अर्जुनधारा ।

गत साउन १८ देखि २२ गतेसम्मलाई अर्जुनधारा नगरपालिकाले लागु गरेको बन्दाबन्दी(लकडाउन) लाई निरन्तरता दिने भएको छ ।
नगर कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटी(सीसीएमसी)को बिहीबार बसेको बैठकले आगामी साउन २६ गतेसम्म नगर क्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
समुदायस्तरमा कोरोना फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरका विभिन्न वडामा भइरहेको कन्ट्याक्ट ट्रेसिङको कार्यलाई सहज बनाउने उद्धेश्यले बन्दाबन्दी गर्ने निर्णय गरिएको सीसीएमसीले जनाएको छ ।
नगर स्वास्थ्य शाखाका अनुसार अर्जुनधारा–१का एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नगर सीसीएमसीको बैठकले नगरमा बन्दाबन्दीसँगै विभिन्न वडामा कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य सञ्चालन गरेको थियो ।
हालसम्म कन्ट्याक्ट ट्रेसिङमार्फत् एक सय ७३ जनाको स्वाब पीसीआर परीक्षणको लागि पठाइएकामध्ये बुधबार ७१ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकीको आउन बाँकी रहेको शाखाकी सहसंयोजक दुर्गा चापागाईंले जानकारी दिइन् ।






























