समुदाय उन्मुख महामारी र हाम्रो सजगता

0
557

सम्पादकीय

लकडाउन हुँदा लुकेको कोरोना भाइरस खुल्ला हुनासाथ व्यापक हुन थालेको छ । चार महिना लामो लकडाउन खुलाइए पनि कोरोना त्रास र जोखिम यथावत रहेको भन्दै सरकारले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो । तर, आम सर्वसाधारणले लकडाउन खुल्नुलाई लामो समयदेखि कारागारमा रहेर छुटे सरह व्यवहार गर्दा कोरोना त्रास झनै बढेको छ । नेपाली मानसिकता नै नियम, कानून, निर्देशन र परिस्थिति प्रतिकूल रहेको विगतका तथ्यहरुले देखाएका छन् । यसैको निरन्तरता हो शायद सरकार, सञ्चार माध्यमहरुको चेतावनी सूचना र अनुरोध विपरीत सडक ‘जाम’ हुन थालेका छन् । सामाजिक÷भौतिक दूरीको पालना गर्न छाडिएको छ भने अन्य स्वास्थ्य सतर्कता समेत बिर्सिइन थालेको छ ।

कोरोना कै कारण अहिलेसम्म पैंतालीस जनाले जीवन गुमाउनु परेको छ । मृत्यु हुनेको गन्ती प्रत्येक दिन थपिने क्रममा छ । हिजोसम्म लक्षण बिना नै जीवन गुमाउनु परेको थियो भने आज लक्षणसहितका संक्रमित भेटिन थालेका छन् । हिजो मृत्यु पश्चात परीक्षण गरिनेक्रम पनि थियो, तर अहिले शुरुमै लक्षण देखिन थालेको छ । यसले परिवारमात्रै होइन सिंंगै समुदाय प्रभावित हुने निश्चित छ । संघीय राजधानी काठमाडौंमा सत्र जनाको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ती मध्ये नौ जनामा लक्षण समेत देखिएको थियो । त्यस्तै पछिल्लो पटकका परीक्षणहरुमा यात्रामा नगएकाहरु नै संक्रमित देखिनुले त्रास घट्नुको साटो बढ्न सक्ने संकेत गरेको छ ।

सिङ्गो देश अहिले कोरोना कहरले पीडामा छ । लामो बन्दले अस्तव्यस्त जीवनलाई लयमा फर्काउन सरकारले लकडाउन खोलेको छ । यद्यपि सरकारले कोरोनाको जोखिम अन्त्य नभएको भन्दै सुरक्षा सतर्कता अपनाउन र सुरक्षित रहनका लागि अपनाउनुपर्ने मापदण्ड र सीमा पालना गर्न अनि उल्लघंन नगर्न सचेत गराएको छ । तर, पनि हाटबजार, मेलापात, सवारीहरु कोरोना भयबाट मुक्त भएका छन् जस्तो अनुभूति गर्न सकिने भएको छ । सावधानी अपनाएको देख्नु दुर्लभ झैं हुन थालेको छ । प्रतिबन्धित नै रहेका होटल, रेष्टुरेन्ट, सैलुन, पार्लरहरु पूर्ववत् सञ्चालन हुन थालेका छन् । त्यसकै परिणाम हुनसक्छ समुदाय नै संक्रमणको केन्द्रमा देखिन थालेको छ ।

यसैबीच सरकारले पीसीआर परीक्षणको गति र संख्या घटाउँदै छ । यसले संक्रमणको पहिचान नै नभई मरिने हो कि चिन्ता थपिएको छ । देशका सातै प्रदेश कोरोनाको जोखिममा छन् भने प्रदेश एकको झापा भारतसँगको खुल्ला सीमानाका कारण बढी जोखिममा छ । संक्रमण परीक्षण गर्न यहाँका सामाजिक अभियन्ताहरुको अग्रसरतामा प्रयोगशाला स्थापना गर्न अभियान नै सञ्चालन गरिएको छ । स्थानीय संघ–संस्थाहरुसँग सहकार्य गर्दै सहकारी, अन्तर्राष्ट्रिय झापाली समाज लगायत नागरिक समाजको सहभागितामा सञ्चालनमा आउन लागेको प्रयोगशालाले तत्काल कोरोना परीक्षण गर्ने र त्यसपछि अन्य संक्रामक रोगको पहिचान गर्ने बताइएको छ । झापाको मध्यभाग कनकाई नगरपालिकाको सुरुङ्गास्थित कोटीहोममा समुद्घाटनको प्रतिक्षामा रहेको प्रयोगशालाले झापालीको एकता, हार्दिकता, सद्भाव र बन्धुत्वको अनुपम उदाहरण दिएको छ । यद्यपि रोग लाग्नै नदिनु बुद्धिमानी हो, तर लागीहाल्यो भने उपचारात्मक विधिका लागि प्रयोगशाला पुग्नै पर्छ । त्यस्तो अवस्थामा धेरैको हातेमालोबाट स्थापना गरी राज्यलाई सञ्चालनको जिम्मा दिने एकका लागि एक अभियान र अभियन्ताहरुको अग्रसरता र दाताहरुको दानशीलता कहिल्यै नमरोस्, अझ ऊर्जावान होस् र पूर्वी सीमान्त जिल्लाका बासिन्दा लाभान्वित हुँदै स्वस्थ जीवन बाँच्न पाउन् । त्यसका लागि बिर्सनै नहुने शिक्षा दिएको छ कोरोना संकटले कि सबै स्वयम् सचेत, सजग र सावधान बनौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here