झन् सतर्कताको खाँचो

0
769

बन्द भएको छ महिनापछि अर्थात् आज असोज १ गतेदेखि सार्वजनिक सवारीहरु सुचारु हुने भएका छन् । इतिहासमै पहिलोपटक विपत्तिका कारण यति लामो बन्द भएको अवस्थाले आफूहरुको व्यवसायिक जीवन धराशायी भएको भन्दै यातायात व्यवसायीहरुले आजदेखि जसरी पनि सवारी सञ्चालन गर्ने बताएका थिए । सार्वजनिक सवारीका सञ्चालकहरुले आफू सम्बद्ध संघ–संस्थामार्फत असोज १ गतेदेखि सुरक्षा मापदण्ड अपनाएर सवारी गुडाउने अवस्था बनाइदिन सरकारसँग माग पनि गरेका थिए । लामो समयको बन्दाबन्दीले सार्वजनिक सवारी धनी, सवारीमा कार्यरत लाखौं मजदुर तथा तिनका आश्रित परिवार आर्थिकका साथै भोकबाट समेत आक्रान्त भइसकेका थिए । चौतर्फी दवाव एकातिर भने अर्कातिर ठप्प भएको आर्थिक गतिविधिलाई जीवन दिन आवागमन खुल्ला गर्नु सरकारका लागि बाध्यात्मक परिस्थिति थियो ।

कोरोना भाइरसको बिस्तारको सिक्री छिनाउन गरेको बन्दाबन्दीले व्यक्तिमात्र होइन देशकै आर्थिक जीवन पचास वर्षपछि धकेलिएको विज्ञहरुको भनाइ छ । तर, भाइरसको संक्रमण रोक्ने सर्वस्वीकृत यो उपायको विकल्प पनि थिएन । अनि यही विकल्पको पछि लाग्दा विपन्न वर्गका मानिसको भान्साको ढोका बन्द हुन पुग्यो । महामारीले जीवन लिने एउटा अवस्था र भोकमरीले ज्यान लिने अर्को अवस्थाको चेपुवामा रहेको सरकारले दुबैलाई सन्तुलनमा राख्न उल्लेख्य योजना र कार्यक्रम पनि ल्याउन सकेन । त्यसकै परिणाम रोगको डरले स्वदेश फर्किएका हजारौं नेपाली जोखिम मोलेर महामारीकै बीच फेरि पलायन भए । संक्रमणको डरले घर आएका नेपाली भोकको डरले फेरि जोखिम बोक्न तयार हुनु राज्यको असफलताको उदाहरण हो । स्वेदश मै रोजगारीको सृजना गर्ने र विदेशिएका युवालाई स्वदेशमै रोजगार बनाउने सरकारको बोली–बोलीमै सीमित भएको यसले देखाएको छ ।

भाइरसका कारण उत्पन्न जटिलता आजको भोलि समाप्त हुँदैन यो विगतले प्रमाणित गरेको सत्य हो । तर, महामारीले उत्पन्न गर्ने शोक र वेरोजगारीले उत्पन्न गर्ने भोकका बीचको ठूलो अन्तरले मानिसलाई ‘जे होला–होला’ को स्थितिमा पु¥याएको छ । कोरोना भाइरस त्यस्तै विपत्तिका रुपमा आयो कि यो तत्काल समन हुने अवस्थामा छैन । त्यसैले यसैसँग रहेर, लड्दै–भिड्दै बाँच्न संघर्ष गर्नुपर्ने स्थिति आजको यथार्थ हो । त्यही कारण सरकारले लामो दूरीका सार्वजनिक सवारीहरु, आन्तरिक हवाई सेवा पनि सुचारु गर्ने निर्णय गरेको हुनसक्छ । यस्तो अवस्थामा संक्रमणको जोखिम अझै उच्च हुनसक्छ । त्यसैले अब स्वास्थ्य सावधानी अपनाउन स्वयम्को चेतना जाग्नु पर्दछ । व्यवसायी हुन् वा कर्मचारी, ग्राहक वा विक्रेता, यात्रु अथवा सञ्चालक सबै सबैले जनसुरक्षाको मापदण्डको इमान्दार पालना गर्नु नै कोरोना संक्रमणलाई परास्त गर्ने उपचार हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here