प्रकृतिको मौन प्रतिवाद

0
583

सम्पादकीय

मुलुकमा अविरल वर्षाका कारण निम्तिएको बाढी र पहिरोले आठ दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने हजारौं विस्थापित भएका छन् । हरेक वर्ष बाढी र पहिरोको कहरले जनधनको क्षति हुनेक्रम निरन्तर चलिरहेको छ । यो वर्ष पनि यो पीडाले सताएको छ र खोलाकिनारमा बस्ने दुःखी, गरीब र निमुखाको लागि काल र अनिकाल बनेर आएको छ बाढी र पहिरो । सयौँ मानिस घाइते भएका छन् भने आफन्त गुमाउनुपर्दा, घरबास भत्किँदा र गाईवस्तु गुमाउनु पर्दाका व्यथा र वेदना वर्णन गरी साध्य छैन ।

कोभिड–१९ ले थिलथिलो बनाइएको जनजीवन बाढीपहिरोको पिरले अझ बढी आक्रान्त बनेको छ । सबैतिरजसो यही नियति जारी रहेकाले उद्धार र राहतका कामसमेत प्रभावकारी हुन सकेका छैनन् । वर्षा जारी रहेकै कारण पनि सहयोग गर्न चाहनेलाई समेत अनुकूल अवस्था मिलिरहेको छैन । पीडितहरूको रुवाबासी छ र उनीहरुका घाउमा मल्हमपट्टी लगाउन नेपाल सरकारलाई पनि धौं–धांै परिरहेको छ । मानवीय क्षति र धन–सम्पत्तिको क्षति यति असह्य छ कि यसबाट पार पाउन अत्यन्तै कठिन छ । मुख्य राजमार्गहरू मात्र होइन, जिल्ला–जिल्ला, प्रदेश–प्रदेश र पूर्व–पश्चिम अनि उत्तर–दक्षिण जोड्ने राजमार्ग समेत क्षतविक्षत भएका छन् । पुलपुलेसा भत्केका छन् । यसरी प्रत्येक वर्षजसो उत्पन्न हुने यस्तो राष्ट्रिय विपद्का बेला संघीय सरकारको मुख्य जिम्मेवारी त छ नै, घटना हुनुअघि क्षति कम गराउन आवश्यक पूर्व तयारी र घटना भइसकेपछि राहत अनि उद्धार जस्ता कार्यमा प्रदेश सरकार, स्थानीय सरकार र सँगै राजनीतिक दल तथा गैरसरकारी निकायहरू समेत जिम्मेवार भएर लाग्ने हो भने आगामी दिन विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । लोककल्याणकारी राज्यले जनताको दुःखमा आँखा चिम्लन पनि मिल्दैन ।

सहज अवस्थामा वनजङ्गल विनाश गर्ने क्रम रोकिएको छैन । विकास निर्माणको नाममा पहाड र हिमालका हरेक पाखापखेरा उधिनिएका छन् । स्क्याभेटर र भ्याकुको प्रयोग गरेर क्षतविक्षत पारिएको सयौं–हजारौं वर्षदेखिको प्रकृतिको संरचना । व्यक्तिवादी सोचका कारण वन विनाश तीव्र बनेको छ । प्राकृतिक प्रकोप रोक्न वा हटाउनभन्दा दुःखद् अवस्था आउन नदिन पूर्व सावधानी अपनाउन जरुरी छ । हिउँदमा मानवले प्रकृतिलाई र वर्षायाममा प्रकृतिले मानवलाई आक्रमण गर्ने क्रम रोकिन सकेमा मात्र बाढी र पहिरोको पीडाबाट मुक्ति पाउन सकिन्छ । प्रकृतिले पनि प्रतिवाद गर्दछ भन्ने सच्चाइलाई हामीले बुझ्न आवश्यक छ । उपभोक्तावादी संस्कृतिको चापमा परेर प्रकृतिको अतिशोषण गर्ने हो भने त्यसको दुष्परिणाम भोग्न पनि तयार रहनुको विकल्प हुँदैन । तसर्थ, प्रकृतिको मौन प्रतिवादको भाषालाई बुझ्न सकेमा मानव जातिले बाढी–पहिरोको महाविपत्तिको सामना गर्नुपर्दैन । वनसंरक्षण, वृक्षरोपणलाई बढोत्तरी गर्दै प्रकृतिमाथिको अनावश्यक हस्तक्षेप नियन्त्रण गर्न सकेमा प्रकृतिको सकारात्मक प्रत्युत्तर प्राप्त हुनेमा आशावादी हुन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here