संकट टरेको छैन

0
675

परीक्षण दर घट्दै गएको झपामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । पछिल्लोपटक झापा गाउँपालिकाका ७८ वर्षीय व्यक्तिको मृत्यु भएपछि संक्रमणकै कारण मृत्यु हुने संख्या छ पुगेको छ । झण्डै तीस हजारको परीक्षण गर्ने क्षमता भएका ल्यावहरु भएता पनि औसत दश हजार मात्र परीक्षण गर्दै गरेको सरकारी तथ्यांकले पनि संक्रमण काबु बाहिर पुग्ने संकेत गरेको छ । त्यसै पनि संक्रमितहरुको तथ्यांकका आधारमा नेपाल विश्वमा उच्च संक्रमण भएको पचासौं देश भइसकेको छ । यसले नेपाल भाइरस संक्रमणको उच्च दरमा छ र मानवीय क्षतिको सम्भावना पनि उच्च छ भन्ने देखाउँछ । त्यसैले पनि हामी प्रत्येकले आफू र आफ्नो परिवारमा पर्न सक्ने स्वास्थ्य सम्बन्धी जोखिमको सम्बन्धमा सचेत हुनैपर्छ ।


‘नौलो–पौलो नौपुला गाँस’ जस्तै भएको छ कोरोना भाइरस हाम्रो अभिभावकका लागि । अर्थात् प्रारम्भिक कालमा बन्दाबन्दी जस्तो कठोर निर्णय गरेको सरकारले दिनहुँ हजारौं संक्रमित भइरहँदा स्वास्थ्यका मापदण्डको प्रभावकारी कार्यान्वयन नै गर्न छाडेको छ । क्वारेन्टिन रित्तिँदै घरमा सीमित हुन थालेपछि संक्रमणले समुदायमा प्रभाव विस्तार गर्दैछ । अझ लक्षण नदेखिँदासम्म पीसीआर परीक्षण नै नगर्ने सरकारको निर्णय र लक्षणरहित रोगको अवस्थाले मनोवैज्ञानिक रुपमै कोरोनाको त्रासले आम मानिसलाई रोगी बनाउँदैछ । यतिबेला मानिसको मृत्यु भएपछि मात्र सिल गर्ने, बन्दाबन्दी र परीक्षण गर्ने क्रम शुरु भएको छ । आगो लागीसकेपछि दमकल किन्ने योजनाले आगलागी पीडितलाई होइन दमकल किन्नेलाई मात्रै लाभ हुन्छ, यस्तै देखिन थालेको छ ।

राजधानी काठमाण्डौं लगायत प्रदेशका ठूला–शहर बजारहरुमा संक्रमण बढ्नेक्रममा छ । झापा पनि त्यसबाट अछुतो छैन । अहिलेसम्म झण्डै साढे आठ सय जना संक्रमणको चपेटामा परिसकेका छन् । ती मध्ये छ जनाले त ज्यानै गुमाउनु परेको छ । शुरुको केही हप्तासम्म सुशुप्त अवस्थामा रहने कोरोना भाइरस हाम्रो असावधानीले मृत्युको कारण बन्न सक्छ भन्न पनि नपाइन सक्छ । त्यसैले सम्भावित जोखिमप्रति सचेत हुन सिकौं, यसले मात्र आफू र आफ्नो परिवारको सुरक्षा हुन सक्छ । होइन र जीवन अरुकै लागि ठान्ने हो भने टाढाबाटै ‘राम’ भनिदिने पनि भेटिने छैनन् । आफ्ना अघिको संकटलाई अनुभूत गरौं, सचेत र सावधान रहौं । आफू बाचौं–अरुलाई पनि बचाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here