जसले राष्ट्रकवि घिमिरेको ५३ वर्ष पुरानो गीतलाई फेरि ‘हिट’ बनाए

0
1101

नारायण रायमाझीले १७ वर्षअघि कवि माधवप्रसाद घिमिरेले रचेको गीत आफ्नो संगीतमा रेकर्ड गरेका थिए।
रचना हो–

उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले
जान्दिनँ म एकैचोटि, के भो कुन्नि कहिले

घिमिरे २०२४ सालमा रचेको उक्त गीत २०६० सालमा जगदिश समाल र सपनाश्रीले गाउँदा धेरैले रूचाएका थिए। लोक-आधुनिक शैलीको संगीत कवि घिमिरेलाई पनि मन परेको थियो।

तर रायमाझीले गीतका तीन अन्तरामध्ये दुई अन्तरा मात्रै रेकर्ड गरेका थिए। त्यसैले कवि घिमिरे रायमाझीलाई बेलाबेला भन्थे रे– मेसो मिलाएर त्यो अर्को अन्तरा पनि रेकर्ड गराउनू है।

रायमाझी आफूले श्रद्धा गर्ने र आफूलाई माया गर्ने घिमिरेको इच्छा पूरा गर्न सही समयको पर्खाइमा थिए। त्यो समय कुर्दाकुर्दै गत भदौ २ मा कविवर घिमिरेको निधन भयो।

अनि, त्यो गीतको एउटा अन्तरा थपेर घिमिरेलाई सुनाउने रायमाझीको चाहना अपूरै रह्यो।

प्रत्यक्ष सुनाउन नपाए पनि उनले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण दिँदै उनको निधनपछि यो काम पूरा गरेका छन्।

पछिल्लो पटक थपिएको अन्तरा यस्तो छ–

बेनीघाटमा उनीसित भेट भयो अस्ति
आज लाग्छ सधैंभरि सँगै थिइन् जस्ती
उनको अर्पण पहिले हो कि मेरो अर्पण पहिले
जान्दिनँ म एकैचोटि के भो कुन्नि कहिले

रि-रेकर्डिङ गरिएको गीतलाई रायमाझी कवि घिमिरेसँगको आफ्नो सम्झना र सम्मानका रूपमा लिन्छन्।

रायमाझीले पुरानै लयमा नयाँ पुस्ताका गायक प्रवीण भेडवाल र रचना रिमालको स्वरमा गीत रेकर्ड गराएका हुन्। प्रवीण र रचना नेपाल आइडल सिजन ३ मा सहभागी भएका अहिलेको समयका चर्चित गायक हुन्।

प्रवीण नेपाल आइडलमा दोस्रो भएका थिए भने रचना उत्कृष्ट ८ बाट बाहिरिएकी थिइन्। रायमाझी भन्छन्, ‘यो गीत फेरि जगदिश र सपनाकै स्वरमा रेकर्ड गराउन मन थियो। तर उहाँहरू नेपालबाहिर भएकाले नयाँ पुस्ताका गायक रोजेँ।’

गीत सुहाउँदो आवाजको खोजीमा रोजेका दुई नयाँ पुस्ताका गायकबारे रायमाझी भन्छन्, ‘प्रवीण र रचना दुवै प्रतिभावान् भएकाले उनीहरूसँग काम गरेको हुँ।’

रायमाझीको छनोट अहिले सही सावित भएको छ। नयाँ गीतको छोटो समयमै युट्युबमा ३६ लाखमाथि भ्युज पुगिसकेको छ। हजारौं स्रोता-दर्शकले सकारात्मक प्रतिक्रिया दिएको गीतमा टिकटक बनाउनेको संख्या पनि प्रशस्तै छ। यो टिकटकमा भाइरलमध्येको गीत बनेको छ।

दुई फरक समयका दर्शक-स्रोताले मन पराएको गीतबारे रायमाझी भन्छन्, ‘पुरानै पुस्ताले मन पराएको गीत नयाँ पुस्ताका स्रोतालाई कस्तो लाग्ला भन्ने कताकता डर थियो। सबैले मन पराइँदिदा एकदमै खुसी छु।’

यो खुसीबीच उनलाई एउटै खेद छ- राष्ट्रकविलाई थपिएको अन्तरा पनि सुनाउन पाएको भए कति जाती हुन्थ्यो!

रायमाझी कवि घिमिरेलाई अत्यन्तै श्रद्धा गर्ने व्यक्तिका रूपमा सम्झन्छन्। घिमिरेसँग उनका रचनाबाट प्रभावित भएरै जोडिएको बताउँछन्।

‘उनको प्रीति’ गीतमा संगीत गर्ने प्रक्रिया भने उनका लागि सहज थिएन। ‘उहाँसँग परिचय पुरानै थियो। हिम्मत बटुलेर संगीत भर्ने कोसिस गर्छु भन्दा पनि एकै पटकमा अनुमति दिनुभएको थिएन,’ उनी सम्झन्छन्, ‘तर जब धुन भरेर आफ्नै स्वरमा सुनाएँ, उहाँले मन पराउनुभयो। उहाँको अनुमति र आशीर्वाद पाएको त्यो क्षण विशेष थियो।’

कवि घिमिरेले लोकलयमा भरिएको धुन मन पराउँदै भनेका रहेछन्, ‘तपाईंले मेरै गण्डक क्षेत्रको लोकलय आधार बनाएर संगीत भर्नुभएछ। मनपर्‍यो।’

त्यसपछि रायमाझी र घिमिरेबीच सम्बन्ध झांगियो। रायमाझीले घिमिरेका थप रचनामा संगीत भर्ने अवसर पाए।

उनी सुनाउँछन्, ‘उहाँको रचनामा हालसम्म मैले रेकर्ड गरेको गीत यही हो। तर उहाँको शब्दका दस-बाह्र वटा गीतमा संगीत भरेको छु, जुन रेकर्ड हुन बाँकी छन्।’

घिमिरेको चर्चित गीति नाटक ‘मालती मंगले’ मन पराउने रायमाझीले आफ्ना लागि त्यस्तै गीति नाटक लेखिदिन आग्रह समेत गरेका रहेछन्। घिमिरेले बरू आफ्नो ‘हिमालवारि हिमालपारि’ गीति नाटकमा संगीत भर्ने अनुमति दिएछन्।

रायमाझीका अनुसार, ‘हिमालवारि हिमालपारि’ को काम उनले सुरू गरे पनि अझै अपूरो छ। उनी विस्तारै ती गीत सार्वजनिक गर्दै जाने योजनामा छन्।

रायमाझी २०४२ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिन काठमाडौं आएयता निरन्तर गायक र संगीतकारका रुपमा सक्रिय सर्जक हुन्। हालसम्म चार सय बढी लोक-आधुनिक गीतमा संगीत र दर्जनौं लोकगीतमा स्वर दिएका छन्।

रीमा इन्टरटेनमेन्ट स्टुडियो सञ्चालन गर्ने उनले यही नामबाट युट्युब च्यानल खोलेका छन्। बबरमहलस्थित आफ्नै स्टुडियोमा रेकर्ड गराएको ‘उनको प्रीति’ गीत त्यही च्यानलमा अपलोड गरिएको हो।

यसबाहेक रायमाझी फिल्म निर्देशक, निर्माता तथा लेखक पनि हुन्। ‘परदेशी’, ‘गोरखा पल्टन’ जस्ता फिल्म निर्देशन तथा निर्माण गरेका उनी हाल ‘परदेशी-२’ को छायांकन स्थल छनोटमा व्यस्त छन्। प्रविधिमा पहुँच र सहजताले अहिले गीत रेकर्ड गर्न मात्रै नभई स्रोतासम्म पुग्न पनि सहज भएको उनी बताउँछन्।

रेडियो नेपाल, नेपाल टेलिभिजन, एफएम, क्यासेट, सिडी, डिभिडी, फेसबुक, युट्युब र टिकटकसम्मको अनुभव सँगालेका उनी भन्छन्, ‘पहिला एउटा रचना स्रोतासम्म पुग्न लामो समय लाग्थ्यो। अहिले रातारात लाखौं स्रोताले सुनेर तुरुन्तै प्रतिक्रिया दिन्छन्।’

‘उनको प्रीति’ बाट सोचेभन्दा धेरै र छिटो प्रतिक्रिया पाएका उनी थप्छन्, ‘अहिलेका गीत झ्याप्पै आउँछन्, झ्याप्पै हराउँछन्। हामी कलाकारमा धेरै सुविधाबीच राम्रा गीत-संगीत बनाउने चुनौती छ।’ १७ वर्षअघिको भन्दा नयाँ ‘उनको प्रीति’ लाई प्रविधि र गुणस्तरले राम्रो बनाएको उनले महशुस गरेका छन्।

अहिलेको प्रविधिले पहिलाजस्तो गीतहरू नयाँ पुस्तासँगै हराएर जाँदैन। यही गुण उपयोग गर्दै, आफ्ना बिर्सिन लागेका गीत बचाउन फेरि रेकर्ड गराएर नयाँ स्रोतासम्म जाने प्रयास हो ‘उनको प्रीति’। रायमाझी आउँदा दिनमा आफ्ना अरू पुराना सिर्जना यसरी नै रेकर्ड गराई पुनर्जीवन दिने योजनामा छन्।

उनका धेरै गीत पुरानो स्रोताको मनमा भए पनि तिनका भिडिओ छैनन्। धेरै साथीभाइ र स्रोताले भेट्दा जहिल्यै ‘तपाईंको फलानो गीत युट्युबमा कत्ति खोजेँ, तर पाइएन’ भन्थे। उनी आफैं पनि ती गीत पछिसम्म स्रोताको पहुँचमा होस् भन्ने चाहन्थे।

स्रोता-दर्शकको माग र उनको चाहना मिलेपछि केही समयदेखि उनी गीत पुनः रेकर्ड गराउँदै युट्युबमा हालिरहेका छन्। यसरी नयाँ केही गीत राखिसके पनि ‘उनको प्रीति’ भने स्रोता-दर्शकले अत्यधिक रुचाए।

सरल शब्दमा गहन अर्थ दिन सक्ने खुबी भएका कवि घिमिरेको निधनपछि निस्किएको गीत भएकाले यसले धेरैको ध्यान तान्ने नै भयो। पहिल्यै मन पराइएको गीतमा नेपाल आइडलमार्फत चिनिएका र मनपराइएका गायकको उपस्थितिले अर्को आकर्षण थप्यो।

केही गीत-संगीत हरेक पुस्ताले मन पराउने खालका हुन्छन्। यो त्यस्तै गीत बनेको छ। प्रविधिले ताजापन दिए पनि रायमाझी नयाँ र पुरानो दुवै गीतको उत्तिकै महत्व रहेको बताउँछन्। ‘यी दुई भर्सन फरक समयमा जन्मिएका जुम्ल्याहा सन्तानजस्तै हुन्। कुन राम्रो भनेर तुलना गर्न मिल्दैन।’

भिडिओमा पुरानो गीतसँगको नाता स्थापित गर्ने प्रयास गरेका छन्। भिडिओमा गीतकार घिमिरे, गायक जगदिश समाल र गायिका सपनाश्रीका फुटेज देखाइनु यही प्रयास हो। यो गीतले प्रेमको बीज अंकुराउने विन्दु कुन भन्ने प्रश्नमा रुमल्लिएका युगल जोडीको मनोभाव बोकेको छ।

भिडिओको सुरूमै पनि गीतकार घिमिरेले संगीतकार रायमाझीलाई गीतमा जस्तै प्रश्न गरेको सुनिन्छ– प्रेम गरिन्छ कि हुन्छ ?

यसको जवाफ कवि तथा गीतकार घिमिरेकै शब्दमा सुन्न गीतको भिडिओ हेर्नुहोला।

साभार : https://www.setopati.com/art/art-activity/218453

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here