अलोकतान्त्रिक क्रियाकलाप

0
503

संघीयताको विरोधमा प्रचारात्मक अभियान सञ्चालन गर्न देशको पूर्वी भाग आएको राष्ट्रिय जनमोर्चाको टोलीलाई लिम्बुवानवादी संघ–संगठनले विभिन्न स्थानमा अवरोध खडा गर्दै लखेटने प्रयास गरिरहेका समाचार प्रकाशनमा आएको छ । यही भदौ १०देखि असोज ५गतेसम्म जनमोर्चाले घोषणा गरेरै देशव्यापी राष्ट्रिय प्रचारात्मक अभियान चलाएको हो । मेचीका झापा, इलाम र पाँचथर जिल्लामा सो टोलीले गरेको कार्यक्रमहरुमा लिम्बुवानका कार्यकर्ताले श्रृंखलाबद्ध आक्रमण गरेको कुरा राजमोका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीले बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनुभएको छ ।
राजमोको राष्ट्रिय प्रचारात्मक अभियानको सन्दर्भमा इलामको फिक्कल र इलाम बजार, पाँचथरको फिदिमबजार र याशोकमा आयोजित कार्यक्रमहरुमा आक्रमण गरिसकेको र झापाको बिर्तामोडमा पनि हालै आक्रमण भएको तथ्य पत्रकार भेटघाट कार्यक्रममा मोर्चाले सार्वजनिक गरेको छ । मोर्चाको सभाहरुमा लिम्बुवानी कार्यकर्ताले झण्डा, व्यानर, च्यातिदिने, कार्यकर्ता तथा नेताहरुमा हातपात गर्ने र सभामा अवरोध सिर्जना गर्ने काम भएको बताइएको छ ।
देशमा आएको नयाँ गणतान्त्रिक व्यवस्थाको संस्थागत विकास, राष्ट्रियताको रक्षा र संघीयताको विरोधमा मोर्चाले देशव्यापी रुपमा प्रचारात्मक अभियान चलाइरहेको छ । लोकतन्त्रमा सबैले आ–आफ्नो विचार राख्न पाउने, सभा समारोह गर्न पाउने अधिकार हुन्छ । त्यसबाट कुनै व्यक्ति, समूह वा दललाई बञ्चित गर्न सकिँदैन । ‘जसको शक्ति उसको भक्ति’ भन्ने कथन अलोकतान्त्रिक हो । देशमा नयाँ संविधान चाहिएको छ । संविधानविहीनताको अवस्थामा रहेको अहिलेको अवस्थामा सरकारले संविधानसभाको निम्ति दोस्रो आम निर्वाचनको पनि तिथि तोकेर त्यस सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।
र, संविधानसभाको निर्वाचन आज देशको मुल राजनीतिक आवश्यकता हो । भयरहीत वातावरणमा संविधानसभाको चुनाव सम्पन्न गर्ने स्थिति सिर्जना गर्नु सरकारको दायित्व हो नै । अन्य राजनीतिक दल र आम जनसमुदायको पनि उत्तिकै जिम्मेवारी छ । जनमोर्चाले थालेको अभियान उसको पार्टीको स्थापनाकालदेखि कै हो । भर्खरै बनाएको नयाँ होइन । मुलुकको दीर्घकालीन विकास र प्रगतिको लागि देशमा जातीय सद्भावको आवश्यकता छ । आपसी द्वेष फैल्याउने अलोकतान्त्रिक–क्रियाकलाप कसैबाट गरिनु हुन्न ।