टीएन भट्टराईलाई पत्नी शोक

0
2617

बिर्तामोड ।

इलामका अग्रज सामाजिक अभियन्ता टीएन भट्टराईलाई पत्नी शोक परेको छ । भट्टराईकी धर्मपत्नी विष्णुकुमारी भट्टराई गीताको ७९ वर्षको उमेरमा साउन २ गते शुक्रबार निधन भएको हो ।

भारतको कालिम्पोङमा वि.सं. १९९८ चैत १० गते माता रुद्रमाया र पिता शिवभक्त शर्मा पराजुलीका पहिलो सन्तानका रुपमा जन्मिएकी उनको इलाम जमुना निवासी प्रख्यात ज्योतिष गजाधर भट्टराईका अन्तरे छोरा टीएन भट्टराईसँग २०१६ साल विवाह भएको थियो ।

इलामका प्रतिष्ठित परिवारका सदस्य बनिएकी विष्णुकुमारीले स्थानीय भगवती माध्यमिक विद्यालयमा अध्यापन समेत गराएकी थिइन् । उनका तीन छोरीहरु लता–शिशिर ज्ञवाली, पुष्पा–देवेन्द्र खतिवडा र कोपिला–माधवकुमार नेपाल तथा एक छोरा भोगेन्द्र–बुहारी आभा तथा पाँच नाति–नातिना, एक पनाति छन् ।

सामान्य बिरामी भई बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत् रहेकी विष्णुकुमारीको शुक्रबार बिहानको राति १२ः४५ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला लगायतले पार्टीको झण्डा ओढाइ श्रद्धा प्रकट गरेका थिए ।
बिर्तामोड–२ चारपानेमा रहेको भतिजा बद्री भट्टराईको निवासमा आयोजित श्रद्धाञ्जलि सभामा स्थानीय लगायत नेकाका नेता, कार्यकर्ताहरुले स्वर्गीय विष्णुकुमारीप्रति भावपूर्ण श्रद्धा प्रकट गर्दै मौनधारण गरेका थिए ।

सुरुङ्गास्थित कन्काई आर्यघाटमा उनको अन्तिम संस्कार गर्नुअघि नेपाली कांग्रेस इलामका तर्फबाट सभापति हिमालय कर्माचार्य, पूर्व मन्त्री केशव थापा लगायतका नेता कार्यकर्ताले समेत पार्टीको झण्डा ओढाई सम्मान गरेका थिए । इलामको शैक्षिक, आध्यात्मिक एवम् भौतिक विकासका अग्रज व्यक्तित्व टीएन भट्टराईले स्थानीय आदर्श मावि, महेन्द्र–रत्न बहुमुखी क्याम्पसलाई स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

यस बाहेक रेडक्रस, नेत्रज्योति संघ, ज्येष्ठ्य नागरिक संघ, वृद्धाश्रम, सप्तमाई गुरुकुल अध्ययन अनुसन्धान केन्द्र, करफोक विद्या मन्दिर लगायत दर्जनौं संघ–संस्थासँग आबद्ध टीएन भट्टराईको स्वयम्सेवाका पछि श्रीमती विष्णुकुमारीको महत्वपूर्ण सहयोग रहेको इलामेलीहरु बताउँछन् ।

प्रजातान्त्रिक आन्दोलनमा समेत ओजपूर्ण र प्रभावकारी भूमिका निर्वाह गरेका टीएन भट्टराईले जनपक्षीय प्रतिनिधिका रुपमा प्रधानपञ्च हुँदै जिल्ला पञ्चायत इलामको का.वा. सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

साविकको नेपाल चिया विकास निगमका कार्यकारी अध्यक्षका रुपमा समेत सेवा गरेका टीएन भट्टराईलाई पर्न गएको पत्नीसँगको चिरवियोगको पीडादायी क्षणमा समवेदना प्रकट गर्दै गतात्माप्रति पूर्वाञ्चल दैनिक परिवार श्रद्धाञ्जलि अर्पण गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here