निजी शिक्षकका समस्या

0
823

जनम राई,

शिक्षक र मनैबत्ती एकै हुन् । मैनबत्तीले जस्तै शिक्षकले पनि आफूलाई अन्धकारमा राखी अरुलाई ज्ञानको प्रकाश छर्ने कार्य गर्दछन् । यो भनाई शैक्षिक क्षेत्रमा जति प्रचलित छ, त्यति नै वास्तविक पनि यस भनाईलाई निजी शिक्षकको आँखीझ्यालबाट चिहाउने हो भने त अवस्था अरु दयनीय रहेको छ । सरकारी पक्षबाट सधैँ उपेक्षामा परेको क्षेत्र भनेर किटान गर्दा पक्कै पनि फरक नहोला ।

नेपालमा आठ हजारभन्दा बढी निजी विद्यालय सञ्चालनमा छन् र एक लाखभन्दा बढी शिक्षकहरु त्यसमा आफ्नो अमूल्य समय खर्चेर अध्यापन गराउने गर्दछन् । तिनै शिक्षकहरुको कडा परिश्रमकै बाबजुत एसईई लगायतका परीक्षामा विद्यार्थीहरुले उत्कृष्ट नजिता पाउने सफल भइरहेका छन् । समग्रमाभन्दा निजी शिक्षकहरुको नेपाली शैक्षिक जगतमा अतुलनीय योगदान रहेको छ । यति धेरै योगदान पु¥याउँदै आएता पनि सरकारद्वारा किन उपेक्षा गरिन्छ भनेर सधँै प्रश्नचिन्ह उठ्ने गरेको पाइन्छ । विगतदेखि नै निजी विद्यालयमा कार्यरत् शिक्षकहरु विभिन्न समस्यासँग पौठेजोरी खेल्दै र जुध्दै कार्य गर्न बाध्य भएका थिए र छन् ।

आज एकातिर कोरोना कहर छ, विश्व कोरोनाले त्रसित÷ग्रसित छ भने अर्कोतिर निजी शिक्षकहरुको अवस्था अझै भयावह हुन पुगेको छ । वर्तमान अवस्थामा समस्याहरु चाङ लागेर बसेका छन् । तर पनि निजी शिक्षकहरु सहाराहीन र आशाहीन भएर बस्नुको विकल्प छैन । आजको दिनमा निजी शिक्षकहरुको सबैभन्दा प्रमुख समस्या भनेको चरम आर्थिक संकट हो । विगत पाँच÷सात महिनादेखि प्रत्येक महिना विद्यालयबाट बुझी लिने तलब पनि आउन बन्द भएको तीतो यथार्थ हामी समक्ष रहेको छ । तलब आउनेक्रम पूर्णरुपमा बन्द भएपश्चात खर्च व्यवस्थापन र जीवनयापन गर्न निकै सकस पर्ने स्थिती आएको छ । अझ राजधानीमा अध्यापन गराउने निजी शिक्षकहरुमा त ठूलो आर्थिक भार आइपरेको छ ।

धेरै शिक्षकहरु राजधानीबाट गाउँमा आएका छन्, त कोही राजधानीको कोठामै सिमित हुन बाध्य भएका छन्, यस विकराल परिस्थितीमा कोठाको भाडाले आकाश छोइसकेको छ । पैसा आउने बाटो पनि बन्द भएको छ भने सामान्य जीवनयापनका निम्ती आवश्यक चामल र तरकारी व्यवस्थापन गर्नका लागि पनि हम्मे–हम्मे परिरहेको अवस्था छ । यस संकटको दुश्चक्रमा फँसिरहेको समयमा प्रत्येक दिन घरबेटीले सोध्दै गर्ने, फोन कलले आजित भएका छन् । (घरभाडा, घर खर्च र अन्य खर्चलाई स्मरण गर्दा त सोच्ने शक्ति नै क्षीण हुन्छ भन्छन् राजधानीको एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षक) यस कोरोनाको घडीमा निजी शिक्षकमा आइपरेको चरम आर्थिक संकट र यसलाई व्यवस्थापन गर्नको निमित्त भोग्नु परिरहेको कठिन परिदृष्यहरु यथार्थ हुन् र छन् ।

आर्थिक संकटका कारण बिस्तारै शिक्षकहरुमा मानसिक तनाव उत्पन्न हुन थालेको छ । अहिले वेरोजगार भएर बसेका शिक्षकहरु यस खाली समयमा धेरै सोचमग्न बनेका छन् । आफ्ना विभिन्न समस्याहरुलाई सम्झँदा मस्तिष्कमा अनावश्यकरुपमा नकरात्मक सोच उब्जने गर्दछ र अहिले धेरै शिक्षकहरु यस नकारात्मक सोचको सिकार भएका छन् । यो अनुत्पादक समय र मानसिक तनावको असरले आफू विस्तारै विभिन्न कुलत तथा मोबाइल गेम्सहरु तर्फ आकर्षित भएको अनुभव सुनाउँछन् र केही शिक्षकहरु त ती कुराहरुमा फसी सकेको दृष्यान्त पनि हाम्रै अगाडि रहेको छ । निजी शिक्षकले यस प्रकारका समस्याहरुबाट मुक्त हुन व्यक्तिगतरुपमा विभिन्न प्रयत्न पनि नगरेका होइनन्, उनीहरुले कृषि लगायत अन्य उत्पादक क्षेत्रहरुमा हात हाले पनि कोरोना प्रभावका कारण प्रतिफल प्राप्त गर्न नसकेपश्चात निराश हुन बाध्य हुनु परेको छ ।

आर्थिक र मानसिक तनावबाट गुज्रिरहेको अवस्थामा निजी शिक्षकहरुले सामाजिक स्तरबाट समन्वय सहकार्य सहयोगको झिनो आशा राखेका थिए । तर, शिक्षकहरुको आकांक्षा विपरीत सामाजिक स्तरबाटै विभिन्न कटाक्ष र तिखो व्यंग्यको सामना गर्न थालेको छन् । कुनै पनि काम ठूलो, सानो हुँदैन, मानिसले आत्मसम्मानका साथ परिश्रम गर्नुपर्दछ भनेर ज्ञान बाँड्ने शिक्षकलाई आज सामाजिक दृष्टिबाट हेर्दा सानो देखिने त्यही काम गर्दा शिक्षक भएर यस्तो काम गर्ने भन्दै ? अवमूल्यांकन गर्न थालिएको छ । अझ समाजका स्वघोषित विज्ञहरुले निजी शिक्षकहरुलाई न त विद्यालय न त सरकाले हेरेको छ भन्दै कृतिम दया देखाउन थालेका छन् । अदृष्यरुपमा व्यंग्यको पात्रको रुपमा उभ्याउन थालिएको छ । हुन त यो तीतो व्यंग्यभित्र तीतो यथार्थ पनि झल्एिको छ । सरकारले निजी शिक्षकको समस्याको संशोधन त के यसतर्फ ध्यानाकर्षण समेत गरेको छैन । त्यसमाथि निजी विद्यालयले त आफ्ना शिक्षकहरुलाई जागिरबाट निष्काशन गरिएको सूचना जारी गर्दै आफ्नो गैरजिम्मेवारीपनलाई उदाङ्गो पारेको छ । निजी शिक्षकहरुकै भाषामा भन्ने हो भने विद्यालयको यो कदम शिक्षकहरुको घाउमा नुन छर्ने कार्य हो ।

यी यस्ता समस्या तथा तनावका बाबजुत पनि निजी शिक्षकको आफ्नो विद्यालय, विद्यार्थी र पुस्तकप्रतिको प्रेम कत्ति पनि कम भएको छैन । कोरोना संक्रमण निर्मूल भएसँगै विद्यालय फर्कन तयार भएर बसेका छन् । कालो बादलभित्र चाँदीको धर्सा भने झैं कोरोना कहर र निजी शिक्षकको समस्या छिट्टै निर्मूल हुने आशा व्यक्त गर्दछन् । समस्याले समाधान पनि सँगै लिएर आएको हुन्छ ।

त्यसैले सर्वप्रथम सरकारद्वारा निजी शिक्षकहरुको समस्या तर्फ ध्यानाकर्षण गर्न नितान्त आवश्यक रहेको छ । निजी शिक्षकहरुले ठूलो आर्थिक समस्या झेल्नु परिरहेको अवस्थामा सरकारद्वारा ठूलो आर्थिक प्याकेज ल्याउनु आवश्यक देखिन्छ । त्यस आर्थिक प्याकेजद्वारा शिक्षकहरुको आर्थिक समस्याको सजिलै समाधान गर्न सकिनेछ र यस समस्याको समाधान सँगसँगै शिक्षकहरुमा आएको मानसिक तनाव, नैराश्यता, नकरात्मक सोच र कुलतको प्रभाव बिस्तारै कम हँुदै जाने निश्चय रहेको छ । कोरोना प्रभावको रोकथामको निमित्त पनि वेरोजगार अवस्थामा रहेको निजी शिक्षकहरुलाई दैनिक भत्ताको व्यवस्था गरी परिचालन गर्न सकिन्छ । अर्कोतर्फ नीजी विद्यालयले पनि यस विषम् परिस्थितीको सामना गरिरहेका आफ्ना शिक्षकहरुलाई तलबको व्यवस्था गर्दै उनीहरुको घाउमा मल्हमपट्टी लगाउन आवश्यक रहेको छ । सामाजिक स्तरबाट पनि शिक्षकहरुलाई समन्वय र सहयोग दिनु पर्दछ । जसकारण राजधानीबाट गाउँ आएर बसेका निजी शिक्षकहरुलाई समाजसँग समन्वय गर्दै व्यक्तिगत तबरबाट गरिने प्रयासहरुलाई सफल तुल्याउन अझ सहज हुनेछ । निजी शिक्षकहरु बौद्धिक र प्राज्ञिक वर्ग हुन् । त्यसैले उनीहरुको समस्यालाई यथाशीघ्र सम्बोधन गर्नुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here