चिन्तामणि दाहाल,
पृष्ठभूमि :
आलेखको माथि लेखिएको शीर्षक संस्कृत भाषाको हो । यसको नेपाली अर्थ हो तिम्रो शरणमा जान्छु अर्थात् आउँछु ।
अझ व्याख्या गर्ने हो भने यो वाक्यले भन्छ–यस संसारमा मैले तिमी बाहेक अरु देखेको छैन । कर, बल, छल, डर, त्रास, धम्की जे जस्तो दिएर तिमीले हामी जस्ता मनुवालाई आफ्नो शरणमा पर्नै पर्ने बनाएका छौ, त्यसबाट यस धरामा उम्कने अरु पथ नभएकोले म तिम्रो शरणमा आउन चाहन्छु । मलाई माया गरेर ग्रहण गर र आशिर्वाद देउ, ताकि म तिमी बाहेक अरुलाई अदबमा राखेर आफ्नो जीवन सुख शयलका साथ विताउन पाउँ भन्ने हुन जान्छ ।
संस्कृतको यो वाक्य विशेष गरी भगवानको जप, तप र आराधना गर्दा भक्तहरुले अधिक भन्दा अधिक प्रयोग गर्छन् । भक्तहरुका लागि भगवान भन्दा ठूलो, महान ( हरेक दृष्टिबाट ) र शक्तिशाली अर्को हुँदैन, हुन सक्तैन । त्यसमा पनि आफूले आराधना गरेका भगवानको कुरै छोडौं ।
तात्पर्य र लाक्षणिक अर्थ :
माथिको प्रसंग पंक्तिकारले अहिले नेपाली राजनीतिमा विगत एक महिनादेखि तरंग ल्याइरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको शक्ति संघर्षलाई संकेत गर्न उल्लेख गरेको हो । यसैत नेकपा अर्ध एकीकृत पार्टी हो । यो पूर्ण हुन महाधिवेशन गर्नुपर्छ । तत्काल नेकपाको महाधिवेशन हुने अवस्था छैन । स्थायी समिति र सचिवालय बैठक स्थगित गर्दै नयाँ मिति तोकेर सारे जस्तो नगर्ने हो भने आउँदो फागुन–चैतमा नेकपाका नेताहरुले महाधिवेशन गर्न सक्छन् ।
त्यो समयसम्म पर्खेर शक्ति आर्जन गर्नु कुनै पनि नेताका लागि सजिलो छैन । त्यसैले त्यसअघि सानो सदस्य संख्या भएको स्थायी कमिटि र सचिवालयबाटै रोढ्याई गरेर भएपनि पार्टी अथवा सरकारमध्ये कुनै एउटाको एकल प्रमुख हुन पाइयो भने महाधिवेशनमा शक्ति आर्जन गर्न सकिन्छ । चाहेको पदमा पुग्न सहज हुन्छ ।
त्यही शक्ति संघर्षको दौडमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घनीभुत संघर्षमा छन् । तर, अहिले सरकार प्रमुख पनि रहेका र पार्टीको शक्तिशाली अध्यक्षमै रहेका केपी ओली पद गुमाएर आफू कमजोर हुन चाहँदैनन् । अहिले शक्तिमा हुँदा त अरु लोभी पापीहरुको समूह बनाएर अर्का अध्यक्षले मात दिन खोजिरहेका छन् भने भोलि दुइटै अथवा कुनै एक पद छोड्यो भने टिकी खान दिँदैनन् । यो कुरा कमरेड ओलीले जेल बसेदेखि नै बुझेका छन् । अहिले नबुझ्ने कुरै छैन ।
यस परिस्थितिमा एक महिने संघर्ष गरिसकेपछि पनि ओलीजी गल्ने छाँट नदेखेको र नेपाल–खनाललाई साथ लिएर शक्तिमा पुग्न सहज नदेखेपछि उनीहरुलाई घिसारेर साथमा लिनुभन्दा बरु ओलीकै शरणमा जाँदा पार्टीलाई फुटबाट जोगाउन संघर्ष छोडेको भनेर इज्जत पनि बच्ने र भोलि कथम कदाचित ओलीको घैंटामा घाम लगाउन सकियो भने अध्यक्ष पनि हात पार्न सकिने विश्लेषणमा पुगेका कमरेड प्रचण्डको क्रान्तिकारी आँखाले देख्यो । त्यसैले उनी त्वम् शरणम् गच्छामि हुन खोजिरहेछन् ।
र, अन्त्यमा, यही विश्लेषणलाई पंक्तिकारले अर्को भाषामा आत्मसमर्पण भनेर केही दिन अघि लेखेको थियो । लगभग त्यही विश्लेषण अहिले आएर मिल्न खोज्दैछ । प्रचण्डले सोमबार आप्mनो निवास खुमल्टारमा पूर्व माओवादी जो अहिले पनि खेमा परिवर्तन नगरी बसेका छन, त्यसमध्ये केन्द्रीय नेतृत्व तहका १८ भाइलाई बोलाएर अब ओलीजीसँगै झगडा ओलीजीसँगै मेल भनेर दुईलाइन संघर्ष गर्ने मुडमा पुगेको बुझिएको छ ।
त्यसैपनि मंगलबारका लागि बोलाइएको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बसेको बैठक केहीबेर बसेर स्थगित भएको हो । त्यसअघि ओली र प्रचण्डले गोप्य भेट गरेका थिए । त्यसअघि प्रचण्डका अनन्य सहयोगी पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले महाधिवेशनको तयारीलाई एकताको सुत्र बनाउँ भनेर यो बैठक शुरु हुनु अघि एक ट्वीट सार्वजनिक गरेका थिए । उनले लेखेका छन्, एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी निकासको सुत्र हो ।
अब बस्ने स्थायी समितिको बैठकले जे निर्णय गरेपनि वा नगरेपनि प्रचण्ड पक्षले अब ओलीजीको राजिनामाको माग सुरक्षित ल्याण्डिङका लागि मात्र गर्ने छ । जे गरेपनि ओलीले राजीनामा दिँदैनन् र दिन बाध्य पार्ने ल्याकत आफूरुसँग छैन भन्ने महशुस गरेपछि प्रचण्ड समूह एक कदम पछि हटेको छ ।
हाम्रा सर्बोच्चका न्यायाधीशको चित्तले सोचेर एक जनालाई जन्मकैदको फैसलालाई घटाएको जस्तै पंक्तिकारको चित्तले पनि सोच्यो– अबको प्रचण्डपथ त्वम शरणम् गच्छामि हो । यसो लेख्दा पंत्तिकारलाई कसैले गाली नगरोस् । घटनाक्रमबाट पंक्तिकारले यस्तो विश्लेषण गरेको हो । आक्षेप होइन ।


























