राष्ट्रकविको महाप्रस्थान

0
1063

सम्पादकीय

नेपाली काव्यधाराका धु्रव तारा माधवप्रसाद घिमिरेको महाप्रस्थान भएको छ । तत्कालीन राजा ज्ञानेन्द्रबाट ‘राष्ट्रकवि’ सम्मानद्वारा सम्मानित घिमिरेको मंगलबार अपराह्न आफ्नै निवासमा देहान्त भएपछि नेपाली साहित्य जगतका महानक्षत्र भौतिकरुपले अस्त भएको हो । लमजुङ्ग जिल्लाको पुस्तुन गाउँमा जन्मिएर स्थानीय पाठशालाबाट अक्षरारम्भ गर्नुभएका घिमिरे नेपाली साहित्यका बहुमुखी प्रतिभाका रुपमा स्थापित हुनुभएको छ । उहाँका विभिन्न विधाका कृतिहरुले उहाँको भौतिक अनुपस्थितिलाई अनुभूत हुन दिने छैनन् । ग्रामीण जीवनका अनेक कहरहरु झेल्दै भारतको बनारसमा पुगेर उच्च शिक्षा हासिल गर्नुभएका राष्ट्रकवि घिमिरेका कृतिहरुमध्ये ‘गौरी’ शोक काव्य सर्वाधिक चर्चित र लोकप्रिय कृति हो । मानव मनका अनुभूतिहरुलाई सरस, सुललित र सौन्दर्यमयी चेतनाद्वारा अभिव्यक्त गौरीका अक्षर–अक्षरमा घिमिरे जीवन्त रहने छन् ।

लमजुङ्गबाट काठमाडौं पुगेपछि कविशिरोमणि लेखनाथ पौड्यालका रचनाहरुसँग साक्षात्कार भई साहित्यप्रति रुची जागेका कारण घिमिरे काव्य रचना तर्फ आकर्षित हुनुभयो । त्यही बसाइले उहाँमा जीवन, जगतका प्रति नवीन धारणाले घर ग¥यो । त्यसमध्ये पनि काव्यिक चेतनाले जितेर उहाँ लोकगायक बनिनु भयो । अर्थात् उहाँका कविताहरुका भाषा ‘गेय’ छन् जसलाई सजिलै र जोसुकैले गाउन सक्छ । ग्रामीण जीवनमा लोकगीत सुन्दै हुर्किनुभएका कविवर घिमिरेमा त्यही प्रभावलाई काठमाडौंको बसाइले गाढा बनायो । त्यही गाढा काव्यिक प्रभाव बनारसमा अरु उज्यालियो । त्यसकै परिणाम हो कि मानव, प्रकृति र देशभक्तिका अनेकन गाथाहरु उहाँका कृतिहरुमा मुखरित भएका छन् ।

खाउँ–खाउँ र लाउँ–लाउँ उमेरमा स–साना छोरीलाई समेत छाडेर अनन्त यात्रामा निस्किएकी अर्धाङ्गिनी गौरीसँगको चिरवियोगमा उहाँका अभ्यन्तरका प्रेम र निकटता आँशुका रुपमा पोखिएका छन् । पत्नी वियोगमा सृजना भएको उक्त शोककाव्य नेपाली साहित्य जगतको अद्वितीय कृति हो –जानकारहरु भन्छन् । जीवनको उत्तराद्र्धमा पनि शब्द, श्रृंगारमै रमाउने राष्ट्रकवि घिमिरेका अनेकन कृतिहरु छन् । मालती मङ्गले, उहाँको त्यस्तो समाज सापेक्ष कृति हो जसले सर्वाधिक मञ्चन भएको नाट्य कृतिको सम्मान प्राप्त ग¥यो । साहित्य सेवाको उच्च मूल्याङ्कन गर्दै उहाँलाई गोर्खा दक्षिण वाहु, त्रिभुवन पुरस्कार, साझा पुरस्कार लगायतका सम्मान प्रदान गरियो । कला, साहित्य, संस्कृतिको उत्थानका लागि स्थापित प्रज्ञा प्रतिष्ठानको कुलपति समेत हुनुभएका घिमिरेको कृतित्व शक्ति उहाँका कृतिहरुले अभिव्यक्ति गरिरहने छन् । उहाँ नेपाली साहित्यको आकाशमा अटल, स्थिर र जाज्वल्यमान भएर रहिरहनु हुनेछ । हामी उहाँप्रति भाव र श्रद्धापूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here