सञ्चार मन्त्री गुरुङले भने– मर्यादित पत्रकारिता अहिलेको आवश्यकता हो

0
537

झापा ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पछिल्लो समय पत्रकारिता क्षेत्रमा केही विकृति देखिएको भन्दै अब देश विकासका लागि जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार अमेरिकी दुतावासको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको गलत तथा भ्रामक सूचनाको पहिचान तथा रोकथाम र मर्यादित र उतरदायी पत्रकारिता विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भर्चुअल रुपमा गरिएको उक्त छलफल कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री गुरुङले पत्रकारले जिम्मेवार भएर पत्रकारिता गर्दा सबै अंगलाई निगरानी राख्न सक्ने भन्दै एक छिनका लागि र एकैपटक नाम कमाउँछु भनेर भ्रामक समाचार दिंदा त्यसले धेरैलाई नोक्सानी मात्र हैन् व्यक्ति,समाज र देशमै आँच आउन सक्ने बताए । उनले भने, जिम्मेवार र जवाफदेही पत्रकारिताको जुन अभियान मिडिया एक्सन नेपालले शुरु गरेको छ यसको साथमा म पनि छु ।

उनले यस्ता खालका तालिमले पत्रकारलाई आफनो भूमिका र उत्तरदायित्व वहन गर्न सिकाउने भन्दै आफनो मन्त्रालय यी विषयमा मिडिया एक्सन नेपालसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकी सरकार नेपालमा पत्रकारिता विकासको क्षेत्रमा सधैं सहयोग र सहकार्य गर्न तयार रहेको भन्दै पत्रकार आफै पनि भ्रामक समाचारबाट टाढा रहनपर्नेमा जोड दिए । उनले पत्रकार आवाजविहिनहरुको आवाज भएकाले उनीहरुको सही आवाज मात्र समाजमा आउनुपर्नेमा जोड दिए । त्यसका लागि पत्रकाको क्षमता अभिवेद्धिमा सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

यसैगरी छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द नेपालले पत्रकारहरु सूचना सम्प्रेषण गर्दा बढी चनाखो र जवाफदेही हुनुपर्नेमा जोड दिए । उनले महासंघ आफैले पनि जवाफदेही पत्रकारिता गर्न जरुरी छ भनेर बेला बेलामा पत्रकारको लागि तालिमहरुको आयोजना गर्ने गरेको भन्दै सरकारले गर्ने काम मिडिया एक्सन नेपालले गरेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।

भर्चुअल रुपमा गरिएको छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालकी बोर्ड सदस्य संगिता खड्काले पछिल्लो समय अनलाइन मिडियाहरुमा भ्रामक समाचारहरु बढी आएको भन्दै उजुरी पर्ने क्रम बढेको जनाइन्। उनले अखबारहरुमा भन्दा पनि अनलाइन मिडियामा पुष्टि नभएका समाचार, कसैको चरित्य हत्या गर्ने वा व्यक्तिगत कुरा समेत आउने गरेको भन्दै यस्ता उजुरीमा काउन्सिलले कारवाही समेत गरिरहेको बताइन्। उनले पत्रकारले आचारसंहितालाई पालना गरेर मात्र पत्रकारिता गर्न हो भने यस्ता भ्रामक र गलत समाचारबाट टाढा रहन सकिने बताइन्।

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष तथा सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले पत्रकारले तत्कालका लागि मात्र सोचेर पत्रकारिता गर्ने नभई आफूले गरेको पत्रकाकरिताको छाप समाजमा के पर्छ भन्ने सोच्नपर्ने बताए। उता तालिममका सहभागीले आफूले लिएको यो तालिमले आफूले गरेका गल्ती कम गर्दै लाने अवसर मिलेको जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here