झापा,
केही वर्ष अघिदेखि झापाका विभिन्न स्थानमा उपचार सहयोग संकलनको अभियान चलाउँदै आएका भूपाल बस्नेत आज अतिथि सदनमा आयोजित आफ्नै कार्यक्रममा प्रसंसाको पात्र बने ।

गंगामाया तथा नरवहादुर वस्नेतका छोरा भूपालले बुवा आमाको क्यान्सर लागेर निधन भएपछि अरु त्यस्ता पीडितहरुले उपचार अभावमा मर्न नपरोस् भनी प्रतिष्ठान गठन गरेका थिए । सो प्रतिष्ठानले आजसम्म सहयोग गर्ने विभिन्न व्यक्रि तथा संस्थाहरुलाई कदर पत्र प्रदान गर्दै स्वागत तथा सम्मान कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित स्वगत तथा सम्मान कार्यक्रममा भूपाललाई अत्यन्त पुण्य कार्य गरेकोमा प्रशंसा गर्दै बलियो मान्छेले मात्र गर्न सक्ने काममा हात हालेकोमा सराहना व्यक्त गरे । उनले यस्तो सामाजिक काममा जीवन समर्पण गर्न जो कोही तयार हुँदैन भन्दै यो कार्यक्रमबाट समाज र राजनीतिक क्षेत्रले पनि भूपालको थप पहिचान स्थापित गरिदिएको बताए ।

ठट्यौलो पारामा दाताले उपहार स्वरुप दिएको मोटरसाइकल कुदाउँदा ध्यान दिन भूपाल बस्नेतलाई आग्रह गर्दै कांग्रेस नेता सिटौलाले तपाई नै लड्नुभयो भने यी तमाम आसातित मानिसहरुलाई सेवा गर्ने शरीर सक्षम राख्न प्रोत्साहन गरे ।
कार्यक्रममा तत्कालीन संविधान सभाका सदस्य सुधीर कुमार सिवाकोटीले क्यान्सर र मिर्गौला पीडितहरुको उपचारका लागि चन्दा संकलन गर्नु र अस्पताल अस्पताल कुदेर रोगीहरुको सेवा गर्नु जस्तो महान कार्य समाज सेवाको ठूलै रुप भएको बताए । सो कार्यक्रमलाई नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरे, प्रदेश सांसद ओमप्रकाश सरावगी, नेकपा जिल्ला सदस्य शिव ढुङ्गेल, बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष कुमार भट्टराई, अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, बीएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिश गिरी लगायतले संस्थाको प्रगतिको कामना गरेका थिए ।
संस्थाका अध्यक्ष वस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको काममा सहयोग पुगोस् भनेर सूर्याेदयन गरपालिका इलामका मनोज प्रसाद पोखरेलले तीन लाख रुपैयाँ मूल्य वरावरको अपाचे १६० सीसी मोटरसाइकल हस्तान्तर गरेका छन् ।
त्यस्तै बीएण्डसी अस्पतालका सूचना अधिकारी गिरीले सहयोग संस्थालाई २५ हजार रुपैयाँ , अन्तराष्टिय झापाली समाजका उपाध्यक्ष पोखरेलले ५ हजार ५१ रुपैयाँ, विर्तामोड उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष भट्टराईले ११ हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
उक्त संस्थाको कार्य क्षेत्र विस्तार भएसंगै २१ सदस्यीय कार्य समिति बनाएर कार्य विभाजन समेत गरिएको छ । संस्थाको अध्यक्षमा बस्नेत, उपाध्यक्ष गोविन्द विक्रम गिरी, सचिव विजयकुमार काफ्ले, कोषाध्यक्ष गौरीमाया चिमरिया रहेका छन् । त्यस्तै सदस्यमा ईश्वर खत्री, कुमार याक्सो, लखन हेमरम, मंगलसिंह राजवंशी, कुमार प्रसाद सिटौला, राजुमाया लुइँटेल , भानुभक्त प्रसाई,नवीन पोखरेल, निर्मला राई, सुजन भण्डारी,रवीन कार्की, टीका ढकाल, सावित्रा सिवाकोटी, शीला घिमिरे, चन्द्रमणि पौडेल, र वुद्धिराज मावो छन् ।





























