तुलसीराम खरेल,
मैले थाहै नपाई कोरोना भाइरससँग लड्नु प¥यो । अघिल्लो बर्ष चीनमा देखापरेको कोरोना भाइरसलाई आफ्नै शरीरभित्र स्वागत गरेर, साता दिनभन्दा बढी समय उच्च ज्वरोको सामना गर्दै बाँचियो । यो अनुभव सबैलाई काम लागोस् भनेर एउटा आलेख तयार पारेको छु । यसले अवश्य केही न केही सहयोग पु¥याउने नै छ ।
असोज २० गतेको दिन थियो । अलि सञ्चो नभएको होकी झैं मात्र थियो । बिहान कलेज गएँ, तर दिउसो स्कूल गइनँ । राति जिउ रनक्क भएर ज्वरो आयो । हत्तपत्त तल्लो तलाको कोठामा आएर सुतेँ । सिटामोल र एजिथ्रोमाइसीन शुरु गरेँ । २२ गते एजिथ्रोको कोर्ष सकियो । सञ्चो भए झैं भयो । अफसोच शुक्रबार २३ गते दिउसोदेखि उच्च ज्वरो आयो । थर्मोमिटर लगाएर घण्टा–घण्टामा नापी रहेँ। तापक्रम १०३.८ सम्म पुग्यो । चिकित्सककै सल्लाह अनुसार मेडोमोल कम्पनीको प्लेन सिटामोल खायो केही नै हुँदैन । निम्स, फ्लेग्जोन जस्ता औषधि नखाने सल्लाह चिकित्सकको छ । रात भर अवस्था उही रह्यो ज्वरो १०४ डिग्री फरेनहाईटसम्म आयो । घट्ने कुनै उपाय नै थिएन् । श्रीमतीजीले पानी पट्टी गरिदिन । हात गोडा टाउकोमा चिसो कपडाले पुसपास लगाइदिन जबर्जस्ती मेरो अनुरोधलाई ख्यालै नगरी । मैले आफूलाई छोएपछि पुरै साबुनपानीले हात धुनु भने । राति चार पाँच पटक माथिबाट आउँदै हेर्दै छाम्दै गर्थिन् ।
छोराहरुलाई कोठामा आउन दिइएन् धेरै कुरा पनि भनिएन । बच्चाहरुको स्कूलमा परीक्षा चलिरहेको अवस्था थियो ।
कक्षा १० मा पढ्ने ठूलो छोराको म्याथ, साइन्सका समस्याहरु समाधानमा केही गर्न सकिएन् । खाना कोठामै श्रीमतीले ल्याई दिन्थिन म आफूले खाएका थाल बटुको र गिलास सफा गर्थेँ । बाथरुम अलग्गै रहेकोले समस्या भएन् । मौसमी फ्लू हुन सक्ने र विगतमा यसरी नै सताउने गरेका कुराहरु स्मरण भए । आइतबार, सोमबार अवस्था उही भयो । तापक्रम १०१÷१०२ सम्म हुने । सिटामोलले खासै काम नगर्ने रिपिट भई हाल्ने हुन थाल्यो । तातो पानी, अधुवा, बेसार, गुर्जो पानी कति खाइयो पत्तै छैन् । उच्च ज्वरो नभएको बेला बाफ लिने कार्य पनि भए । पीसीआर टेष्ट गराउने योजना हुन थाल्यो । डेँगो, मलेरिया, टाईफाइट सबै चेक गराइयो । परिणाम नेगेटिभ देखियो । युरिन पनि इन्फेक्टेड देखिएन । अब कोभिडको शंका भयो । नगरपालिकामा स्वाब टेष्टको लागि नाम टिपाउने कार्य भइसकेको थियो ।
मंगलबार नगरपालिका स्वास्थ्य शाखाका एकजना सरले फोन गर्नुभयो । उहाँले भन्नुभयो– ‘भोलिपल्ट बिहान आठ बजे मेची आँखा अस्पतालको पूर्वको सानो गेटबाटभित्र आएर फोन गर्नु होला स्वाब कलेक्सनको लागि ।’ राती त आफ्नै मोटरसाइकलमा जाने सोचेँ । बिहान त उपाय नै भएन् । एक्लै जान श्रीमतीले दिइनन् । दुबैजना टेम्पो चढेर सैनिकमोडस्थित आँखा अस्पताल पुग्यौँ, भित्र गयौ । पुरै घाममा दुई घण्टा उभिनु प¥यो । कहिले लाइन लगाउने, कहिले फेरि लाइन तितरबितर हुने । करिब ५० जना मानिसहरु सोसियल दूरी कायम गरेर चौरमा उभिने काम भयो । धेरै जना त बिदेशबाट आएर क्वारेन्टिन अवधि पूरा गरेर आएका र कोही परिवारकै इन्फेक्टेडबाट संक्रमित भएकाहरु समेत थिए । प्रचण्ड घाममा उभिनुप¥यो, भुइँ बस्न नसकिने हल्का हिले र धुले प्रकारको थियो । त्यसबेला बेकार पीसीआर दिन आइएछ झैं लाग्यो । ज्वरो १०० डिग्री जति थियो ।
साढे १० बजे स्वाब संकलन गर्ने कार्य भयो । हामी घर फर्कियौँ । खाना खाएपछि पुनः ज्वरो आयो । खुट्टा धेरै पोल्ने हुन थाल्यो तापक्रम चाहिँ १०२ डिग्रीसम्म पुग्यो । रातको १२ बजेदेखि ज्वरो हट्यो । दुई÷तीन दिनसम्म कमजोरी र थकान ज्यादै भयो । ज्वरो हटे पनि अधुवा, बेसार पानी, तातोपानी पिउने त नियमित नै हुन थाल्यो । पीसीआरको रिपोर्ट बुझ्न फोन ग¥यो ‘रिपोर्ट आएकै छैन । हामीहरु पनि तपाई जस्तै हौँ’ भन्नेखाले जवाफ आउन थाल्यो । कति फोन ग¥यो डिस्टर्व वा इन्गेज हुने । नगरपालिकाका कोभिड युनिटका साथीहरुसँग धेरै फोन गरियो । ज्वरो आउन थालेको शुरुको दिनको हिसाबले १५ दिन कट्यो । तन्दुरुस्त भएको झण्डै हप्ता दिन भयो । छुट्टै कोठामा दिनभर एक्लै रहने अवस्थाबाट मुक्ति पाइयो, तर घरमा सामाजिक दूरी कायम गरेरै बस्न थालियो भने सुताइ अलग्गै रह्यो ।

विश्व स्वास्थ्य संगठनको प्रोटोकलमा लक्षण देखिएको दुई हप्तासम्म आईसोलेशनमा रहनुपर्ने भनिएको छ । त्यसपछि भाइरस आफैं निष्क्रिय हुने या मर्ने मानिन्छ । अहिले २०२० को जुनदेखि त १४ दिन पछाडिको रिपिटेड पीसीआर पनि आवश्यक नहुने भन्न थालिएको र यसैलाई सबैतिर लागू गर्न थालिएको अवस्था पनि छ । यस्तो अवस्थामा पीसीआर रिपोर्ट स्वाब संकलनको नौ दिनपछि र लक्षण देखिएको १८ दिनपछि प्राप्त भयो । कात्तिक छ गते बेलुकी नगरपालिका कोभिड शाखाका अधिकारी दीपक सरबाट फोन आयो । पीसीआर रिपोर्ट पोजिटिभ भएको खबर प्राप्त भयो । अब त्यसको व्यवहारिक पक्ष फितलो भइसकेको र त्यो अवस्था सार्वजनिक गर्नु आवश्यक ठानिएन बरु सावधानीपूर्वक अरु एक हप्ता घरमै बसियो । दशैँ पूर्णरुपले आफ्नै घरभित्र सिमित गरियो । आफ्नो पीसीआर पोजिटिभ भएको परिवारका सबै सदस्यलाई जानकारी गराइयो । यो अवस्थाले केही मानसिक पीडा पनि दियो । समय कटेर आएको रिपोर्टले आफू र परिवारमा तनाव त हुने नै भो यसले उब्जाउने कुरामा चाहिँ अञ्जानबस आफूले कसैलाई संक्रमित त पारिएन ? भन्ने प्रश्न उब्जँदो रहेछ । कुनै लक्षण नभएको र ज्वरो शुरु भएको २०औं दिनसम्म पनि बच्चाहरुमा र श्रीमतीमा संक्रमण भयो की भन्ने डरले जरो गाडेर बस्यो ।
दोस्रो पीसीआर नेगेटिभ आएर पनि आफूमा लक्षण देखिएको १४ दिनपछिको अर्को १४ दिनपछि मात्र ढुक्क भयो । यो ढुक्क विश्व स्वास्थ्य संगठनको पछिल्लो समयमा स्थापित मापदण्ड अनुसार नै थियो । कोरोना अर्थात् कोभिड संक्रमण अपराधी या पापीलाई हुने होइन् । यो विश्वव्यापी महामारी महाव्याधी हो । यो संसारका करोडौँ मानिसहरुमा संक्रमण भइसकेको र लाखौँको ज्यान लिइसकेको छ । नेपालमा सरकारले यसबाट हात धुँदै गएको र बन्दाबन्दी समेत नगरिएकोले यसको संक्रमण तथा यसबाट हुने मृत्यु ज्याँदै उच्च देखिन थालेको छ । यसका बिरामीहरुलाई परिवारका सदस्यहरुले मनोबल बढाइदिनेखालका कुराहरु गर्नु पर्दछ । रिपोर्ट पोजिटिभ आएपछि धेरैले आत्महत्या समेत गरेको अवस्था छ । एक्लै कोठामा आईसोलेसनमा बस्दा आउने नकारात्मक चिन्तनबाट बच्ने र बचाउने गर्नुपर्दछ । यो सबैभन्दा ठूलो दायित्व परिवारकै हो । एउटा भुल्नै नहुने पक्ष भनेको केहो भने कोरोना संक्रमण या कोभिड–१९ बाट अति कम मानिसहरु मरेका र धेरै चाहीँ रोगमुक्त हुँदै गएको अवस्था छ ।
ध्यान दिनैपर्ने कुराहरु :
आफूलाई लक्षणसहित संक्रमण भएको थाहा हुने बित्तिकै छुट्टै कोठामा बस्न थाल्ने । छुट्टै बाथरुम प्रयोग गर्ने । यस्तो अवस्थामा खाना खाने थाल, कचौरा, गिलास छुट्टै राख्ने र आफैं सफा गर्ने । मास्कको प्रयोग अनिवार्य गर्ने । आफूसँग थर्मोमिटर र अक्सिमिटर साथै राख्ने । बाफ लिने उपकरण या पानी तताउने भाँडो साथै राख्ने । डायबेटिजका रोगीहरुमा उच्च ज्वरोको बेला सुगर लेवल ह्वात्तै बढ्न सक्ने भएकोले ग्लुकोमिटरको सहयोगले बेला–बेला सुगरको अवस्था हेर्न सकिन्छ । तातोपानी राख्ने थर्मस, पारासिटामोल तथा चिकित्सकको सल्लाह मुताविकका औषधिहरु आफ्नै कोठामा छुट्टै भेटिने स्थानमा राखिनुपर्ने ।
घरायसी जडीबुटीजन्य बेसार, तुलसी पत्ता, अधुवा, मरिच, हर्रो, गुर्जो जस्ता प्रतिरोधात्मक क्षमता बढाउने सामग्रीहरुको उचित, वज्ञानिक र ठीक ढंगले सेवन गर्न सकिन्छ । यस्तो बेला शक्ति बढाउने पोषणयुक्त खानेकुरा गेडागुडीको रस, सागपात, फलफूल, ड्राई फ्रुट्सहरु (जस्तैः काजु, किसमिस, नरिवल, बदाम आदि), च्याउको सुप, अण्डा आदि ठिक मात्रामा खान सकिन्छ । खासगरी कोभिड संक्रमणमा शरीरलाई न्यानो राख्नुपर्ने जरुरी हुने भएकोले तातोपानी पिउँदै रहनु राम्रो मानिन्छ । बेटाडीन गार्गल र नुन लगाएको तातोपानीले ग्यालगुल गर्नाले घाँटी खसखसाउने समस्याबाट धेरै राहत मिल्दो रहेछ । लक्षण खासै नदेखिएको तर आईसोलेसनमा बस्नुपर्ने अवस्था आएमा योगा, अध्ययन तथा संगीतमा भुलेर दिन कटाउन सजिलो पर्दछ ।
उच्च ज्वरोमा एकाग्रता प्रयास :
मैले उच्च ज्वरो अर्थात् १०३÷१०४ डिग्रीसम्म तातिएको बेलामा अनेकौ थरी सोचाईहरुलाई मौका नदिनका लागि दुईवटा प्रयास गरेर हेरेँ । मर्छुकी जस्तो लागेको बेलामा स–साना बच्चाहरु तथा परिवारजनतिर ध्यान जान थाल्नु स्वभाविकै हो । मरी हालियो भने के होला ? भन्ने जस्ता प्रश्नहरुमा भुल्दा मनोबल गिर्ने र चिन्ता बढ्ने हुन्छ । यो सबै सांसारिक सोचाईबाट निस्केर मृत्यु शय्यामा कसरी परमात्मा चिन्तन गर्ने त भन्ने खुल्दुली र रहस्य जस्तो नै हुँदो रहेछ । लाखौँ बर्षको पृथ्वीका कल्पहरुको आयुको अगाडि क्षणभंगुर मानव चोलालाई साँच्चै नै क्षणभंगुर, नश्वर र मर्नैपर्ने कुरा पटक–पटक सोच्ने मानिसहरुलाई धेरै गाह्रो नहुनुपर्ने जस्तो लाग्छ । मैले उच्च ज्वरोको समय ऊर्जा मेडिटेशन र राजयोगाको अभ्यास गरेर हेरेँ । शरीरदेखि फरक चैतन्यस्वरुप आत्माको अवस्थाको चिन्तनको गहिराईमा पुगेपछि परम्शान्तिको अनुभव हुँदो रहेछ । यो पुरै अस्वस्थतामा पनि सम्भव पार्न सकिँदोरहेछ । चैतन्यस्वरुप आत्माको उषाकालीन गगनको यात्राको मज्जा बेग्लै ।
आनन्दकै बीच भुसुक्कै निदाएको पत्तो नै भएन् । अर्कोदिन खप्तड बाबाको बिचार बिज्ञान अन्तर्गतको विधि प्रयोग गरियो । जसमा आफ्ना विश्वास भएका र पटक–पटक सम्झिरहने भगवानको स्वरुपको मुकुट, शोभायमान मुखमण्डल, बाहु, छाती, चरण सबै सम्झँदै–सम्झँदै आनन्दभाव प्रकट हुन दिने । आनन्दै आनन्दमा टिकिरहने । आरती गर्ने, चरण स्पर्श गर्ने, चंदन अक्षता चढाउने आदि कार्य अन्तरमनले गरिरहने । यसबेला भगवानलाई प्रेमको सागर, सुखको सागर, आनन्दको सागरको रुपमा चिन्तन गर्दै त्यसैमा टिकीरहने । यो उपायले अप्ठेरो समय मात्र होइन मृत्य शय्यामा पनि आनन्दमा रहन सक्ने र मोक्षको समेत अवस्था सृजना गर्छ तथा मृत्युलाई सहज बनाइदिन्छ भनेर साधकहरुले भनेका छन् । यो समय आनन्ददायक मेडिटेशनले समेत सहयोग गर्दछ । यो साधना र पूर्ण विश्वासमा आधारित हूने कारण यसलाई यहाँभन्दा बढी नतन्काउने अनुमति चाहन्छु ।
उच्च ज्वरोले सताएर होम आइसोलेसनमा रहेको समयमा धेरै मित्रहरु, टाढा रहनुभएका परिवारका सदस्यहरुले निरन्तर सम्पर्क गरिरहनुभयो । सबैभन्दा ठूलो मनोवल लिएर मेरी श्रीमतीले गरेको उत्साहजनक व्यवहारले ठूलो औषधिको काम ग¥यो । केही मित्रहरु औषधि तथा जडीबुटी बोकेर घरमै समेत आउनु भयो । टाढैबाट ग्रहण गरियो । केही औषधि व्यवसायी मित्रहरु र चिकित्सक र स्वास्थ्यकर्मी मित्रहरुसँग बारम्बार सम्पर्क भइरह्यो । कोभिड संक्रमण पुष्टी भएपछि आफ्ना अनुभवहरु आफू संलग्न शैक्षक संस्थाहरुका साथीहरुका समूहमार्फत सार्वजनिक हुँदै रहे । प्रत्यक्ष भेटेर, टेलिफोन तथा सामाजिक सञ्जाल मार्फत सद्भाव राख्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।


























