अमित खम्बू /अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्याको अस्पतालमा स्तरोन्नती भएको छ ।
स्तरोन्नती भएको अस्पतालको बुधबार एक कार्यक्रमकोबीच प्रदेश नं. १का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
२०५४ सालमा साविक शनिश्चरे–२(हाल अर्जुनधारा–८) मा घर भाडामा लिई उपस्वास्थ्य चौकीकोरुपमा स्थापना भई सेवा सुरु गरेको चौकीलाई तत्कालिन नेपाल सरकारको ‘एक निर्वाचन क्षेत्र एक प्राथमिक स्वास्थ्य केन्द्र’ बनाउने निर्णय अनुसार २०५९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नती गरिएको थियो ।

इलामको नाम्सालीङ निवासी अविनारायण ढकाल, हृदयकुमारी ढकाल, मनकुमारी ढकाल, धर्मप्रसाद ढकाल, हरिप्रसाद ढकाल र चन्द्रप्रसाद ढकालको स्मृतिमा स्थानीय ढकाल परिवारबाट १० कठ्ठा १० धुर जग्गा निःशुल्क प्रदान भएपछि शहरी विकास तथा भवन निर्माण विभाग शहरी डिभिजन कार्यालय इलामको दुई करोड ५० लाखको लागतमा उक्त केन्द्रको भवन निर्माण भएको थियो ।
नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई देशकै नमूनाकोरुपमा सञ्चालन गर्न सफल उक्त केन्द्रमा जिल्लाको अर्जुनधारासँगै बिर्तामोड, बुद्धशान्ति र छिमेकी जिल्ला इलामका माई, सूर्योदय र रोङका स्थानीय वासिन्दाहरु सेवा लिन आउने गरेको केन्द्रका मेडिकल अफिसर डा.रविन्द्र ओलीले जानकारी दिए ।
हाल ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुती सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, ल्याब सेवा, फार्मेसी सेवा, बीमा सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन भइरहेको केन्द्र अस्पतालमा स्तरोन्नती भएसँगै विशेषज्ञ चिकित्सकसहितको इनडोर सेवा पनि सुरु हुने बताइएको छ । त्यसको लागि अस्पतालका विभिन्न तह र फाँटमा आवश्यक दरबन्दी यथाशीघ्र परिपूर्ती गर्न मेडिकल अफिसर ओलीले उपस्थित मन्त्रीहरुसँग माग गरेका थिए ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार ओपिडी र ल्याब सेवासहित दैनिक तीन सय देखि चार सय ५० जनाले सेवा लिने गरेको उक्त केन्द्रमा गत आर्थिक वर्षमा ८७ हजार ९८५ जनाले सेवा लिएका छन् । चाँडै थाइरोडको पनि परीक्षण गर्न टीएफटी स्क्रीनिङ सेवा सुरु हुने सो केन्द्र अस्पतालमा स्तरोन्नती भएकोमा स्थानीयहरु हर्षित भएका छन् ।
सोही कार्यक्रमको अवसरमा नगरमा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण गर्न प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने १७ जनालाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देल, उद्योगी नविन गट्टानी, योग प्रशिक्षक रमेश पोखरेल, सामाजिक अभियन्ता कमल पोखरेललगायत रहेका छन् ।
वडाध्यक्ष एवम् केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पुष्पकुमार प्रसाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री गजमेर, प्रदेश सांसद् वृख प्रधान, नगर प्रमुख हरिकुमार राना, जग्गादाताको तर्फबाट पूर्व वन राज्यमन्त्री वीरमणी ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समितिका उपाध्यक्ष रामप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले गरेका थिए । यसैबीच सोही दिन मन्त्री घिमिरेको सहभागितामा नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, प्याब्सनका प्रतिनिधि, संघ– संगठनका प्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।






























