सतर्कता र अनुगमनको खाँचो

0
439

कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकार अक्षम भएका कारण मुलुकको अवस्था झन्–झन् डरलाग्दो बन्दैछ । कोभिड–१९ को प्रारम्भ विन्दुको देश चीनलाई नेपालले आजका दिनसम्म आइपुग्दा उछिनेर निक्कै माथि पुगिसकेको छ । त्यसमा पनि जनघनत्व बढी भएका शहरहरु कोभिड–१९ को ‘हट स्पट’ बनिएका छन् । देशको सर्वाधिक बसोबास भएको राजधानी भाइरस उत्पादन र विस्तार गर्ने केन्द्र जस्तै बनिएको छ । यही दर र गतिमा संक्रमण बढ्दै र फैलिँदै जाने हो भने परिणाम नसोचेको हुनसक्छ । यसतर्फ स्वास्थ्य मन्त्रालय र सरकार गम्भीर देखिएकै छैन जसले परिस्थिति नियन्त्रण बाहिर जाने निश्चित जस्तै भएको छ ।

अहिलेसम्म पहिचान भएका संक्रमितको एक तिहाई काठमाडौं उपत्यकाकै छन् । सरकारले आवागमनलाई प्रभावकारी ढंगले अनुगमन र आवश्यक कडाइ नगर्दा कोभिड–१९ को प्रकोप अनियन्त्रित बन्दै गएको हो । आज पनि थपिने संक्रमितहरुको संख्यामा आधाजसो काठमाडौं उपत्यकाकै छन् । संक्रमित मध्ये गम्भीर प्रकृतिका विरामीहरु पनि काठमाडौं मै बढी छन् । विरामीका लागि छुट्याइएका विशेष अस्पतालहरु बेड भरिभराउ छन् । सघन उपचार कक्ष र अझ भेन्टिलेटरको अभाव भइसकेको छ । पहुँच नभएका विरामीलाई अस्पताल पाउनै गाह्रो छ, थप उपचार गर्नुपर्ने अवस्थामा न शय्या उपलब्ध छ न सघन उपचार कक्ष न त कुनै विकल्प नै । भएका शय्या र सेवाहरु पाउन कि उच्च पदस्थ अधिकारी, ठूलो राजनीतिकर्मी हुनु प¥यो कि त उनीहरुको आफन्त अथवा ‘गोजीका मान्छे’ ।

कोभिड–१९ को प्रकोप विश्व स्वास्थय संगठनकै कुराले पनि तत्काल समाप्त हुने छैन । खोप आविष्कार गरेको भनिए पनि त्यसको उपयोग परिणाम र हामीकहाँ पहुँचको कुनै ग्यारेन्टी छैन । सरकारले शुरुमा गम्भीरतापूर्वक नलिएकै कारण महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट जोगिन नागरिक आफैं सचेत नहुने हो भने दुष्परिणाम भोग्न तयार हुनुको विकल्प पनि छैन । बढ्दो संक्रमणलाई नागरिकले अझैसम्म गम्भीरतापूर्वक लिएको देखिँदैन । अनावश्यक भीडभाड बढ्दो क्रममा छ, दशैं, तिहार मुखमै आइसकेको छ । त्यसको पनि भीड देखिन थालिसकेको छ ।

यसले जोखिम नियन्त्रणमा आउन दिँदैन । नागरिक नै हुन् जो प्रभावित हुन्छन्, उपचार पाउँदैनन् र क्षति व्यहोर्न बाध्य हुन्छन् । यस्तोमा स्वयम्को जागरण सबैभन्दा प्रभावकारी उपाय हुनसक्छ कोभिड–१९ नियन्त्रणको । तर, यसक्रममा सरकार पैसा नपर्ने उपदेशक मात्र बन्नु हुँदैन । आइसोलेसनदेखि उपचार कक्ष बिस्तार गर्ने, नागरिकलाई आश्वस्त पार्ने उपकरण थप्ने काम सरकारको प्राथमिकता हुनुपर्दछ । अन्यथा ‘जंगलको आगो’ सरहको कोभिड–१९ को प्रकोपले कमवेस सबैलाई पोल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here