मेची अस्पतालमा चार दिनमै भरियो आइसोलेसन

0
1234

पार्थ मण्डल / भद्रपुर ।

एउटै भवनमा अन्य बिरामी र कोरोना सङ्क्रमणका बिरामी राखेर उपचार शुरु गरिएको झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा जोखिम बढेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिलाई राख्न बनाइएको अस्थायी क्वारेन्टिनमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको हुन्छ । क्वारेन्टिनमा कुनै पनि बाहिरका मानिसलाई प्रवेश निषेधसँगै संक्रमण पुष्टि नभएका व्यक्तिलाई कसैसँग भेटघाट गर्न नदिन बाँसको घेरावारा समेत लगाइएको छ । तर, जिल्लाकै सबैभन्दा ठूलो एक मात्र सरकारी अस्पतालमा उपचार गराउन आउन गरीब तथा विपन्न बिरामीलाई कोरोना भाइरसबाट जोगाउन मेची अस्पतालमा त्यस्तो केही स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको छैन ।

कोरोना संक्रमित र अन्य बिरामीलाई एउटै भवनमा राखेर उपचार गराउन अनुमति दिएको अस्पताल व्यवस्थापन तथा सञ्चालक समिति र जिल्लास्तरीय कोभिड नियन्त्रण तथा रोकथाम समिति समेत चुपचाप बसेका छन् ।

अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, प्रसूति सेवा जाने बाटो र कोरोना सङ्क्रमितलाई आइसोलेसनमा राखेर उपचार गराउने बाटो एउटै प्रयोग गरिएको छ । यसले गर्दा अस्पतालमा अन्य उपचार गराउन जाने बिरामी समेत कोरोना भाइरस सर्ने डरले जान छाडेका छन् । संसारमै नभएको जात्रा मेची अस्पतालमा देखिएको स्थानीय औषधि व्यवसायी ससीम पोखरेलले बताए । पोखरेलले भने– ‘अहिलेसम्म कोरोनाका बिरामी र अन्य बिरामीलाई एउटै भवनमा राखेर कहाँ उपचार गराइँदैछ ? हो भवन एउटा भए पनि बाटो र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको हुन सक्छ, तर मेचीमा त्यस्तो देखिँदैन ।’

मेचीमा कोरोना सङ्क्रमणका बिरामी राख्नुका साथै अहिले पीसीआर परीक्षण पनि शुरु गरिएको छ । यसअघि जिल्लास्तरीय कोभिड नियन्त्रण तथा रोकथाम समितिले मेची अस्पतालको नयाँ भवनमा कोरोना उपचार केन्द्र र स्वास्थ्य कार्यालय झापाको प्रयोगशालामा ल्याब सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, समितिले आफैंले गरेको निर्णय उल्टाएर दुवै सेवा मेची अस्पतालको भवनमा शुरु गरिसकेको छ । अस्पताल नजिकै कोरोना सङ्क्रमितको उपचार सेवा हुन नदिन भन्दै त्यस बेला स्थानीयले संघर्ष समिति नै गठन गरेर विरोध जनाएका थिए ।

मेचीमा जाने छाडे बिरामी

मेची अस्पतालमा कोरोना सङ्क्रमितको उपचार शुरु भएपछि अस्पतालमा अन्य उपचार लिने बिरामी जान छाडेका छन् । अस्पतालले झापामा पुष्टि भएका ६ जना कोरोना संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु गरेको भोलिपल्टदेखि नै सेवा लिन जाने बिरामीको संख्या ह्वात्तै घटेको छ ।

स्वास्थ्य बिमा लागू भएपछि मेचीमा उपचार गराउने बिरामीको संख्या बढेको थियो । दिनमा सात सयदेखि एक हजारसम्मले सेवा लिन्थे । जहिलेदेखि कोरोना सङ्क्रमितको उपचार शुरु भयो तबदेखि सेवा लिनको संख्या दिनहुँ घटन थालेको छ । अहिले दिनमा बढीमा सय जनासम्म उपचार गराउन अस्पताल जान्छन् । अहिले उपचार गराउन जाने गरीब तथा विपन्न समुदायको रहेकोले बाध्य भएर उपचार गराउन जाने गरेको औषधि व्यवसायी पोखरेलको भनाइ छ ।

कोरोना उपचार शुरु भएपछि अस्पतालमा उपचार गराउन आउन पनि डर लाग्न थाल्यो– सेवाग्राही कपिल राजवंशीले भने– ‘अब पनि अस्पतालमा यस्तै रहिरह्यो भने गरीब तथा विपन्न परिवार उपचार गराउन नपाएर नै मर्छन् ।’ ‘कोरोनाको बिरामी राख्न थालेपछि त्यहाँ कार्यरत चिकित्सक पनि डराउन थालेका छन्’– अस्पतालका कर्मचारी स्रोतले भन्यो– ‘पहिलाभन्दा अहिले बिरामी आउने चाप घटेको छ । कोरोना बिरामीको उपचार छुट्टै भवनमा गरेको भए अन्य बिरामी पनि उपचार गराउन आउँथे ।’

सुनसरी र मोरङमा भरिएपछि मेचीमा राख्न थालियो

मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिले पूर्व जानकारी तथा सूचना प्रवाह नगराई एकैचोटी कोरोना संक्रमण पुष्टि भएका बिरामीहरूलाई अस्पतालको आइसोलेसन वार्डमा ल्याएर राख्न थालेको हो ।

साउन १९ गते सोमबार दिउँसोसम्म कोरोनाका बिरामी राख्ने औपचारिक जानकारी बाहिर नदिएको अस्पताल सञ्चालक तथा व्यवस्थापन समिति र स्वास्थ्य कार्यालय झापाले सोही दिन साँझ जिल्लामा पुष्टि भएका ६ जना सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र मेचीमा कोरोनाको उपचार शुरु भएको जानकारी दिए ।

मेचीमा कोरोनाको उपचार शुरु भएकै हो त ? भनी पूर्वाञ्चलकर्मीले खोजी गर्दा त्यस दिन कोशी अस्पताल विराटनगर, पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गोठगाउँ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपचार केन्द्रमा संक्रमित भरिएको हुँदा आ–आफ्नै जिल्लामा सङ्क्रमितलाई राख्न आदेश आएपछि मेची अस्पतालको आइसोलेसन वार्डलाई रातारात उपचार केन्द्र बनाएको बताइएको छ । मेचीमा स्थापना गरिएको आइसोलेसन वार्डमा उच्च ज्वरो र रुखा खोकीका लक्षण देखिएका बिरामीलाई मात्र राख्ने गरिएको थियो ।

त्यहींबाट उनीहरूको स्वाब सङ्कलन गरी पठाइन्थ्यो र कोरोना पुष्टि भएपछि सुनसरी र मोरङको उपचार केन्द्रमा लगिन्थ्यो । अहिले त्यही आइसोलेसनलाई कोरोनाको उपचार केन्द्र बनाइएको छ । आइसोलेसनमा त्यस्तो केही कोरोनाविरुद्धको उपकरण जडान गरिएको छैन । एउटा खोकीको भ्याक्सिन दिने मेसिन बाहेक केही नभएको अस्पताल स्रोतले बतायो । सङ्क्रमितको उपचारका लागि अस्पतालको डा. गोविन्द कँडेलसहित केही नर्सलाई खटाइएको छ ।
यता अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले प्रदेश सरकारको निर्णय बमोजिम नै मेचीमा कोरोना उपचार केन्द्र शुरु गरिएको जानकारी दिए ।

चार दिनमै भरियो आइसोलेसन

सोमबारदेखि मेची अस्पतालको आइसोलेसन चार दिनमै भरिएको छ । २२ बेडको आइसोलेसनमा २२ जना संक्रमित भर्ना गरिएसँगै आइसोलेसन भरिएको हो । मेचीमा संक्रमित राख्ने ठाउँ नभएपछि मेचीनगर नगरपालिकाका ८ मध्ये २ जनालाई धाइजन स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएको छ ।

अहिले जिल्लामा पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिन पठाउन थालिएको छ । मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरका अनुसार अस्पतालको आइसोलेसनका लागि थप बेड राख्न सक्ने स्थान छैन, यसको लागि छुट्टै स्थान चाहिने बताए ।

योजना अलपत्र

जिल्लास्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति झापाले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र बनाउने निर्णय गरेको थियो । जुन बेला भारत र तेस्रो मुलुकबाट फर्किएका व्यक्तिहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थाल्यो, त्यही बेला समितिले मेचीको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र बनाउने निर्णय गरेको थियो । अहिले समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थालिसकेको छ । तर, उपचार केन्द्र बनाउने योजना जिल्लामा सेलायो ।

समितिले माग गरे बमोजिमको सरकारले बजेट नछुट्याउँदा जिल्लामा कोरोना उपचार केन्द्र बनाउने योजना अलपत्रमा परेको बताइन्छ । मेचीको निर्माणाधीन भवनमा एक सय बेडको कोरोना उपचार केन्द्र बनाउने निर्णय गरेको समितिका संयोजक तथा अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।

सरकारले बजेट नपठाउँदा कोरोना उपचार केन्द्र बनाउन ढिलाइ भइरहेको बताउँदै उनले भने– ‘बजेट आएपछि काम शुरु हुन्छ, तर कहिले आउँछ थाहा छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here