विकास आयोजनामा १६ करोड बजेट विनियोजन

0
664

अमित खम्बू/अर्जुनधारा ।

कोभिड–१९ द्वारा सृजित प्रतिकूल अवस्थासँगै उद्योग, व्यवसाय र रोजगारीमा आएको शिथिलतालाई ध्यानमा राखी अर्जुनधारा नगरपालिकाले चालू आर्थिक वर्षमा तीन प्रकारका विकासलाई विशेष जोड दिएको छ ।

रोजगारीको सृजनासँगै उद्योग तथा व्यवसायलाई राहत पुग्ने गरी विशेष जोड दिइएको कार्यक्रमहरुमा आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकास रहेको नगरद्वारा प्रकाशित वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

उक्त कार्यक्रम अनुसार नगरपालिकाले आर्थिक विकासतर्फ तीन करोड ६८ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासतर्फ तीन करोड ७५ लाख रुपैयाँ र पूर्वाधार विकासतर्फ नौ करोड ५५ लाख रुपैयाँसहित जम्मा १६ करोड ९८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकास अन्तर्गत कृषि विकासमा ९८ लाख ५० हजार रुपैयाँ, पशुपन्छी विकासमा एक करोड ४० लाख रुपैयाँ र पर्यटन विकासमा ३० लाख रुपैयाँ र सहकारी, उद्योग तथा वाणिज्यमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी सामाजिक विकास अन्तर्गत स्वास्थ्यमा ९० लाख रुपैयाँ, स्वास्थ्य आयुर्वेदमा ३५ लाख रुपैयाँ, शिक्षामा एक करोड छ लाख रुपैयाँ, खानेपानी तथा सरसफाईमा पाँच लाख रुपैयाँ, भाषा कला संस्कृति प्रबद्र्धनमा छ लाख रुपैयाँ, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणमा ७० लाख रुपैयाँ रहेको छ । त्यस्तै नगरस्तरीय खेलकद विकास कार्यक्रममा सात लाख रुपैयाँ, नगरस्तरीय युवा लक्षित कार्यक्रममा चार लाख ५० हजार रुपैयाँ, युवा खेलकुद तथा संस्कृति वडागतमा २७ लाख ५० हजार रुपैयाँ, बहुउद्देश्यीय ज्येष्ठ नागरिक युवा खेलकुद लक्षित व्यायामशाला चौतारी निर्माणमा २० लाख रुपैयाँ र अन्य कार्यक्रममा तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै पूर्वाधार निर्माण अन्तर्गत सडक कालोपत्रेमा तीन करोड ३० लाख रुपैयाँ, सडक ग्राभेल पुल आवास तटबन्धमा ७७ लाख रुपैयाँ, पुल आवास तटबन्धमा एक करोड ३७ लाख ५० हजार रुपैयाँ, नगर गौरवको आयोजनाहरुमा ९२ लाख रुपैयाँ, नगरस्तरीय मर्मतसम्भार कोषमा ४२ लाख ५० हजार रुपैयाँ, वडास्तरीय मर्मतसम्भार कोषमा एक करोड १० लाख रुपैयाँ, ग्रामीण विद्युतिकरणमा १० लाख रुपैयाँ, सडक बत्ती हात्ती प्रभावित क्षेत्रमा छ लाख सात हजार दुई सय ९० रुपैयाँ, समपूरक कोषमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले आर्थिक विकास अन्तर्गत स्थानीय प्रजातिको बाली, लहरेखेती तथा धान, मकै आलुको बीऊविजन उत्पादन गर्ने, जमिन बाँझो नराख्न भूमि बैंकको व्यवस्था गर्ने, नगरलाई लोकल कुखुरा पकेट क्षेत्र घोषणा गरी न्यूनतम् छ सय जनालाई व्यवसायिक कृषक बनाउने लक्ष्य राखेको छ । त्यसैगरी पशुपन्छी पकेट कार्यक्रम बिस्तार गर्ने, नगरबासीको आर्थिक विकास गर्न र राज्यको सेवा अनुदान सहज र सरल तथा समानुपातिक, न्यायोचितरुपमा नगरबासीले प्राप्त गरुन् भन्ने उद्देश्य राखी नगरस्तरीय विशेष सहकारी सञ्चालन गर्ने, नगरभित्रको पर्यापर्यटन सम्भाव्यता अध्ययन र विकास गर्ने, ‘नगर औद्योगिक ग्राम’को परियोजना सञ्चालन गर्ने लगायतका नीतिहरु प्रस्ताव गरेको छ ।

त्यसैगरी सामाजिक विकास अन्तर्गत विपन्न, दीर्घरोगी, श्रमिक, कृषक आदिको प्राथमिकताको आधारमा स्वास्थ्य बिमा गर्ने, शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर प्राथमिक अस्पतालको रुपमा स्तरोन्नति गरी विशेषज्ञ डाक्टरको सेवा सञ्चालन गर्ने, परम्परागत तथा जातीय र भौगोलिक पहिचान, संस्कृति झल्काउने संग्राहलय स्थापना गर्ने, ‘एक वडा एक व्यायामशाला’सञ्चालन गर्ने, ‘एक वडा एक महिला उद्यम’लगायतका नीतिहरु प्रस्ताव गरिएको छ ।

त्यस्तै पूर्वाधार विकास अन्तर्गत नगर गौरवको रुपमा बाहिरी र भित्री रिङरोड निर्माण गर्ने, विरीङ, टाङटिङ नदीमा संघ र प्रदेशसँगको समन्वयमा तटबन्ध, ग्रिनवेल्ट र बाटो बनाउने, नगर आवास योजना सञ्चालन गर्ने, शनिश्चरे बजारलाई व्यवस्थित तथा सौन्दर्यीकरणलाई निरन्तरता दिने, विरीङ नदीमा खानेपानी तथा सिँचाईको व्यवस्थापनका लागि चेकड्याम निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने, वडा कार्यालयहरु निर्माण गर्न यसै वर्षबाट बहुवर्षे योजना अन्तर्गत शुरु गर्ने लगायत नीतिहरु प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here