झापा।

मोरङको विराटनरका एक व्यवसायीको मोबाइलमा अपरिचित व्यक्तिले फोन गरे र भने रकम नदिए गोली हान्दिछौं । उनको सातो गयो, तर लगत्तै उनले प्रहरीमा जानकारी गराए र नम्बर समेत दिए ।
यस्तै मोरङका अन्य केही व्यवसायीलाई पनि फोनमार्फत फिरौती माग्ने र नदिए घर अगाडि हवाई फायर गर्ने धम्कीमा फोन आएको गुनासो प्रहरीमा बढ्न थालेसँगै प्रहरीले अनुसन्धानलाई अघि बढायो । सोही क्रममा प्रहरीले संगठित गिरोह नै सक्रिय रहेको निष्कर्ष निकाल्यो । त्यसविरुद्ध अप्रेशन शुरु गरेको मोरङ प्रहरी हातहतियारसहितको संगठित अपराधिक समूह बनाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा पाँचजनालाई पक्राउ गर्न सफल भयो ।
पीडितको गुनासोका आधारमा प्रहरीले शुरु गरेको अनुसन्धानमा बिराटनगर र कटहरीका पाँचजनालाई हतियारसहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा एकजना भारतीय नागरिक र चारजना नेपाली छन् । प्रहरीले कटहरी–२ आदर्शनगरका एलेक्स भन्ने रवीन शर्मालाई घरैबाट एकथान पेस्तोलसहित पक्राउ गरेपछि उनकै बयानका आधारमा थप चारजनालाई पक्राउ गरेको हो ।
त्यसक्रममा प्रहरीले भारत सीतामणि घर भई विराटनगर जलजला मोडको चाइना बजारमा कामदारको रुपमा रहेका २७ वर्षीय राजु साह, कटहरी–२का किसन साह, अभिषेक राय, सप्तरी बोदेबर्साइनका नन्दु भनिने नन्दकिशोर साहलाई पक्राउ गरेर बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
उनीहरुमध्ये भारतीय नागरिक राजुलाई रेम्बो गल्लीबाट, किसनलाई देवकोटा चौकबाट, अभिषेकलाई विराटनगर–३मा बस्दै आएका नन्दकिशोरको कोठाबाट नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । उनीहरुको समूहले संगठित रुपमा व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाउँदै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताए । पक्राउ परेका पाँचैजनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
विराटनगरमा चोरी तथा लुटपाटमा समेत यो समूह संलग्न रहेको प्रहरी उपरीक्षक खड्काको दावी छ । पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरुका साथबाट ९७ हजार १२० रुपैँया बरामद गरेको छ । जसमध्ये नन्दकिशोरको विराटनगर–३ डेराबाट भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० र नेपाली रुपैयाँ नौ हजार बरामद गरेको छ ।
यसैगरी उनीहरुबाट अटोमेटिक पेस्तोलसहित तीन थान गोली, विभिन्न कम्पनीका १६ थान मोवाइल, भारतीय बैंकको चेक, तीनथान मोटरसाइकल र चक्कु बरामद भएको छ । प्रहरीले उनीहरुको को३२प ७५२५ नम्बरको यमाहा, को१५प २३१५ नम्बरको पल्सर र को३६प २७२० नम्बरको ड्युक मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
उनीहरुको अहिलेसम्म ५० वटा घटनामा संलग्न रहेको प्रहरीको दावी छ । उनीहरुले २०७७ असार २५ गते ९८४०४१८२३० नम्बरबाट बिराटनगरका एक व्यापारीको मोवाइलमा म्यासेज गरी १० लाख माग गरेर बार्गेनिङपछि पाँच लाख रुपैँया लिएको खुलेको छ । यसैगरी २०७७ साउन १३ गते ९८४०४१८२३० नम्बरबाट अर्का व्यापारीलाई फोन गरी विभिन्न किसिमका धम्की दिँदै दश लाख रुपैयाँ माग गरेका थिए ।
२०७७ भदौ १५ गते चाइना बजारका सञ्चालक राम नरेश साहको घर फोरी नगद ११ लाख रुपैयाँ चोरी गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुबिरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराधमा अनुसन्धान कारवाही अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । मोरङमा आपराधिक गतिविधि बढेको भन्दै प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको जनाइएको छ ।































