कोरोना, दशैं र कहर

0
572

यस वर्षको दशैं नेपालीको आँगन हुँदै संघारमा पुगेको छ । नेपालीले मनाउने चाडपर्वहरु मध्येको सबैभन्दा ठूलो र धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको यो पर्वले दिने सन्देश भनेकै अग्रजहरुप्रति सम्मान र सानाप्रति स्नेह गर्नुपर्छ भन्ने हो । यसका साथै अन्याय र असत्य धेरै टिक्न सक्दैन तसर्थ न्याय र सत्यलाई अङ्गिकार गर्दै जीवनलाई सार्थक बनाऔं, हाम्रा गोडा त्यसतर्फ लक्षित हुन् यही नै विजयादशमीको मूल मर्म हो । तर, यस वर्ष विश्व कोरोना कहरले थिल्थिलो भएको छ । लाखौंले यसकै प्रकोपमा परेर अमूल्य जीवन गुमाइसकेका छन् भने विश्वका झण्डै चार करोड जनता यसको चपेटामा परिसकेका छन् ।

कोरोनाले विश्वलाई त्राही–त्राही पारिरहेको समय नेपाली पनि यसको पीडा खप्न बाध्य छन् । सात सयभन्दा बढीले जीवन गुमाएका छन् भने सवा एक लाख जनाभन्दा बढी संक्रमणमा परेर कष्टपूर्ण र अनिश्चित जीवन भोग्दैछन् । यस्तो बेला पर्न आएको दशैंले आम नेपालीलाई हर्षभन्दा पनि विस्मत नै बढी दिएको हुन सक्छ । तर, पनि लाग्दैन कि नेपालीले यो त्रासदीलाई अनुभूत गरेका छन् । हाटबजार, यातायात खुल्ला भएसँगै मानिसको आवागमन र गतिविधि बढेको छ । सरकारले नै भीड जम्मा गराइरहेको छ । अड्डाहरु खुल्ला गरेर, महशुल, कर, राजश्व उठाउने नाममा कोरोना विस्तारलाई मलजल गरिरहेको छ । अझ जरिवानाको उच्च दर लादेर सर्वसाधारणलाई झन् भीड जम्मा गर्न उत्प्रेरणा दिइरहेको छ ।

सबै मिलेर आपतको सामना गर्नुपर्नेमा सरकार एक्लै हिँडेर अनिश्चय, अविश्वासको बिरुवा हुर्काइरहेको छ । प्रतिपक्षी दलहरुलाई समेत साथै लिएर विपत्तिसँग युद्ध गर्नुपर्नेमा प्रभावकारी नीति र योजना तर्जुमा गर्न नसकेर अलमलिएको छ । जनता स्वास्थ्य सेवाको पहुँचबाट टाडा– धेरै टाडा पुगिसकेका छन् । उपलब्ध सेवा अपुग मात्र होइन असम्भव नै हुन थालेको छ । बढ्दो संक्रमणकाबीच पनि सरकारले रणनीतिक कार्ययोजनामार्फत कोरोनाविरुद्धको लडाइँको मोर्चा गठन गर्न सकेको छैन । अझ दशैंका कारण हुनसक्ने जोखिम न्यूनीकरण गर्न सूचना जारी गर्नुभन्दा पर कुनै योजना नदेखिँदा कोरोना कहर नियन्त्रण होला भन्न सकिने अवस्था नै छैन । यस्तो बेला स्थानीय सरकार पनि ‘किं कर्तव्य’ को अवस्थामा छ । स्वास्थ्यका मापदण्ड सिद्धान्तमै सीमित हुँदैछन् । मानिसको अनावश्यक आवागमनप्रति कसैको चासो र चिन्ता छैन । यसले कसैको पनि भविष्य सुरक्षित छैन भन्ने संकेत गरेको छ । तसर्थ, संवेदनशीलता, सचेतता र सजगता प्रत्येकमा जाग्नु पर्दछ । अन्यथा यो महामारी ढिलोचाँडो सबैले भोग्नुपर्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here