विष्णु निरौला आचार्य,
बिहानको नित्यकर्म सकेर भान्साघरमा मात्रै के पसेको थिएँ स्वास्नीको पुराण शुरु भैहाल्यो । ए बुढा ! आज पनि गाउँ जाने सुरसारै गर्दैनौ त? मैले तिम्लाई हिजै भन्द्या छु है। अब यो लकडाउनको बहाना बनाएर गाउँ गएर तिम्रा ती बुढा बा आमासँग भएको रुपैयाँ पैसा फुत्काएर ल्याएनौ भने भोलिदेखि घरमा बास पाउँदैनौ नि । यस्तै हो भने दिनानुदिन हातमुख जोर्न नि धौधौ होला जस्तो छ । चिया खाइसकेर चुपचाप तयार भएर मन नलागी नलागी झोला भिरेर गाउँ लागेँ मनभरी अनेक कल्पना गर्दै। उबेला बिहे गरेर घरमा दुलही भित्र्याउनासाथ बुढा भएका बाआमा र बालख भाइलाई छोडेर संसारै जितौँला झैं गरेर स्वास्नीको कुरा मानेर शहर पसियो।शहर पसेदेखि अहिलेसम्म कहिल्यै लोग्नेको दर्जा पाइएन।बिहान उठेदेखि घरका सारा कामधन्दाका साथ स्वास्नीकै अर्डरमा चलेरै जिन्दगी गैसक्यो।शहर पसेदेखि अहिलेसम्म कहिल्यै बाआमालाई भेट्न जान्छु भन्दा नि कुरै सुन्न मानिन । आज उसकै कचकच सुन्न नसकी गाउँ लाग्दैछु।
यत्रो समयपछि घर गएर बाआमाको अगाडि के भनेर मुख देखाउनु होला ? आ…जे सुकै होस् आखिर बाआमा भनेका भगवान हुन् जस्ले सन्तानलाई आफ्नो सामु देख्दा उसका हर गल्ती भुलिदिन्छन् ।मनभरी यस्तै तर्कना गर्दै करिब ५र६ घन्टा जति हिँडेपछि घर पुगेँ।घर पुग्दा बाआमा दुख सुखका कुरा गर्दै सिकुवामा बसिरहनुभाथ्यो । अचानक मलाई देख्दा छक्क पर्नुभो।बा ढोग गरेँ भनेर निहुरिन के लागेको थिएँ आमाले हातले रोक्नुभो । बाबु तँ टाढा शहरबाट आको,अहिले त त्यो कोरोना भन्ने महामारी फैलिएर धेरैको ज्यान लिसक्यो।पहिला धारामा गएर साबुनपानीले मिचीमिची हात धोएर आइज अनि उ त्यो बट्टामा भएको झोल हातमा हालेर दल्।मास्क त लगाकै रछस्।अनि मात्रै हामीलाई ढोग्।आमाको कुराले छक्क परेँ।गाउँका मानिस कति सचेत र सजग रहेछन् कोरोनासँग।मैले पनि आमाले भएजस्तै गरेर बाआमालाई ढोग गरेँ।
दुबैजनाले मेरो टाउकोमा हात राखेर भाग्यमानी भएस् भनेर आशीर्वाद दिनुभो।रातोदिन स्वास्नीको गाली नखाइ नअघाउने म जस्तो भाग्यमानी को होला मनमनै सम्झेँ।औपचारिकताकै लागि भए नि हालखबर सोधेँ।यतिका बर्षपछि हाम्रो हालखबर जान्ने इच्छा गरिस् ।छोरा आजका दिनसम्म हामीलाई तेरा भाइबुहारीले अत्यन्तै सुमधुर बोली र असल व्यवहारले बिना कुनै स्वार्थ स्याहार ,सुसार गरीरहेछन्।हामीले यो उमेरमा आइपुग्दासम्म अत्यन्तै खुशी र सुखी जीवन बिताउन पाएकाछौँ।यो उमेरमा आइपुग्दा पनि दुबैजना हृष्ट पुष्ट ,सुकिलो मुकिलो र निरोगी देख्दा छक्क परेर हेरिरहेँ।यत्तिकैमा आमाले दुबै हातमा लाएका सुनका बाला र बाको हातको महङ्गो घडी र सुनको औँठीमा आँखा पुग्यो।
एकोहोरिएर हेरिरहेको थिएँ अचानक फोनको घण्टी बज्यो।लाउड स्पीकर भएकाले उताबाट आको फोन बाहिरै सुनिन्थ्यो।हेल्लो(सुन त बुढा ,घर अघि नै पुग्यौ नि,अनि मैले तिमीलाई भनेको छु नि… त्यो तिम्रो आमाले दुबै हातमा लाएको सुनको बाला(मैले फोटोमा देखेको र तिम्रो बाले लाको घडी र औंठी चाहिँ जसरी भए नि फुत्काएर लेराउ,अरु कुरा हुँदै गर्छ..ल अहिले फोन राखेँ ..बाइ।बाआमाले उताको सबैकुरा सुन्नुभो।अनुहार एकाएक कालो भएर आयो,बोली रोकियो।अलच्छिनीले घरमै सबैकुरा भनेरै पठाकि थी त फेरि किन फोन गर्न परेको मममनै मुर्मुरिएँ।ठुले तँ भोकाको होलास् भित्र गएर के खान मन लाग्छ खाएर आइज अनि कुरा गरौंला आमाको मायालु बोलीले झसङ्ग भएँ।भाइबुहारी अलि पर बृध्दाश्रम गएका छन् ।बृध्दबृध्दालाई खानेकुरा लिएर ।भान्साघरमा पसेँ खानेकुरा खान।छक्क लाग्यो खानेकुरा देख्दा।जे खान मन लागे नि भाइबुहारीले बाआमालाई पुर्याइदिएका रछन्।
खाना खाएर बाहिर निस्केँ।आज स्वास्नीको गालीबिना खाना खाको कस्तो कस्तो लाग्यो।निकैबेर बसेपछि नि कुरा शुरु गर्ने ठाँउ नै पाइन।यत्तिकैमा बाले भन्नुभो।ठुले(परिवार कसरी पालेको छस्?कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दैछ ।जोगिएर बस्नु।तँ त स्वास्नीको वचन काट्न नसक्ने मान्छे अब कसरी हामीले लाको सुन फुत्काएर लान्छस् छोरा ? तेरी भाइबुहारीले हामीलाई सरकारले दिएको बृध्द भत्ता जम्मा गरेर जोडिदिएको सम्पत्ति हो यो हाम्रो ।आजै फिर्नु छ भन्दैछस्।स्वास्नीको मक्सद पूरा गर्न घर आको कुरा अघि फोनबाट थाहा भैगो।अब राम्ररी जा…अघि हामीलाई भनेर तैँले ल्याको मिस्री पनि झोलामा हाल्।भरे बाटोमा कैँडा लागेको बेला खानु।पछि हामी बितेपछी हामीले लगाको सुन लिन आउनु।जा छोरा बाटो लामो छ।भाइबुहारी आइपुगेकै थिएनन् ,बाको बचनले अनुहार रातो बनाउँदै बिदा नमागी कुलेलम ठोकेँ।



























