जीवन रक्षा गर्न सचेतना

0
807

कोरोना संक्रमणबाट झापामा मंगलबार एकैदिन तीन जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झापामा एक्काइस पुगेको छ । झापामा मंगलबारसम्ममा अठ्ठाइस हजार आठ सय पैंतालीस जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा एक हजार चार सय सात जनामा कोरोना पुष्टि भएको थियो । गत वर्षको चैत महिनादेखि कोरोना प्रतिरक्षाका लागि सरकारले बन्दाबन्दीको घोषणा ग¥यो । त्यस समय अत्यावश्यकीय वस्तु र सेवा बाहेक सबै बन्द गरिए । त्यसले संक्रमणको चेन बिस्तार हुन पाएन र संक्रमण व्यापक भएन । तर, सरकारले नै बन्दाबन्दी खुकुलो पारेसँगै संक्रमण फैलिँदै गयो र फिर्ता लिएपछि त यो अनियन्त्रित हुँदै जाने क्रममा छ । त्यसकै परिणाम हो कि मंगलबारसम्ममा देशभरका सात सय पैंसठ्ठी जनाले जीवन गुमाउनु प¥यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सूचना अनुसार अहिले देशभर एक चालीस हजार सात सय पचास जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमण समुदायमा व्यापक भइरहेका समय सरकारले परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्न निर्देशन दिएको छ । सरकारको यस्तो निर्णय गैर संवैधानिक, गैरजिम्मेवार र अनुत्तरदायी भन्दै सबै तहबाट व्यापक टिप्पणी र आलोचना भइरहेको छ । जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार र जीवन रक्षाको प्रतिबद्धता जनाएका राजनीतिक दलहरु मध्येको प्रमुख सत्तारुढ दल र सरकारले महामारी रोक्न, नियन्त्रण र उपचार गर्न आवश्यक पूर्व तयारी र प्रभावकारी रणनीति बनाउन नसक्दा जनताले कष्ट मात्र व्यहोर्नु परेको छैन, जीवन नै गुमाउनु परिरहेको छ । सरकारको लाचारीले आउने दिन झनै कष्टपूर्ण रहने संकेत आजको परिस्थितिले देखाइसकेको छ । त्यसैले परिस्थितिको गाम्भीर्यलाई अनुभूत गर्न कसैले पनि ढिला गर्नु हुँदैन ।

सम्बद्ध मन्त्रालयले प्रत्येक दिन प्रवाह गर्ने सूचनाप्रति अब मानिसको उत्सुकता र जिज्ञासा रहन छाडेको छ । प्रत्येक दिन प्रवाह भइरहेका यस सम्बन्धी घटना र तथ्यहरुले हाम्रो स्वास्थ्य सेवाको दुर्दशा चित्रित गरिरहेका छन् । राजधानी मै विरामीले उपचार नपाउने अवस्थाले जिल्ला र ग्रामीण क्षेत्रको जीवन कति प्रभावित होला अनुमान गर्न गाह्रो छैन । प्रत्येक स्थानीय तहलाई एउटा कोभिड विशेष अस्पताल बनाउन निर्देश गरेर अभिभावकीय दायित्वबाट पन्छिएको सरकारको मुख ताकेर जो कोही जनताको जीवन रक्षा हुँदैन । त्यसैकारण प्रत्येक नागरिकले स्वास्थ्य तथा जीवन रक्षाका लागि स्वतःस्फूर्त अग्रसरता देखाउनु पर्छ । सावधानी बाहेक अर्को विकल्प नरहेको यो समय सबैको चेतना जाग्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here