
कहाबाट शुरु गरौं :
सत्ताधारी दल नेकपाको घर झगडा यदुवंशीहरुको जस्तै मोडमा पुगेको छ । महाभारत कथामा कौरव र पाण्डवको झगडाभन्दा विनाशकारी झगडा यदुवंशीहरुको थियो भन्ने उल्लेख पाइन्छ । कौरव र पाण्डवको झगडामा पाण्डवहरु बाँचे र कुरुवंशलाई अघि बढाए । तर, यदुवंशीहरुको समूल नष्ट भयो ।
कथामा भनिएको छ फलामको मुसललाई घोटेर नदी किनारमा फालिएको धुलोबाट उम्रिएका तरबारले एक अर्कालाई काटेर मथुराका यदुवंशी खतम भए । त्यही कुलका कुल दीपक मानिएका चतुर खेलाडी कृष्णले आफ्नो कुललाई बचाउन सकेनन् । किनकि झगडा र बदलाको भावना यति धेरै बढेको थियो कि त्यसलाई मिलाउने मौका कृष्णले पनि पाएनन् ।
पूर्वीय जीवन दर्शन, धर्मशास्त्र, नीति कथा, उपदेश र कथाकहानीबाट शिक्षा लिँदै सकेसम्म आफूलाई विनाशबाट जोगाउने प्रपञ्च गरिरहेका हामीमा पक्कै पनि महाभारतका प्रसंगहरुले प्रभाव पार्नुपर्छ र अधिकांश अवस्थामा पारेको छ । पाँच हजार बर्ष पुरानो महाभारत महाकाव्यमा वर्णन गरिए जस्तै हुँबहु राजवंश थियो भन्ने कुरा ऐतिहासिक प्रमाणले सिद्ध गर्दैन । तर, त्यसबेलाको समाजको प्रवृत्ति र अब समाजलाई कस्तो बनाएर लाने भन्ने सोच त्यसबेलाका मनिषीहरुमा थियो भन्ने देखाउँछ । जसको साक्षी अहिले पनि पुराण र महाभारत, धर्मशास्त्रहरु उत्तिकै चावका साथ सुनिन्छन् र अध्येथाले पढ्छन् । कति ग्रहण गर्ने वा नगर्ने भन्ने कुरा सुन्ने र अध्येताको कुरा हो ।
अर्को प्रसंग :
माथि शुरुकै वाक्यमा लेखियो कि अहिले नेकपाको त्यो पनि शीर्ष नेताहरुबीचको त्यो पनि दुई अध्यक्षबीचको चर्काचर्की कठिन मोड र निर्णायक अवस्थामा पुगेको छ । यसो भनिरहँदा र लेखिरहँदा आज–भोलि नै नेकपा फुट्छ भन्ने होइन । जसरी पार्टी एकीकरण गर्नु गाह्रो विषय थियो त्यो भन्दा गाह्रो विषय हो पार्टी फुट्नु ।
त्यसैले मंगलबारको बैठकले मात्रै सबै कुरा निर्धारण गर्दैन । पार्टीभित्रको विवाद समाधान गर्न यस्ता बैठक अरु धेरै पटक बस्छन् भने फुट्नैपर्ने भए पनि अरु धेरै बैठक बस्लान् । त्यसैले होला पार्टीका बरिष्ठ नेता झलनाथ खनालले सोमबार गृह जिल्लाको एक कार्यक्रममा भने पार्टी फुट्छ भनेर तावा सेकाउनेहरुले रोटी पकाउने आशा छोडे हुन्छ । अहिले नै पार्टी फुट्दैन र फुट्न दिइँदैन ।
पार्टीलाई फुटबाट जोगाउने वा फुटाउने दुबै अवस्थामा खनालजीको कति धेरै हैसियत छ भन्ने पंक्तिकारलाई थाहा हुने विषय होइन । तर, पंक्तिकारले खनालजीका धेरै अवस्थाको अध्ययन र विश्लेषण गर्दा उनमा पार्टीलाई दुबै अवस्थामा पु¥याउने हैसियत छैन भन्ने निचोड निकालेको छ । रमिते बनेर हेर्ने क्रममा ताली पिट्ने वा नपिट्ने हैसियत भने खनालमा छ ।
किन फुट्दैन :
पार्टी एकजुट हुँदाका फाइदाहरु पूर्व एमाले र पूर्व माओवादीका केन्द्रदेखि स्थानीय तहसम्मकै नेता कार्यकर्ताहरुले लिएका छन् र अझै लिन पाउँछन् । पक्कै पनि लाभको राजनीति गर्ने अहिलेको दलीय नेताको प्रवृत्तिले पार्टीलाई फुटाउँदा ती सबै फाइदा र हैसियत एकाएक माटोमा मिल्ने अवस्था आउने भएकोले उनीहरु पार्टीलाई एकजुट बनाइराख्न चाहन्छन् ।
त्यसैगरी शीर्ष नेताहरुको अहिलेको हैसियत र महत्व भनेको पार्टी एक भएर ठूलो हुँदा कायम भएको हो । कमजोर भएपछि सबै डा. बाबुराम वा मोहन बैद्य हुन पुग्छन् । अथवा त्यसअघिका सिपी र आर के, रायमाझी, मोहनसिंहहरुको जस्तै हविगत हुन्छ भन्ने देखेकै र महशुस गरेकै हुनुपर्छ भन्ने पंक्तिकारलाई लागेको छ ।
अथवा अर्को अवस्था हेर्ने हो भने हिजो माओवादी फुटेर कमजोर भएपछि प्रचण्डले आफ्नो र पार्टीको हैसियत बरकरार राख्न एमालेसँग गठजोड गर्न मञ्जुर गरेकै हुन् र जुट्दा फाइदै पुग्ने देखेर राजनीतिका चतुर खेलाडी ओलीले पनि एकजुट हुन मञ्जुर गरेकै हुन् ।
परिणाम :
यदि दुबै शीर्ष नेताका पनि शीर्षद्वय ओली र प्रचण्डले यो अवस्थालाई ठण्डा दिमागले सोच्ने र अहम् र हठ छोडेर नझुक्ने प्रवृत्तिको सामन्ती सोच नराख्ने हो भने पार्टीलाई एकजुट बनाउने चमत्कारी निर्णयमा पुग्नु आवश्यक छ । पंक्तिकारले किन यसो भनिरहेको छ भने पार्टीभित्रको त्यो पनि सत्ताधारीबीचको यदुवंशी प्रवृत्तिको प्रतिकूल असर अहिलेको गणतन्त्रलाई पर्छ । पंक्तिकार नेकपा समर्थक होइन । तर, गणतन्त्र समर्थक हो ।
जसरी २०४८ सालदेखि ५१ को बीचमा सत्ताधारी नेपाली कांग्रेसबीचको यदुवंशी प्रवृत्तिले संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्रलाई समाप्त पार्ने खाडल खन्यो, त्यसरी नै अहिलेको नेकपाबीचको यदुवंशी प्रवृत्तिले जनताको गणतन्त्रलाई धुलिसात बनाई प्रतिक्रान्तिको बाटो खन्ने काम शुरु हुन्छ । यसको संकेत अहिले देशव्यापीरुपमा शुरु भएका राजतन्त्र समर्थकहरुका प्रदर्शन, सामाजिक सञ्जालका वालहरुमा गणतन्त्रको विरोध र संघीयताको खारेजीका कुराहरुले देखाइरहेको छ । विगत एक महिनायता प्रतिक्रान्तिकारीहरुको सगबगाहाट बढ्नुमा नेकपाभित्रको किचलो र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको रमिते चालाको फल हो ।
गर्ने के त :
धेरैले भनिरहेको, विश्लेषण पनि गरिरहेको र दोस्रो तहका नेताहरुले दिएका दुईवटा प्रमुख विकल्प छन् । एक ओलीजीले प्रस्ताव राखे जस्तो दुबै अध्यक्षले कार्यकारी भूमिका छोडेर संरक्षकको भूमिकामा बस्न मञ्जुर गर्ने र दोश्रो तहका नेताहरुलाई पार्टीको जिम्मेवारी सुम्पने । दुई, दुईवटै नेताका राजनीतिक प्रतिवेदन भनौं प्रस्तावलाई समेटेर सहमतिको संयुक्त प्रतिवेदन तयार पार्ने ।
यी दुई विकल्पमध्ये पहिलो विकल्पमा ओलीजी तयार भए पनि कुनै चमत्कार भएन भने यो आलेख तयार पार्दासम्मको अवस्था हेर्दा प्रचण्ड तयार हुने अवस्था देखिएको छैन । त्यसैले पहिलो प्रस्ताव अघि बढ्ने देखिन्न । दोश्रो विकल्प भने कमजोर नै भए पनि हाललाई पार्टीलाई बचाई राख्ने एउटा आधार हुन सक्छ र यसले दुबैलाई महाधिवेशनसम्म सँगै लान सक्छ । त्यसपछि महाधिवेशनले छिनोफानो गर्छ ।


























