स्वाब संकलन गर्ने स्थान र भीड व्यवस्थापनमा चुनौति

0
1490

अहिले विश्वलाई नै आक्रान्त पारी सकेको कोभिड–१९ ले निम्त्याएको समस्या त नेपालले पनि व्यहोरिरहेको छ । नेपालमा दिनहँु संक्रमण दर बढ्दै छ । संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । दिनहुँ नेपालमा दुई हजारदेखि पच्चीस सयको हाराहारीमा संक्रमित थपिन थालेका छन् ।

गत चैत्र ११ गते नेपालमा पूर्णरुपमा लकडाउन गरी कोरोना रोकथाम गर्ने सरकारी नीति बन्यो र कार्यान्वयन भयो । करिब चार महिना पूर्ण लकडाउन हँुदा देशमा स्वास्थ्य सुबिधा थपिने, पीसीआर मेसिन जडान हुने र जनताले सुखानुभूति गर्ने निश्चय देखिन्थ्यो । देशैभरि संक्रमण पत्ता लगाउन भनी पीसीआर मेसिन व्यापक रुपमा सात प्रदेशमा जडान ग¥यो सरकारले ।

स्वीस सरकारले आरटी पीसीआर मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको परीक्षण मेची अस्पताल भद्रपुरमा गत श्रावण १५ गतेबाट शुरु भएको छ । यो सँगै स्वास्थ्य चुनौति र व्यवस्थापन चुनौति मेची अञ्चल अस्पतालको मुख्य स्वरुप देखिन्छ । लगभग दैनिक ९० जनाको स्वाब संकलन क्षमता राख्दछ यस पीसीआर मेसिनले ।
पीसीआर मेसिन जडान गरी स्वाब संकलन शुरु गर्न थालेबाट झापा, इलाम, ताप्लेजुङ र पाँचथर जिल्लाका नागरिक वा सेवाग्राहीले शिघ्र सुबिधा पाउने निश्चित देखियो । त्यही सेवासुबिधा अन्तर्गत धेरै जना स्वाब परीक्षणका लागि मेची अञ्चल अस्पताल पुग्ने गर्छन् ।

पुरानो अस्पताल भवनभित्र अलिक पर रहेको गाईनो वार्ड एवम् प्रसूति गृह नजिकै एउटा सानो टिनको छानो छ । त्यहाँ हिँड्ने पेटीमा लामबद्ध बनी मानिसहरु बसेका हुन्छन् । नजिकैबाट शौचालयको दुर्गन्ध आइरहने, अस्पताल परिसरको फोहोर दैनिक जलाउँदा वातावरण प्रदुशित गरी निस्किएको कार्बोनको गन्ध मन्द हावाले पूर्वबाट पश्चिमतर्फ धकेलिरहेको पाइन्छ । त्यही हावा गएको बेगतर्फ सानो छानो भएको स्थानमा पीसीआर संकलनका लागि खटिएका थिए एक कर्मचारी । उनी धमाधम स्वाब संकलन गरिरहेका थिए । त्यो दृश्य हेरिरहँदा जो कोहीलाई पनि लाग्न सक्छ कि पीसीआर टेस्ट गराउनलाई भीडले आवश्यक दूरी कायम गरेको थिएन । न त त्यहाँ कुनै व्यवस्थापन गर्न स्वयम्सेवक नै खटिएका थिए ।
अमित (नाम परिवर्तन)ले भने– ‘सिधा संक्रमणमा नपरेपनी अफिसमा फ्रन्ट लाईनमा बसेर काम गर्नुपर्ने हुँदा आफ्नो सुनिश्चितताका लागि यहाँ आएको थिएँ । मैले मनमा सोचेको भन्दा फरक पाएँ । अस्पतालमा स्वाब संकलन स्थान, तयारी, तरिका र भीड । अब त निकै सेवासुविधामा धेरै सुधार भइसकेको होला भन्ने सोचेको थिए, तर अवस्था उस्तै रहेछ ।’

अमित मात्र होइन त्यहाँ आउने धेरैको मुखमा यही कुरा रहन्छ । अस्पतालमा स्वाब संकलन गराउन आएर आफू पीसीआर नेगेटिभ बनी ढुक्कका साथ बस्न पनि गाह्रो छ त्यहाँको भीड र व्यवस्थापन हेर्दा । अस्पतालले स्वाब संकलन स्थान सबैभन्दा व्यस्त क्षेत्रमा बनाइरहँदा त्यहाँ नजिकैको ओपीडी गृह, प्रसूति गृह, अपरेसन थिएटर, बालबालिकालाई खोप दिइने स्थान असुरक्षित रहने प्रष्ट देखिन्छ ।

स्वाब संकलन कार्य अत्यावश्यक भए पनि नजिकै रहेको गाईनो वार्डमा गर्भवती महिलाहरु नियमित चेकजाँचमा आउने र हिँड्ने पेटीको छेउछाउमा पीसीआर टेस्ट गराउन लामबद्ध बनी बसेका भीडले आवश्यक सामाजिक दूरी कायम नहुने अनुमान गर्न सकिन्छ । संक्रमण बढ्दै जाँदा र पीसीआरका लागि स्वाब संकलन गर्न उचित स्थान निर्माण गरी भीडबाट अलग्गै स्वाब संकलन गरिनुपर्ने प्रमुख आवश्यकता देखिन्छ ।

स्वाब संकलनका लागि भएको ठूलो हुलमा सामाजिक दूरी र जागरुकता पाइँदैन । सबैजना पीसीआर परीक्षण गर्न आउँदा हतार गर्नु, संयम् नबन्नु, धैर्यता गुमाउनु र अनावश्यक भीड बनाई सहज वातावरण नबानाउनुले स्थिति अझ अन्यौलमा देखिने निश्चित छ ।

मुना (नाम परिवर्तन)ले भनिन्– ‘अस्पताल आएर कोरोना जाँच गराउन सहज र सुरक्षित वातावरण होला भन्ने सोचेकी थिए । तर, यहाँ झन् संक्रमित बनी फर्किन्छु कि भन्ने आशंका उत्पन्न भएर मनमा डर बढेको छ ।’
हुन पनि स्वयम्सेवक नहुनु, खुल्ला स्थानमा स्वाब संकलन नगराउनुले पनि अव्यवस्थित परिस्थिति देखाउँछ । त्यसैले मेची अञ्चल अस्पतालले आवश्यक पूर्वाधार तयार पारी सबैको स्वास्थ्यको बिचार गर्दै उचित भीड व्यवस्थापन, सुरक्षित स्थानान्तरण, फोहोर व्यवस्थापन र खुल्ला स्वाब संकलन स्थल निर्माण गर्न जरुरी छ ।

स्वाब संकलन नै असुरक्षित किसिमले भयो भने भोलिका दिनमा अझ संक्रमण फैलने निश्चित छ । पीसीआर नेगेटिभ आए पनि उनीहरुको पुनः पीसीआर परीक्षण गराउन अवस्था नल्याउनलाई स्वाब संकलन स्थान र भीड व्यवस्थापन चुनौति प्रमुख प्राथमिकता रहेको छ मेची अञ्चल अस्पताललाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here