ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगू भन्छन् – एक वर्षको राजश्व चार करोड भन्दा बढी (भिडियो सहित )

0
1351

झापा,

ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार २ सय ५२ वटा मोटरसाइकल कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगूका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकललाई कारवाही गर्दा आर्थिक वर्ष २०७६÷०७७मा एक करोड १४ लाख १२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीको संख्या समेत मोटरसाइकलकै धेरै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी निरीक्षक जवेगूका अनुसार ५४ हजार ८ सय ५० सवारीले ट्राफिक नियम उल्लङ्घन गर्दा चार करोड ५ लाख ५४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको हो । गत वर्ष यो अवधिमा ट्राफिक प्रहरी कार्यालय झापाले ४ करोड ३ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न गरिएको बन्दाबन्दीको समयमा समेत ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाउनेहरु कारवाही परेका हुन् ।

बन्दाबन्दीको समय अवधिमा मात्रै ट्राफिक प्रहरीले ९२ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइन्छ । दुर्घटनामा कमी आर्थिक वर्ष २०७५÷०७६को तुलनामा आर्थिक वर्ष २०७६÷०७७मा झापामा सवारी दुर्घटनामा कमी आएको छ । सवारी दुर्घटनामा कमी भएसँगै मृतकको संख्या समेत कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७५÷०७६मा झापामा २३९ वटा सवारी दुर्घटना भएका थिए तर, आर्थिक वर्ष २०७६÷०७७ मा २३१ वटा मात्रै सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या पनि कम भएको ट्राफिक प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷०७६मा झापामा भएका सवारी दुर्घटनामा परी ८६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७६÷०७७मा ६२ जनाको मात्र मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाको संख्या १०, पुरुषको ४८ र बालबालिका ४ जना रहेका छन् । त्यस्तै १९४ जना दुर्घटनामा परी गम्भीर घाइते भएका छन् भने १७५ जना सामान्य घाइते भएको बताइन्छ । दुई पाङ्ग्रेले बढायो दुर्घटना झापामा गत आर्थिक वर्ष २०७६÷०७७ मा भएका दुर्घटनामा दुई पाङ्ग्रे सवारी साधनको संलग्नता बढी भएको पाइएको छ । सबैभन्दा धेरै १७२ दुर्घटनामा मोटरसाइकल र स्कुटर रहेको ट्राफिक प्रहरी निरीक्षक जवेगूले बताए । उनका अनुसार जिप र कार दुर्घटनाको दोस्रो स्थानमा पर्ने गरेका छन् ।

अधिकांश दुर्घटना तीव्र गति, मादक पदार्थ सेवन, चालकको लापरवाही रहेको पाइएको छ । सडकको दुरावस्थाका कारण समेत दुर्घटनाको संख्या बढेको उनको भनाइ छ । दुर्घटनामा २५÷४० वर्ष उमेर समूहका चालक तथा पीडितहरु पर्ने गरेको प्रहरी निरीक्षक जवेगूले बताए । ट्राफिक प्रहरीले एक वर्षको अवधिमा मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने तीन हजार ४ सय २९ वटा सवारी चालकलाई कारवाही गरेको छ ।

यहाँबाट श्रव्यदृष्य सामग्री हेर्न सक्नुहुन्छ ।

जसमा दुई हजार १ सय १३ वटा मोटरसाइकलका चालक रहेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने र सवारी घुर्घटनामा पर्ने मोटरसाइकल रहेकाले दुई पाङ्ग्रे सवारीमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको बताइन्छ । उनले चालू आर्थिक वर्ष २०७७ ÷०७८ मा दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्ने योजनाका साथ कार्यविधिहरु निर्माण गर्ने काम भइरहेको जानकारी दिए ।

सवारी सञ्चालन गर्दा चालकले मोवाइल फोन सञ्चालन गर्ने गरेको पाइएकाले सवारी सञ्चालन गर्दा फोनको प्रयोग गर्नु र मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्नु उस्तै भएको भन्दै अव मोवाइल फोन प्रयोग गरेर सवारी सञ्चालन गरे कारवाहीको दायरामा ल्याउने प्रहरी निरीक्षक जवेगूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here