अमित खम्बू,
एउटा तीतो सत्य हो सन्तानलाई जन्म दिने आमाबुबामध्ये आमा वा बुबा कसैको निधन भएको खण्डमा समाजमा उनीहरुको सन्तानलाई ‘टुहुरो’ भनी पहिचान गराइन्छ । म आफूले पाँच वर्षको उमेरमा भारतीय सेनामा कार्यरत् बाबा गुमाएसँगै समाजबाट आमाले ‘विधवा’ र हामी तीन सन्तानले ‘टुहुरो’को पहिचान भने पाएकै हौं । तर, समाजबाट पाएको उक्त ‘टुहुरो’को पहिचानलाई यथार्थमा आभाष हुन नदिने संघर्षशील नारी हाम्रो मामाघरको मुमा अर्थात् हजुरआमा रिजममाया साङपाङ राईबारे केही शब्द कोर्दैछु ।
मुमा हजुरको भौतिक शरीरले यो संसारबाट विदा लिएको आज असोज २४ गते एक वर्ष पुग्दैछ । मूल खम्बा गुमाएको हाम्रो परिवार र हाम्रो उज्ज्वल भविष्यको लागि हजुरले निभाउनु भएको महत्वपूर्ण भूमिका र पु¥याउनु भएको योगदान बारे स्मरण गर्दै गत असोज १७ गते रातको ११ः५६ बजे ल्यापटपमा केही शब्द कोर्ने आँट गरेको छु हजुरको स्मृतिमा ।
पत्रकारिता पेसामा विदा भन्ने कमै हुन्छ, तर पनि राष्ट्रिय विदा हुने शनिबारको दिनलाई उपयोग गर्दै अर्जुनधारा–५ र ७ भई बग्ने बिरीङ नदीमा नवनिर्मित झोलुङ्गे पुलको अवलोकन गर्न हजुरको नातिनी बुहारी उषा र पनाति पारुहाङसँग पुगेको क्षण अविस्मरणीय भयो । दिउँसोको अविस्मरणीय क्षणसँगै रात प्रत्येक प्रहरमा रुपान्तरण भइरहँदा निदाउन प्रयास गरेको मेरो दिमागमा भने हजुरसँगै जोडिएको प्रत्येक क्षणहरु छाल बनेर उर्लेर आउँदा आफूलाई नियन्त्रण गर्न सकिनँ ।
२०४८ साल चैत १३ गते जुन दिन हाम्रो बाबालाई यस संसारबाट दैवले निर्दयी ढंगले हामीबाट चुँडेर लगेको अवस्थामा हामीसँग थियो त केवल हजुरको साथ, साहस र भरोसा । हाल अर्जुनधारा–८ (साविक शनिश्चरे–२) बिजुली अफिस लाइन नजिक एउटा घरमा डेरा लिएर जीवन बिताइरहेको हामी माझ ‘भारतको राजस्थानमा भएको रेल दुर्घटनामा बाबा बित्नुभयो’ भन्ने खबर सुनाइँदा ‘विधवा’ आमा ३४ वर्षको र २ जना भाइ क्रमशः २ वर्ष र १ वर्षको थियौं ।
लाउँलाउँ, खाउँखाउँ उमेरमा ज्वाइँको निधन, ‘विधवा’ छोरी र ‘टुहुरो’ तीन जना नातिको जिम्मेवारीबाट विचलित नभई भारतीय सेनामा कार्यरत् दुई छोरा(मामा)सँग भन्दा दुःखको पहाडले थिचेको छोरीको साथमा बसी संघर्ष गर्न चाहने हजुरको तत्कालको इच्छाशक्ति नै हाम्रो वर्तमान जीवनको लागि कोशेढुंगा सावित भएको छ । छोराबुहारीहरुको साथमा जीवनको सुन्दर क्षण बिताउन सक्ने तत्कालको अवस्थामा छोरी र नातिहरुकै उज्ज्वल भविष्यको लागि मरिमेटेर साथ नछोड्ने हजुरको उक्त कार्य हाम्रो लागि जीवनमा हामीलाई लगाउनुभएको बहूमुल्य गुण सावित भएको छ भन्दा फरक पर्दैन ।
बाबाको निधनपछि आमाले कागजपत्रमा भएको केही त्रुटीका कारण नौ वर्षसम्म सुनसरीको धरानस्थित भारतीय पेन्सन क्याम्प धाउनुपर्दाको अवस्था, विवाहपछि बाबालाई एकपटक पनि लैजान अवसर नजुरेको बाबाको मूलघर भोजपुर धाउनुपर्दाको अवस्था, ‘विधवा’ छोरी र ‘टुहुरो’ नातीहरुलाई समाजबाट उपेक्षा र तिरस्कार हुँदाको अवस्थाहरुमा हजुरले गर्नुभएको सुरक्षा र संघर्ष शब्दमा बयान गरेर सकिँदैन । चरम अभावको समस्याबाट गुजँ्रदै अगाडि बढ्ने क्रममा बाबाको दुर्घटना भएको नौ वर्षपछि सम्बन्धित कार्यालयबाट बाबाको पाउनुपर्ने रहलपहल रकमसँगै आमाले आफ्नो जीवन रहँदासम्म पाउनु हुने पेन्सनमा बाबाको रगत र पसिनासँगै हजुरको संघर्षको पनि मिश्रण रहेको छ ।
२०५७ सालमा हाल अर्जुनधारा–७ को बासस्थानमा आमाले हाम्रो लागि टाउको लुकाउन बनाएको सानो घरमै आफू पनि रमाएर सहभागी भइरहँदा दुबै छोराहरु र उहाँहरुको परिवारको प्रत्येक सदस्यप्रतिको माया, गर्नुभएको न्याय, कहिलेकाँही दुबै मामाघरमा आउने जाने प्रक्रियालाई पनि नियमित गर्नु हजुरको प्रशंसीय एवम् महान कार्य हो ।
‘९० सालको भूकम्प जाँदा पाँच वर्षको थिएँ’ भनी आफ्नो उमेरको जानकारी दिने हजुर आफ्नो जीवनको अन्तिम समयसम्म हामी सबैको लागि संघर्ष गरिरहनु आजको समयमा कुनै दन्त्य कथाको पात्र जस्तै लाग्नेछ । घरको आँगन र फूलबारीको घाँस गोडमेलदेखि बारीमा कोदो रोप्ने, मकै छर्ने, परालबाट गुन्द्री, पीरा आदि बुन्ने हजुरको कला र जाँगर सबैको लागि चर्चाको विषय हुने गर्दथ्यो । ‘मैले काम गर्न पाइन भने जीउ दुख्छ जेठा’ भन्ने हजुरलाई हामी बुझ्ने भए यता ठूलो बिरामले च्यापेर ओछ्यान परेको हामीलाई थाहा थिएन ।
तर, बाहिरीरुपमा बिरामको लक्षण नदेखिएको हजुरको बुढ्यौली शरीरमा भित्रीरुपमा पाँच प्रकारको रोगले गलाउँदै लगेको हजुरको निधनको अनुमानित डेढ महिना अघि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पत्ता लाग्दा हामीलाई छाँगाबाट खसे झैं भएको थियो । आफ्नो जीवनको ९१औं वसन्त पार गरी ९२औं वसन्तमा अगाडि बढ्दै गर्दा स्वास्थ्य विज्ञान र धामी विधिबाट हजुरको उपचारमा सुधार नभएपछि अचानक हामीलाई छोडेर हजुर विदा हुनु भयो ।
२८ वर्षअघि बुबाको निधनसँगै ‘टुहुरो’ भएको हामी हजुरको साथ रहँदासम्म ‘टुहुरो’ भएको आभाष भएन, तर गत असोजमा हजुरको हृदयको गतिले विश्राम लिई भौतिक शरीर हामीबाट टाढा भएपछि आज चाहिँ हामीलाई लाग्ने गर्दछ ‘अब पो हामी टुहुरो भएछौं’ । दुई छोरा र एक छोरीसहित जम्मा तीन सन्तानको नौ नाति र एक नातिनीमध्ये अलि धेरै माया पाएको भान हुने मैले हजुरले असल मानिस बनाउन निभाउनु भएको भूमिकाको सधैँ सम्मान गर्दै अगाडि बढ्ने दृढसंकल्प लिएको छु ।
अन्त्यमा एउटी नारीले आमा मात्र नभई हजुरआमा हुँदाको अवस्थामा पनि परिवार व्यवस्थापन सँगै उक्त परिवारको प्रत्येक सदस्यको उज्ज्वल भविष्य बनाउन महत्वपूर्ण योगदान पु¥याउन सक्दछ भन्ने उदाहरण बन्नु भएकोमा गर्व गर्दै हजुरको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु मुमा !