आपत्कालमा शिक्षा

0
1244

नेत्रप्रसाद निरौला,

शिक्षाको महत्वको बारेमा बहस गरेर कहिल्यै सकिँदैन अथवा शिक्षाको महत्व अनन्त छ । तर, अहिलेको अवस्थामा शैक्षिक क्षेत्र अवरुद्ध छ । हाल विश्वव्याी परुपमा फैलिएको कोरोना माहामारीका कारणले गर्दा प्रायजसो शैक्षिक क्षेत्रहरु ठप्प प्रायः छन् । हाम्रो देशको स्थिति मात्र हेर्ने हो भने करिब सत्तरी लाख बालबालिकाहरु शिक्षा लिनबाट वञ्चित छन् ।

लामो समयसम्म विद्यालयहरु बन्द रहँदा पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकारबाट ठूलो संख्याका बालबालिका वञ्चित रहनु सामान्य कुरा होइन । तर, यसका बारेमा मुलुकमा बहस, चर्चा, छलफल पर्याप्त मात्रामा भएको देखिँदैन ।
शिक्षाको असर तत्काल मात्र पर्दैन, यसले दीर्घकालीन असर पार्दछ । बन्दाबन्दिको (लकडाउन) अवस्थामा विद्यालय बन्द रहनु स्वभाभिक भए पनि बन्दाबन्दी क्रमशः हट्दै जाँदा शिक्षा क्षेत्रलाई अन्तिममा राख्नुले शिक्षा क्षेत्रलाई कम महत्व दिइएको झैं महशुस हुन्छ । तर, हामीले आपतकालीन अवस्थाले ल्याउन सक्ने विभिन्न प्रभावहरु जस्तैः बालबालिकामा पर्ने मनोसामाजिक प्रभाव, शिक्षा क्षेत्रमा पर्न सक्ने प्रभाव, समुदायमा पर्ने प्रभाव, सीमान्तकृत समूहमा पर्ने प्रभाव आदिका बारेमा पर्याप्त विश्लेषण, बहस, छलफल गरी एउटा निस्कर्षमा पुग्ने चेष्टा गर्न सकेको अवस्थामा कमी रहेको पाइन्छ । तर, साच्चै भन्ने हो भने शिक्षाको उपदेयता आपतकालीन अवस्थामा बढी रहन्छ । शिक्षाले शारीरिक, मनोसामजिक, संज्ञानात्मक आदि सुरक्षा प्रदान गर्दछ ।

शिक्षा अधिकार हो, समुदायले शिक्षालाई प्राथमिकता दिन्छ र बालबालिकाको संज्ञानात्मक र भावनात्मक विकासमा शिक्षाको महत्वपूर्ण स्थान रहन्छ । शिक्षाले जीवन बचाउन र धान्न मद्दत गर्छ । शिक्षाले सामाजिक पुनर्निर्माण र आर्थिक सुधारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । शिक्षाले द्वन्द्व व्यवस्थापन र सहिष्णुता वृद्धि गराउनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अझ महत्वपूर्ण त के छ भने शिक्षा नै यस्तो औजार हो जसले कुनै पनि विपद्सँग लड्न सक्ने क्षमताको विकास गर्छ, विपद् जोखिम न्यूनीकरण गर्ने महत्वपूर्ण औजार अथवा अर्को शब्दमा भन्ने हो भने विपद् व्यवस्थापन चक्रको महत्वपूर्ण ईकाइ, क्षमता अभिवृद्धि हो, क्षमता बिना विपद्सँग लड्न सम्भव छैन ।

यसरी हेर्दा हालको परिस्थितिमा शिक्षाको भूमिका अझ महत्वपूर्ण देखिन्छ । तर, हामी यो महामारीलाई बढी नै महत्व दिएर, विद्यालय, शिक्षालाई कम आँकिरहेका छौं कि जस्तो लाग्छ । यसो भनिराखेको बेला मैले के बिर्सिराखेको छैन भने रोगको संक्रमण यदि विद्यालय प्र्र्र्र्रवेश गरेको खण्डमा यसले भयावह परिस्थितिको सिर्जना गर्न सक्छ । तर, यसका समाधानका केही उपायहरुसहित आपतकालमा शैक्षिक क्षेत्रमा के गर्न सकिन्छ भनेर चर्चा गर्न चाहन्छु, यो एकमात्र समाधान हो भन्ने मेरो जिकिर होइन, यसका थुपै्र विकल्प हुन सक्छन्, यो छलफलको विषय हुनसक्छ र जसबाट एउटा ठोस निष्कर्ष निस्कन सक्छ भन्ने मेरो ध्येय हो ।

नेपाल विपद्का दृष्टिकोणले विश्वमै संवेदनशील क्षेत्रमा रहेको छ । यहाँ समय–समयमा हुने विभिन्न प्रकारका विपद्हरुले ठूलो धनजनको क्षति पु¥याइरहेको हुन्छ । भूकम्प, बाढी, पहिरो, आगलागी, महामारी आदि जस्ता विपद्हरुले वर्षेनि थुप्रै दुःख दिन्छ र हाम्रो शैक्षिक गतिविधिलाई अवरोध पु¥याई रहन्छ । यसको समाधानका लागि एउटा मुख्य उपाय भनेको पूर्व तयारी नै हो, आपतकालीन अवस्थाका लागि शिक्षाको पूर्व तयारी ।

सर्वप्र्रथम आपतकालीन शिक्षाका लागि एउटा न्यूनतम् मापदण्ड तोकिनु पर्छ । आपतकालीन शिक्षाका न्यूनतम् मापदण्डहरुले आपतकालीन अवस्थामा शिक्षाको पूर्व तयारी र राहत कार्यका लागि अनिवार्य रुपमा उपलब्ध हुनुपर्ने न्यूनतम स्तर निर्धारण गर्दछन् । आपतकालीन शिक्षाको न्यूनतम मापदण्ड निर्माण गर्नका लागि राहत कार्यमा संलग्न विभिन्न संस्था र निकायहरुको एक अन्तर संस्था सञ्जाल तयार गर्नुपर्दछ । यस अन्तर संस्था सञ्जालले आपतकालीन शिक्षाको पूर्व तयारी र शीघ्र पुनर्निर्माण कार्यको सिलसिलामा दिइने शिक्षाको ढाँचा तयार गर्दछ ।

दोस्रो, शैक्षिक समन्वय समूह गठन गर्न आवश्यक छ । शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहयोग पु¥याउने विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्थाहरुको सञ्जाल नै शैक्षिक समन्वय समूह हो । अवरुद्ध शैक्षिक कार्य सञ्चालन गर्नमा शिक्षा मन्त्रालयलाई (मन्त्रालय अन्तर्गत अन्य विभाग, प्रदेश, जिल्ला, स्थानीय स्तर) सघाउनु नै शैक्षिक समन्वय समूहको प्रमुख जिम्मेवारी हो । यसका अलवा शैक्षिक समन्वय समूहको अन्य जिम्मेवारीमा, मुख्य साझेदारहरुको पहिचान गर्नु, कार्यक्रम कार्यान्वयनको समन्वय गर्नु, योजना निर्माण र रणनीतिको विकास एवम् मापदण्डहरुको प्रयोग गरी शैक्षिक गतिविधि सुचारु गर्नु हो ।

त्यस्तै शैक्षिक समन्वय समूहको अन्य महत्वपूर्ण कार्यहरुमा, आपतकालीन शिक्षाको अनुगमन गर्नु र प्रतिवेदन प्रस्तुत गर्नु, सहयोगको पक्षमा वकालत गर्नु र स्रोतको परिचालन गर्नु, नागरिक समाज र राष्ट्रसेवकहरुलाई प्रशिक्षित तुल्याई क्षमता निर्माण गर्नु र अन्तिम प्रतिवेदन दाताको भूमिका निर्वाह गर्नु हो । यसरी शैक्षिक समन्वय समूहको गठन आपतकालीन शिक्षाका लागि एउटा महत्वपूूर्ण औजार हो । यो स्थानीय स्तर लगायत आवश्यक क्षेत्रमा अग्रीम गठन गर्नु आवश्यक छ र बेला–बेलामा बैठक, छलफल आवश्यक छ, जसले गर्दा आपतकाल आइपरिहाले यसलाई तुरुन्तै सञ्चालनमा ल्याउन सकियोस् ।

देश संघीयतामा गइसकेको परिप्रेक्षमा हरेक प्रदेश र स्थानीय निकायहरु अधिकार सम्पन्न छन । त्यसकारण शिक्षाका हरेक गतिविधिहरुमा स्थानीय क्षेत्रलाई अधिकार दिनु उपयुक्त हुन्छ । विपद्को दृष्टिकोणबाट पनि स्थानीय निकायहरु अधिकार सम्पन्न भए भने शैक्षिक वातावरण सुचारु गर्न मद्दत पुग्छ, किनभने देशको फरक भौगोलिक क्षेत्रमा फरक प्रकारका विपद्हरुको समस्या रहन्छ, त्यसकारण देशभरिको विपद्को अवस्थालाई एउटै बाकसमा हालेर हेर्ने प्रयास गरियो भने समस्या समाधान गर्न कठिन हुन्छ ।

त्यसैले फरक ठाउँमा भएको फरक समस्याको पहिचान गरी समस्याको समाधान खोज्नु उपयुक्त हुन्छ । त्यसैले अहिलेको महामारीको समयमा पनि तुलनात्मक रुपले सुरक्षित र असुरक्षित स्थानहरुको पहिचान गरी शैक्षिक क्षेत्रलाई क्रमशः खोल्दै जानुपर्ने आजको टड्कारो आवश्यकता देखिन्छ । अन्यथा देशैभरिको अवस्था सफा खोज्ने हो भने धेरै लामो समय लाग्न सक्छ जतिबेर हामी धेरै पछाडि परिसकेका हुन सक्नेछौं ।

(लेखक न्यूटन्स एजुकेशन एकाडेमीका शिक्षक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here