मेरो कविताको शिर्षक आफैँ राखिदिनु ल !

0
1248

नारायण कडरिया,

राति अबेरसम्म निद्रै परेन,
कोठामा एक्लै छु,
तर एक्लोपन महशुस भएकै छैन ।
मेरो लोकन्थलि डेराको एउटा कुना
सिङ्गै काठमाडौं अटाएको देख्दछु ।
निक्कै मलिन मुद्रामा
भोलि विदेश हिँड्न लागेको प्रेमिलाई
बिदाई गर्न सकस भएकि प्रेमिका जस्तै गरि १

सुवस केसी र बसन्त थापाको गीत मनभित्र गुञ्जिन्छ
बामरि बामरि म भोलि गैहाल्छु बसे रामरि १
म ढुक्क छु म नहुनुले काठमाडौंलाई रत्तिभर फरक पर्दैन ।

म विश्वस्त छु, म हुनुले मेरो बाहुण्डाँगीलाई चाँहि फरक पर्छ

बुढ्यौलिले थला पर्न लागेका मेरा बडाबा बडआमालाई,
जिन्दगीभर खेतीपाती, थलोभकारो गरेका मेरा दाजुभाईलाई,
जतिसुकै मिहेनत गरेर पनि जस नपाएका मेरा भाउजुहरुलाई
कक्षा १० सम्म पुगेर पढाई छोडेका मेरा भतिजा भतिजीहरुलाई
तल विर्तामोड आएर आत्मविश्वासका साथ बोल्न नसक्ने मेरा गाउँलेहरुलाई
थोरै सहि तर फरक अवश्य पर्दछ ।

अनि सबैभन्दा धेरै फरक पर्दछ
ढाडक‍ो हड्डीको दुखाइले
पिर्कामा बसेर भाँडा माझ्न नसक्ने मेरि आमालाई !
३ बिसेक कटेर पनि हलो कोदालो गरिरहेका
मेरा बुवालाई ।

३ दाशकको छिप्पिएको मगजहुँदासम्म पनि
बुवासँग मेरो बन्दै बनेन
बुवाको पहराजस्तो अडान
म खहरेजस्तो वेगवान
स्मृतिमा फर्किएर हेर्छु
बुवा चट्टानजस्तो भएर ममाथि ओत नलागिदिएको भए
यो संसारमा आईपर्ने सबै सबै प्रहारहरु
हाँसीहाँसी आफ्नो छातिमा नलिईदेको भए
म सायद, विरुवामै निमोठिईने थिएँ

आज ३२ बर्षमा आएर बुवालाई धन्यवाद भन्न सिकेको छु
बुवाप्रति कृतज्ञ हुन सिकेको छु ।
बुवालाई साथी बनाउने प्रण गरेको छु ।
सबभन्दा मिल्ने साथी ।

१२ बर्षको १ जुगमा मैले काठमाडौंलाई कति दुखाए
मलाई काठमाडौंले कति रूवायो
यि सब गौँण कुराहरु हुन्
दुखाउने रुवाउने भनेकै मनभित्र बसेकाहरुले न हो ।

मैले दिएको दुखाइमा न्यानो श्पर्श गर्दै मल्हम लगाउँन
पशुपति मृगस्थलिमा काठमाडौंसँग छाँद हालेर रुन
काठमाडौं टेकेको पहिलो दिन हँसिलो मुहार पारेर
संसार जित्ने आशिर्वाद दिने मेरी घतानी आमालाई सुम्सुम्याउन,
पुतलीसडकमा भका मेरा एकजोडि बाआमा
शम्भु अंकल र आण्टिले पकाएको चिया पिउन,
अनामनगरमा पराजुली मामाले पकाएको रसिलो मासुभात खान,
मण्डला नाटकघरमा उर्जावान नयाँ पुस्ताले गर्ने नाटकहरु हेर्न,
कञ्चनपुरमा निर्मलाहरुमाथी हिंसा हुँदा, धादिङमा लक्ष्मी परियारहरु मारिईदा,
सोतिमा नवराज विकहरुलाई प्रेम शहिद बनाईँदै गर्दा
काँकडभिट्टाबाट नाईट चढेर हररर काठमाडौं आईनैहाल्नेछु
यौटा प्लेकार्ड बोकेर माईतिघरमा एक्लै उभिईन, १ घण्टा धर्ना दिन
माटो बनाईएका आवाजविहिनहरुलाई बुलन्द आवाज दिन
म काठमाडौं आईरहनेछु, धाईरहनेछु ।

कहिले राष्ट्रिय प्रहरी प्रतिष्ठानमा तालिमरत
सुर्यजस्तो तेज र चट्टानजस्तो छाति बोकेर
देशको सेवा गर्ने संकल्प गरेर प्रहरी भएका भाईबहिनीहरुलाई
मैले देखेभोगेको समाजको जटिलता बुझाउन, उनिहरुका सुन्दर सपना सुन्न पनि म काठमाडौं आईरहन्छु, धाईरहन्छु

मेरा गाउँलेहरुको मिहिनेतले उब्जाएका सागसब्वी, मरिच बेसार, खोर्सानी तरकारी, सुपारी नरिवल उचित मुल्यमा शहरसँग
साटेर गाउँको समृद्धि किन्न पनि म काठमाडौं आईरहन्छु, धाईरहन्छु।
बाहुण्डाँगी, झापा, काठमाडौं, नेपाल सबै त मेरो हो नै,
अनि फेरि यि सबै त यो धर्तिका हुन्।
यसर्थ यो काठमाडौं मात्र होइन म त यो चराचर धर्तिलाई नै
अथाह प्रेम गर्छु ।
मेरो छातिभित्रको यो धर्तिप्रतिको प्रेम दर्शाउँन पनि
म काठमाडौं पटक पटक आईरहन्छु, धाईरहन्छु !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here