काठमाडौं,
नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।
नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओहरुले स्वत:फूर्त यस्तो निर्णय लिएको जानकारी दिए। ‘केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय त गरेको छैन तर कम्पनीहरुले स्वत:फुर्त यो कदम चालेका हुन सक्छन्’, उनले थाहाखबरसँग भने, ‘मलाई पनि भारतीय समाचार च्यानल बन्द गरिएको जानकारी आएको छ।
तर केवल टेलिभिजन महासंघबाटै निर्णय गरेर यो कदम चालिएको होइन।’ लेकालीका अनुसार कम्पनीहरुले प्राविधिक कारण देखाउँदै यस्तो कदम चालेका हुन्। भारतीय टेलिभिजन च्यानलहरूले नेपालबारे अनर्गल प्रचार गरिएपछि यो कदम चालिएको हुन सक्ने उनले बताएका छन्।
नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर गत वैशाख ७ मा नयाँ नक्सा जारी गरेयता भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित विषय वस्तु प्रसारण गर्दै आएका थिए। यस्तोमा भारतीय न्युज च्यानल बन्द गर्न कम्पनीहरुमाथि दबाब परेको थियो।
सर्वसाधरणको चर्को दबाबपछि कम्पनीहरुले यो कदम उठाएका हुन्। नेपाल सरकारले एक वर्ष अघिदेखि नै क्लिन फिड लागु गर्न खोजिरहेको छ। क्लिन फिड लागु नगर्न पनि भारतले दबाब दिँदै आएको छ। नेपालमा यसअघि नाकाबन्दीका समयमा पनि भारतीय च्यानल बन्द गरिएको थियो। भारतले नाकाबन्दी लगाएको एक सातापछि नेपालमा भारतीय च्यानल प्रसारण रोकिएको थियो।-थाहाखबर