएको थियो ।

कार्यक्रममा अग्रज यातायात व्यवसायीहरु खड्गप्रसाद दाहाल , सन्तोष शर्मा , यातायात व्यवसायी इन्द्रहाङ लिम्वु , यातायात मजदुर वुद्ध तिवारी लगायतले आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य राजेन्द्र रिजाल , प्रदेश संयोजक सरोज श्रेष्ठ ,वर्गिय संयोजक नरहरी चापागाईं , अग्रज यातायात व्यवसायी कुलप्रसाद ओडारीलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति झापाका सचिव केशव गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here