कोराना संक्रमित ब्यक्ति वडा कार्यालय पुगेको भन्दै बिर्तामोडका तीन वडाका सेवा बन्द

0
508

झापा ।

झापामा दिनप्रतिदिन कोरोनाको संक्रमण बढी रहेका बेला बिर्तामोड नगरपालिकाका तीनवटा वडा कार्यालयको सेवा सोमबार देखि तीन दिनका लागि बन्द गरिएको छ।

कोरोना संक्रमितका परिवारका सदस्य कार्यालयमा आएको र अरु व्यक्तिसँग घुलमेल गरेको जनाउँदै ति वडाका दैनिक कामकाज बन्द गरिएको हो।
बिर्तामोड नगरपालिकाको ७,८ र ९ वडाको संयुक्त वडा कार्यालय गरामनी बजारमा रहेको छ।

संक्रमितका परिवारका सदस्य कार्यालयमा आएको खुलेपछि तीन दिनका लागि कार्यालय र सेवा बन्द गरिएको बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठकले जानकारी दिइन् । विराटनगरको नोवेल हस्पिटलमा मिर्गौला सम्बन्धी समस्याको उपचार गराइरकेका बिर्तामोड ९ का एक व्यक्तिलाई आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलनको काम चलिरहँदा संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यहरु आइतबार दिउँसो संयुक्त वडा कार्यालय गएका थिए। नगरपालिकासँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङसम्मका लागि कार्यालय बन्द गरिएको वडाध्यक्ष पाठकले जानकारी दिइन्।

संक्रमण पुष्टि भएका ति व्यक्तिलाई सुरुमा बिर्तामोडको बिएण्डसी हस्पिटल लगिएको थियो। त्यहाँबाट उनलाई विराटनगर लगिएको थियो। विराटनगरबाट घर आइसकेका ति व्यक्तिको नोवेलमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

संक्रमित व्यक्तिलाई अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरको आइसोलेसनमा राखिएको छ। संक्रमितका परिवारका सदस्य, छिमेकी, वडा कार्यालयमा आएका सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी लगायतको कन्ट्रयाक ट्रेसिङ गरिने जनाइएको छ। तीन वटै वडाका वडाध्यक्षद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ– बुधबारसम्मका लागि वडाका सम्पूर्ण कामहरु बन्द रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here