रकम भुक्तानीका लागि धाउँदा धाउँदै अध्यक्षको मृत्यु: नगरपालिकाद्वारा राजवंशी परिवारलाई पाँचलाख क्षतिपूर्ति – भिडियो सहित

0
673

झापा, वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनबीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।
गौरादह नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटक – पटक नगरपालिका धाएपनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा अध्यक्ष राजवंशी नगरपालिकाको मूल गेटमै गत वर्ष असोज १२ गते बेहोस भएर ढलेका थिए ।
रकम भुक्तानीका लागि नगरपालिका पुगेका राजवंशी नगरपालिकामा नै बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । अध्यक्ष राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले नगरपालिकाले समयमा रकम भुक्तानी नदिएका कारण उनको मृत्यु भएको भन्दै नगरपालिकामा तोडफोड गरेका थिए ।
गौरादह नगरपालिका ८ भुडिसिमल निवासी ५८ वर्षीय राजवंशीको अध्यक्षतामा गठिन उपभोक्ता समितिले टहरा निर्माण गरेको थियो । टहरा निर्माणका लागि नगरपालिकाले तीन लाख रूपैयाँ बजेट छुट्याएको थियो । सोही रकमबाट राजवंशीकै अध्यक्षतामा टहरा निर्माण भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ को वजेटबाट टहरा निर्माण भएको हो । टहरा निर्माण सम्पन्न भएपछि सो समितिले असारको २५ गते वार्ड सिफारिस, अनुगमन समितिको कार्य सम्पन्न गरेको प्रतिवेदन सहित नगरपालिकाको प्राविधिक शाखामा रकम भुक्तानीका लागि फाइल पेश गरेको थिए ।
तर, प्राविधिक शाखाले फयल जिम्मा बुझेरपनि लामो समयसम्म रकम भुक्तानीका लागि सिफारिस नगरेपछि राजवंशी गत असोज १२ गते कार्यालयमा नै बेहोस भएर ढलेका थिए । राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले दुई दिनसम्म शव कार्यालयमा नै राखेर नगरपालिका घेराउ गर्दै इन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।
सामाजिक काम गर्दा गर्दै राजवंशीको मृत्यु भएको भन्दै नगरपालिकाले ११ महिनापछि मृतकका परिवारसंग क्षमा याचनासहित उनको परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ती दिएको छ । सोमवार नगरपालिकामा मृतककी श्रीमती पार्वती राजवंशीलाई नगरपालिका प्रमुख रोहितकुमार साह र उपप्रमुख गीतादेवी भेटवालले पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
परिवारको भरणपोषणका लागि भन्दै नगरपालिकाले रावजंशी परिवारलाई पाँचलाख रुपैयाँ प्रदान गरेको हो । सामाजिक अभियन्ताको सामाजिक काम गर्ने क्रममा निधन भएको भन्दै नगरकै सामाजिक अभियन्ताको रुपमा सम्मान दिने निर्णय गर्दै इन्जिनियर क्षेत्रीलाई बर्खास्त गरेपछि विवाद साम्य भएको थियो ।

भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here