बदलिदो तीज

0
1052

सत्ययुगमा हिमालय पुत्री पार्वतीको बुबा आमाले भगवान विष्णुसँग विवाह गरिदिने निर्णय गरेको थाह पाएपछि पानी समेत नपिई शिबजीको नाममा ब्रत बसेकी थिइन् र परिणामस्वरुप उनले चाहेको पति पाइन् भन्ने तीज ब्रत कथामा उल्लेख छ । तर अहिले कतिपयले यस कथाको मूलमर्मलाई नै ओझेलमा पारेर महिलाको महिनाबारी हुँदा भूलवस हुन पुगेको छुवाछुतको पापबाट मुक्ति पाउन तीजको ब्रत लिन प्रेरीत गरेको पाइन्छ भने कतिपयले पतिको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको लागि यस्तो ब्रत बस्नुपर्ने बताउने गर्छन् ।
यहाँ उल्लेख गरिएको पहिलो प्रकारको व्याख्याले महिलालाई होच्याउने मात्र नभएर मानव समाज र सृष्टिको समेत अपमान गरेको देखिन्छ भने दोस्रोले आफ्नो उन्नति–प्रगतिभन्दा पनि अरुका लागि बाँच्नु पर्ने विषयलाई महत्व दिएर महिलावर्गले आफूलाई दोस्रो स्थानमा राख्न र यसलाई आन्तरिकीकरण गर्न सिकाएको छ । अधिकांश नेपाली महिला जानेर वा अनजानमा अहिलेपनि तीजमा ब्रत बस्ने गर्छन् । असान्दर्भिक भइसकेको यसको धार्मिक प्रकारको व्याख्याबाहेक समसामयिक हुनेगरी बस्तुपरक र सकारात्मक व्याख्यातर्फ हामीले अझै बहस लैजान सकेका छैनौं ।
नेपाली समाजमा अधिकांश छोरीले उनीहरुको विवाह कहिले, कहाँ र कोसँग हुँदैछ भन्ने कुरासम्म पनि थाह पाउँदैनन् । छोरीको रोजाइ, इच्छा र चाहना भन्दा पनि खान्दान, सामाजिक हैसियत र हरेक कोणबाट परिक्व व्यक्ति नै उसको बरको रुपमा खोजिन्छ । छोरी दिन लागेको व्यक्तिले छोरीको पूर्ण नियन्त्रण र पालन पोषण गरी सुरक्षा र संरक्षण दिन सकोस् भन्ने अपेक्षा राख्छन् । यस्तो अवस्थामा तीज विवाहका लागि उपयुक्त साथी खोज्ने र रोज्ने व्यक्तिको निर्विकल्प र नैसर्गिक अधिकारसँग गाँसिएर आएको छ ।
जुन अधिकारका लागि सत्ययुगमा देवी पार्वतीले पनि उपवास बसेर संघर्ष गर्नु परेको थियो । तीजको मुख्य सन्देश यही हो, जुन आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक देखिन्छ । पार्वतीको ब्रत विश्लेषण गर्ने हो भने उनले इच्छाइएको बर प्राप्तिका लागि कुनै अदृष्य शक्तिको तपस्यामा बसेको भन्नुभन्दा पनि आफ्ना अभिभावकले आफ्नो इच्छा विपरीत गरेको निर्णय बदर गराउन र आफ्नो इच्छाको कदर गराउन भोक हड्ताल गरेको बुझिन्छ । जसलेगर्दा उनका अभिभावकलाई छोरीको चाहना पूरा गर्न बाध्य बनाएको थियो । यस अर्थमा यस कथाले महिला इच्छा शक्तिको पहिचान र कदर गरेको देखिन्छ । पार्वतीलाई जस्तै सबै महिलालाई अहिले पनि प्राप्तिको आवश्यकता नहुन सक्छ भन्ने अरु कुरा महिलाका प्राथमिकतामा पर्न सक्छन् ।
महिला दैनिक भोग्दै आएका पीडालाई गीतको माध्यमबाट अभिव्यक्त गरेर खुल्ला आकाशमुनि रहेको अनुभव गरी रमाउनु तीजको अर्को सुन्दरता हो । महिलाले नाचगान गर्नुलाई अनुशासनहीन मान्ने नेपाली समाजले यस दिन त्यसो गर्न परम्परादेखि नै छुट दिएको छ । यसलाई पनि महिलाले युगौदेखि चलिआएको कुरीति र विसंगतिलाई नाचगानको माध्यमबाट भण्डाफोर गर्ने महत्वपूर्ण अवसरको रुपमा प्रयोग गर्दै आएका छन् । यसै प्रचलन मार्फत पञ्चायतकालमा विभिन्न प्रतिबन्धित राजनीतिक दलसँग आवद्ध महिलाले जिल्ला जिल्लामा महिला भेला गरी गीत र नृत्य प्रतियोगितामार्फत तत्कालीन संविधान र राजनीतिक पद्धतिको आलोचना र विरोध गर्ने गरेका थिए भने अहिले पनि महिलाहरुले तीजको नाममा विभिन्न कार्यक्रम गरी महिला अधिकार प्राप्तिका लागि महिला भेला र परिचालन गर्ने चलन छ ।
त्यसकारण तीजलाई कुनै धर्म विशेषसँग जोडेर हेर्नु र व्याख्या गर्नुभन्दा पनि महिलामुक्तिको पर्वको रुपमा मनाउनु पर्ने देखिन्छ । स्वस्थपरक गरिने व्याख्या अनुसार तीजको अघिल्लो विहानदेखि अवेर रातसम्म महिलाले सबै आफन्तको घर–घरमा धुमीधुमी धेरै पटक मीठो–मीठो खाने कुरा खान्छन् । अघिल्लो दिनको धेरै खुवाइले स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखी तीजको दिन ब्रत बस्ने चलन चलाइएको हुनुपर्छ । प्राकृतिक चिकित्सामा ब्रतलाई योगसमान मानिन्छ । ब्रत बस्नुको अर्थ निराहार बस्नु होइन, बरु हल्का र सधैंभन्दा नयाँ परिकार खाएर तन र मन पवित्र राख्नु हो । तसर्थ महिलाले परिवार र समाजमा आफ्नो प्रभाव बनाउन र कायम राख्न आत्मनिर्भर हुन र सधैं स्वतन्त्र रहन आफूलाई प्राथमिकतामा राख्न जरुरी देखिन्छ ।