मेची नदीले नेपाली भू–भाग कटान गर्दै, अवैध उत्खनन् का कारण समस्या

0
1033

झापा।

पाँच वर्ष अघि झापाको मेचीनगर–१ पाटापुरका बलराम पुरीले मेची नदीले बगाएको धानखेती हुने आफ्नो जमिन देखाउदैँ भनेका थिए– ‘वर्षेनि अलि अलि कटान हुन्थ्यो तर यो साल मेची उर्लिएर आएको छ, त्यहाँ मेरो धानखेत हुने ६ विगाह जमिन थियो, अब कतिखेर गाउँ बगाउने हो थाह छैन ।’ पुरीले स्थानीय प्रशासनसँग गुहार पनि मागे । तत्कालीन प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनको समस्यामा समाधान चाँडै हुने आश्वासन पनि दिए । तर, पाँच वर्ष बितिसक्दा पनि उनको समस्या घट्नुको सट्टा अझ बढेको छ ।

मेची नदीले तीन सय मिटरभन्दा बढी नेपालपट्टिको जमिन कटान गरेको छ । पाटापुर र तिरिङ कटान हुनुको प्रमुख कारण नै चुरे क्षेत्रको अप्राकृतिक र अवैध उत्खनन् भएको स्थानीय ओम पुरीको भनाइ रहेको छ । पुरीका अनुसार चुरे दोहनको कारण नै यो क्षेत्रमा सयौं विगाह जमिन कटान भइसकेको छ ।

मेची नगरपालिका मौन बस्नु र स्थानीय माफियाहरुको दादागिरी नै विनाशको प्रमुख कारण हो, चुरे दोहन नगरौँ भनी आवाज उठाएको वर्षौ भयो, कसैले सुनेनन्– पुरी भन्छन्– भारततर्फ जंगल झाँगिदै आउँदैछ, नेपालपट्टि खोला सर्दैछ, पैसाको अगाडि आफ्नो गाउँको माया केही होइन रहेछ । माफियाहरुले नेपालपट्टिको भागमा नदीजन्य सामग्रीको उत्खनन् गरेका कारण खोला नेपालतर्फ आएको छ । १० नम्बरदेखि १७ नम्बरसम्म सीमा पिलर हराएको छ । खोला सरेपछि नेपालतर्फको भू–भाग पनि भारतको रहेको दावी गर्दै ढुङ्गा निकाल्ने गरेको पाइएको छ ।

पाटापुरको उत्तरी सीमानामा रहेको रोङ गाँउपालिका–६ सलकपुरवासी सोही अवैध उत्खनन्को चपेटामा परेका छन् । चुरेको नदी उत्खनन्ले सलकपुरमा जमिनहरु भासिने, पानीको मुहानहरु सुक्ने साथै प्राकृतिक समस्याहरु देखा परेको रोङ्–६का वडाध्यक्ष सुवास तामाङले बताए । अवैध उत्खनन्मा संलग्न मानिसहरु र उत्खनन्मा प्रयोग भएका ट्याक्टरलाई पटक–पटक नियन्त्रणमा लिएको र आइन्दा अवैध गतिविधि नगर्ने शर्तमा जरिवाना गराएको सलकपुर प्रहरीले बताएको छ ।

यसैबीच प्राकृतिक स्रोतको विवादमा झापा र इलामका स्थानीय तहबीच पटकपटक विवाद समेत हुने गरेको छ । गत फागुनमा सलकपुरतर्फको ढुङ्गा चोरी भएको भन्दै झापाको बाहुनडागीतर्फ सिञ्चाई हुने सिद्धिखोला नहर नै सलकपुरवासीले बन्द गरेका थिए । सोही विवादको कारण इलामको रोङ गाउँपालिकास्थित मेची नदी किनाराको चुरे क्षेत्रबाट स्थानीय तस्करहरुले चोरी गरी ल्याएको ७ हजार ५ सय घनमिटर ढुङ्गा तिरिङ खोला बगरमा भण्डारण गरेर बिक्री गर्न लागेको अवस्थामा मेचीनगर नगरपालिकाले फेला पारी जफत गरेको थियो ।

जफतपश्चात नगरपालिकाले गएको साउन ५ गते ढुङ्गा लिलाम बिक्रीका लागि ठेक्का आव्हान गरेको थियो । नगरपालिकाले निकालेको सुूचनाका आधारमा १६ लाख रुपैयाँ कबोल गरी स्थानीय नेत्र सुब्बाले ठेक्का हात पारेका थिए । तर, सुब्बाले नगरपालिकासँग कबोल गरेको रकम बराबरको सम्झौता हुनु अगावै भण्डारण गरिएको क्षेत्रबाट ढुङ्गा गायब भएको छ ।

सम्झौता अघि नै ढुङ्गा गायव भएको बिषयमा मेचीनगर नगरपालिकाले अनभिज्ञता प्रकट गरेको छ । प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङले बाढीले बगाउने भएकाले तिरिङखोला बगरबाट सुरक्षित स्थानमा सारिएको कुरा आफूलाई मेयर बिमल आचार्यले मौखिक जानकारी गराएको बताए । तर, खाम्याहाङले भनेको कुनै पनि स्थानमा उक्त ढुङ्गा भण्डारण गरिएको छैन । उनले ठेक्का लिएका सुब्बसँग सम्झौता भइ नसकेको स्वीकार गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here