तिहार आएपनि मादल बिक्री भएन

0
814

लक्ष्मी उप्रेती,मेचीनगर।

हरेक वर्ष यमपञ्चक नजिकिँदै गर्दा काँकरभिट्टा बजारमा मादल खरिद गर्नेको भीड ठूलै लाग्ने गर्दथ्यो । स्वदेशी मात्र होइन विदेशी ग्राहक समेतको रोजाइमा पर्ने मादल बिक्री गर्न पसललेलाई भ्याइ–नभ्याई हुन्थ्यो । यो वर्षको यमपञ्चक भित्रिन तीन दिन बाँकी रहँदासम्म अहिले मादल खरिद गर्नेको कुनै चहल पहल छैन ।

मादल खरिद गर्न मानिस नआउँदा अहिले मेचीनगरस्थित काँकरभिट्टा बजारमा लामो समयदेखि मादलको व्यवसायी गर्दै आएका व्यवसायीहरु समेत निकै फुसर्दिला छन् । तिहारमा देउसी–भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री शुरु भए पनि व्यापार भने खासै नभएको झण्डै डेढ दशक अघिदेखि काँकरभिट्टामा मादलसहित खुकुरीको व्यापार गर्दै आएका ज्ञानेन्द्रकुमार घिमिरे बताउँछन् । यसअघिका तिहारमा ३० देखि ४५ वटा मादल बिक्री हुने गरेकोमा यो वर्ष व्यापार निकै कम भएको उनको भनाई छ ।

उनका अनुसार कोरोना भाइरस संक्रमणको जोखिम नभएको भए यतिबेला काँकरभिट्टामा स्थानीयमात्र होइन भारतको सिक्किम, दार्जिलिङ्ग, कालेम्पोङ्ग, खर्साङ्ग, आसाम लगायतका ठाउँबाट मादल खरिदका लागि मानिसहरु आउने गर्दथे । अहिले तिहारको चहलपहल नभएकै कारण पनि मादलको व्यापार घटेको घिमिरेको भनाई छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी, भैलो खेल्ने अवस्था नभएका कारण मादल किन्ने कोही नभएको व्यवसायीहरुको भनाई छ ।

कोभिड–१९ को असर मादल व्यवसायमा पनि परेको व्यवसायी केबी लिम्बूको भनाई छ । गत वर्षहरुमा तिहारको बेला भ्याई–नभ्याई हुने मादल व्यवसायीहरु व्यापार शून्य भएपछि अहिले फुर्सदमा रहेको लिम्बूको भनाई छ । कोरोना संक्रमणको जोखिमले तिहारको समयमा देउसी–भैलो खेल्ने अवस्था नभएपछि मादल व्यावसाय पनि सुस्ताएको लिम्बू बताउँछन् ।

२०४३ सालदेखि काँकरभिट्टामा मादल बेच्दै आएका लिम्बू कोभिड–१९ का कारण यो वर्ष व्यवसाय निराशा भएको बताउँछन् । गत वर्षहरुको तिहारमा डेढ सय मादल बिक्री गरेका लिम्बूको पसलबाट अहिले दैनिक एउटासम्म बिक्री हुन समेत कठिन छ । कहिले त सातदिनमा एउटा पनि बिक्री हँुदैन । कोरोना संक्रमणका कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार घटेको काँकरभिट्टाका मादल व्यवसायीहरु बताउँछन् ।

यो तिहारका बेला मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको भए पनि अहिले भने त्यसको तुलनामा निकै कम भएको मादल ढाका पोते पसलका सञ्चालक खड्गबहादुर श्रेष्ठको भनाई छ ।
केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन रहेको स्मरण गदैं श्रेष्ठले तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी, भैलो खेल्नेहरुको थुप्रै समूह पाइन्थ्यो । अहिले त्यो परिस्थिती नभएका कारण मादल व्यवसायीहरुको व्यवसाय समेत चौपट बनेको गुनासो गरे ।

अहिले काँकरभिट्टा बजारमा नयाँ मादल त निकै कम मात्रामा बिक्री भएको उनको भनाई छ । केही केहीले पुराना मादल मर्मतसम्भार गरेका छन् । यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको उनीहरुको भनाई छ । मादलको मूल्य आकार र गुणस्तरमा भरपर्ने व्यवसायीहरुको भनाई छ । न्यूनतम् एक हजार तीन सयदेखि १२ हजार रुपैयाँसम्म मादलको मूल्य पर्ने व्यवसायी लिम्बूले बताए ।

पछिल्लो समय मादलभन्दा क्यासेट बजाएर देउसी खेल्ने तथा नाच गर्ने चलनले मादलको बिक्री कम हुँदै गएको थियो । कोभिड–१९ ले व्यापार, व्यवसायमा असर त पारेको छ नै हामीले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्न नसक्दा हाम्रो सभ्यता नै लोप हुने खतरा हुन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान बेलैमा जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here