बिर्तामोड,
झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत दुई जना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त भएका सबै स्वास्थ्यकर्मीलाई अस्पतालले सम्मान गर्दै काममा फर्कन भनेको छ ।

सोमवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै संक्रमण मुक्त भएका चिकित्सकलाई सम्मान गर्दै सबैलाई काममा फर्कन आग्रह गरिएको छ । भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैजनालाई अस्पताल प्रशासनले आफ्नै आइसोलेशनमा राखेर उपचार गरेको थियो ।

कोरोना संक्रमण मुक्त भएका सबैलाई अस्पतालले आज डिस्चार्ज गरेको छ । त्यसअघि कोरोनामुक्त भएका चिकित्सक र स्वास्थ्यकर्मीलाई फूलगुच्छा तथा खादा पहि¥याउँदै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उच्च मनोवलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका गर्नुभएको छ ।

अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले सहजीकरण गरेको कार्यक्रममा कोरोना संक्रमणबाट मुक्त भएका बिएण्डसीका डाक्टर राजेश रायाले १५ दिनको अस्पताल बसाइमा कोही कसैलाई सामान्य ज्वरोभन्दा बढी केही नभएको जानकारी गराउनुभयो । ‘सबैजना अस्पतालले अलग्गै बनाएको आइसोलेशनमा बस्यौं, कसैकसैले ज्वरोको एक दुई ट्याब्लेट खायौं । तर अरु कुनै समस्या नभएकाले उपचारको अन्य विधि अपनाउनै परेन’ डा. रायाले भन्नुभयो ।
कोभिड संक्रमितको उपचारमा संलग्न फिजिसियन डाक्टर लक्ष्मण ठाकुरले भन्नुभयो – ‘उहाँहरु कसैमा कुनै लक्षण नै देखिएन । फेरि पनि सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पूरा गरेर उहाँहरुलाई अलग्गै आइसोलेशनमा राखियो र आज उहाँहरु कोरोनामुक्त भएपछि सबैलाई डिस्चार्ज गरिएको हो ।’कोरोना संक्रमित चिकित्सक सहित १२ जनानै अस्पतालबाट डिस्चार्ज भएपछि अस्पताल सुरक्षित रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
(श्रब्यदृष्य)




























