बिर्तामोड।

इलामको रोङ गाउँपालिका–४ प्युरेका अधिकांश स्थानीय अनिदो बसेको वर्षाैं भएको छ । गाउँको दक्षिण भागमा रहेको प्यूरेमा पहिरोले कतिबेला घरै लगिदेला भन्ने चिन्ताका कारण उनीहरुको निद्रा हराएको हो । करिव १ सय घरधुरी रहेको प्यूरे गाउँको एकपट्टिको पूरै भाग पहिरोले बगाइसकेको छ । २०७३ सालबाट पहिरो जान थालेको सो स्थानमा पहिरोकै कारण गाउँ नै जोखिममा परेको हो ।
पहिरोले हालसम्म १३ घरपरिवार पूर्ण रुपमा बिस्थापित भएका छन् । ९० रोपनी क्षेत्रफल पहिरोमा परिणत भएको छ भने करिव एक सय ५० रोपनी नम्बरी जमिन पहिरोले चिरा–चिरा पारेको छ । पहिरोका कारण सन्तबहादुर लाप्चा, भक्तबहादुर लाप्चा, भीमबहादुर मगर, बलबहादुर मगर, धनराज मगर, टंक बस्नेत, नरबहादुर बस्नेत, भूवन बस्नेत, गणेश बस्नेत, खड्गवहादुर राई, टेकबहादुर मगर, इन्द्रबहादुर मगर र दिलबहादुर राईको घर पूर्ण रुपमा बिस्थापित भएको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले जानकारी दिए ।
२०७२ सालको भूकम्पका कारण हो अथवा के कारणले पहिरो जान शुरु गरेको हो भन्ने यकिन हुन नसक्दा प्यूरे गाउँ नै पहिरोको उच्च जोखिममा रहेको अध्यक्ष राईको भनाइ छ । पहिरोसंगै जमिनमुनिबाट पानी रसाउने गरेका कारण गाउँ नै जोखिममा परेको बताइएको छ ।
पूर्बाेत्तर झापाको उत्तरी भूभागसँग सीमाना जोडिएको इलामको तल्लो भागमा बर्षेनि पहिरो खस्ने समस्याका कारण त्यहाँका सर्बसाधारण त्रसित मात्र छैनन् घर खेत पहिरोमा परिणत हुँदा के खाने, कहाँ बस्ने भन्ने चिन्ताले पिरोलिएका छन्– प्यूरेवासी ।

इलामको तल्लो भाग रोङ गाउँपालिका–४ प्यूरेमा वर्षेनि पहिरो जाँदा अहिले सिङ्गो बस्ती नै जोखिममा परेको हो । २०७३ सालबाट पहिरो खस्न शुरु गरेको प्यूरेमा पहिरोका कारण यो वर्ष ४ परिवार विस्थापित भए । पहिरो जाने क्रम अहिले पनि नरोकिएका कारण सिङ्गो बस्ती नै जोखिममा परेको स्थानीयको भनाइ छ ।
झापाको बुद्धशान्ति गाउँपालिकाको सीमानामा रहेको टिमाई खोलाले वर्षेनि कटान गर्दा रोङ गाउँपालिका–४ प्यूरेमा पहिरो जाने गरेको हो । पहिरोका कारण त्यस क्षेत्रमा वर्षेनि विस्थापित हुनेको संख्या उच्च छ । २०७३ साल यता गएको पहिरोका कारण प्यूरेका १३ परिवार विस्थापित भएका छन् भने सिङ्गो वस्ती नै जोखिममा परेको छ ।
पहिरोको कारण गाउँका अधिकांश घर र बारी धस्सिएका छन् । पहिरोले हालसम्म सयौं रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ । पानी पर्न थालेसँगै पहिरो जाने र घर भासिने भएपछि बिचल्लीमा पर्नेको संख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष राईले बताए ।
इलामको तल्लो भाग अर्थात चुर क्षेत्रका बासिन्दा वर्षेनि पहिरोको चपेटामा छन् । वर्षायामको शुरुवातसँगै पहिरो जाँदा मानवीय क्षतिका साथै गाउँ नै बिस्थापित हुने अवस्था सृजना भएको इलामका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताए । उनले जिल्ला प्रशासनको एक्लो प्रयासले मात्रै यहाँ केही गर्न नसकिने भन्दै संघीय सरकारले यहाँको अवस्थालाई मध्यनजर गर्दै तत्काल राहत लगायतका पहिरो रोकथाम गर्ने नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।
यता जलश्रोत तथा सिञ्चाई डिभिजन कार्यालय इलामका इञ्जिनियर पुरुषोत्तम साहका अनुसार पहिरो प्रभावित क्षेत्र प्यूरेलाई जोगाउन पहिरो जाने क्षेत्रमा जहाँ–जहाँबाट पानी बगेर आउँछ, त्यसलाई बन्द गर्नुपर्ने बताए ।
इलामको तल्लो क्षेत्र मात्र होइन पूर्वी पहाडी जिल्लामा यस्ता प्राकृतिक बिपत्तिका कारण वर्षेनि हजारौं परिवार प्रभावित हँुदै आएका छन् । समस्या निम्त्याउने पक्षको प्राविधिक अध्ययन गरी समयमै समाधान निकाल्न सके यसबाट हुने क्षतिलाई भने न्यूनीकरण गर्न सकिन्छ ।
राष्ट्रपति चुरे संरक्षण जस्ता कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउँदै तराई क्षेत्रमा बगेर आएका खोलाको जथाभावी उत्खनन् र पहाडी क्षेत्रमा भएको बन संरक्षण गर्दै पहिरो जाने सम्भावित क्षेत्रमा वृक्ष रोपण गरेको खण्डमा बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट बच्न सकिने इञ्जिनियर साहको भनाइ छ ।
यसैबीच बुधवार जिल्ला विपद् व्यवस्थापन इलाम, रोङ गाउँपालिकाका जनप्रतिनिधि, प्रदेश सांसद, जिल्ला प्रहरी कार्यालय इलाम, नेपाली सेनासहितको टोलीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै त्यस क्षेत्रका प्रभावितहरुलाई वैकल्पिक व्यवस्था गर्ने विषयमा अध्ययन गर्ने बताइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष पहिरोवाट प्रभावित भएकाहरुलाई नगद १५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको बताइएको छ ।































