दशैंपछि कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको ग्राफ उकालो लाग्दै, पछिल्लो १० दिनमा गयो १९० जनाको ज्यान

0
1233

काठमाडौं,

अघिल्लो साता भन्दा यस साता कोभिड-१९ संक्रमण पुष्टि हुने संख्या र मृत्यु हुने संक्रमितको संख्यामा वृद्धि भएको छ।

अघिल्लो साता भन्दा पछिल्लो साता मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ६० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता नेपालमा ९२ जना कोभिड-१९ संक्रमितको मृत्यु भएकोमा यो साता ६०.८ प्रतिशतले वृद्धि हुँदै १४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
पछिल्लो सात दिन दैनिक औषतमा २१.१५ जना संक्रमितको मृत्यु भइरहेको छ। अघिल्लो सात दिनको तथ्यांक हेर्दा यो संख्या दैनिक औषतमा १३.१५ थियो।

बुधवार मात्र नेपालमा ३० जना संक्रमितको मृत्यु भएको थियो। यो हालसम्मको दैनिक मृत्यु हुनेको संख्यामा सबैभन्दा बढी हो। त्यस्तै कार्तिक १७ गते २४, कार्तिक १६ गते १३ जनाको मृत्यु भएको थियो।

अघिल्लो सात दिनको तथ्यां हर्दा सबैभन्दा बढी कार्तिक १३ र ७ गते १७/१७ जनाको मृत्यु भएको थियो भने कार्तिक ९ गते ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

कोभिड-१९ संक्रमणका कारण पछिल्लो दिनमा मृत्यु हुनेको संख्या उकालोतिर लागेको छ। दशैंको मुख्यदिन विजया दशमीको दिन देखि यता १० दिनमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।

कात्तिक ११ गते १४ जनाको मृत्यु भयो। १२ गते ११ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। त्यसयता भने दैनिक मृत्यु संख्या उकालो लागेको देखिन्छ।

कात्तिक १३ गते १७ जना कोरोना संक्रमितको मृत्यु भएको देखिन्छ। त्यसैगरी कात्तिक १४ गते १६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

कोभिड संक्रमणले पछिल्लो एक हप्तामा मात्र १४८ जनाको मृत्यु भयो। १९ गते बुधवार ३० जनाको मृत्यु भयो। संक्रमणबाट मृत्यु हुने ग्राफ पछिल्लो समय बढ्दो छ। समुदायस्तरमा कोरोना संक्रमण फैलानु, संक्रमित नखुल्नु, व्यवस्थित आइसोलेसन नहुनाले पनि मृत्युदर बढिरहेको बताइन्छ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण एक हजार ५२ जनाको मृत्यु भइसकेको छ। हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन्। एक लाख ८५ हजार ९७४ जनालाई कोभिड-१९ संक्रमण हुँदा एक लाख ४८ हजार ४०८ भने संक्रमण मुक्त भइसकेका छन्।

संक्रमित ३१ प्रतिशत बढी

यसैबीच पछिल्लो सात दिनमा संक्रमण पुष्टि हुनेको संख्या पनि ३१.१५ प्रतिशतले वृद्धि भएका छन्। पछिल्लो सात दिनमा १६ हजार २०९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा पछिल्लो सात दिनमा २१ हजार २५६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो सात दिनमा दैनिक औषतमा तीन हजार ३६ जनामा संक्रमण पुष्टि भएको छ। त्यहिँ अघिल्लो सात दिनको तथ्यांक हर्दा दैनिक औषतमा दुई हजार ३१६ जना संक्रमित पहिचान भएका थिए।

यता पछील्लो साता डिस्चार्ज हुनेको संख्या पनि बढेको छ। अघिल्लो सात दिनमा २२ हजार ४२ जना संक्रमण भएकोमा पछिल्लो सात दिनमा २३ हजार ५४६ जना डिस्चार्ज भएका छन्। जुन ६.८ प्रतिशत मात्र बढी हो।

परीक्षण ३० प्रतिशतले बढ्यो

अघिल्लो सात दिनको तुलनामा पछिल्लो सात दिन परीक्षण दर ३० प्रतिशतले बढेको छ। अघिल्लो सात दिन ६७ हजार ७६८ जनाको नमुना परीक्षण भएकोमा पछिल्लो ७ दिनमा ८८ हजार ११५ जनाको नमुना परीक्षण भएको छ।

कुल परीक्षण भएका मध्ये पछिल्लो सात दिनमा २४.१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। अर्थात ४.१ जनाको नमुना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।

अघिल्लो सात दिनमा भएको कुल परीक्षणको २३.९ प्रतिशत अर्थात ४.२ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ।-पहिलोपोस्टबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here