मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढ्दै

0
951

युवराज विष्ट/भोजपुर,

मुन्धुम ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय स्थलमा राज्यको लगानी बढेको छ ।

पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा सङ्खुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा परेपछि स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् ।

प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहाने पर्यटकलाई उपयुक्त हुनेगरी नेपालमै थुप्रै पदमार्ग खोलिएका छन् । धेरै पर्यटकीय सम्भावना बोकेका त्यस्ता पर्यटकीय पदमार्गमध्ये छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ विकास भइरहेको छ ।

भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका पनि जुटेको छ । उक्त मुन्दुम पदमार्गमा दुई हजार ४०० मिटरदेखि तीन हजार ३०० मिटरको दुरीमा उकालोओरालो गर्दै डाँडैडाँडामा पैदलयात्रा गर्न सहज हुन्छ । यस मार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । त्यसका लागि पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यान राख्दै संरचनाहरु निर्माण भइरहेका छन् ।

प्राकृतिक सुन्दरताले अति मनमोहक दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रलाई ‘टुरिष्ट हब’ बनाउने लक्ष्यले पदमार्गको काम थालिएको हो । हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी भएको प्रमुख पदस्थल भएको उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्रियाएर पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

भोजपुरको पाँचधारेदेखि सिलिचुङ डाँडासम्मको करीब ५८ किलोमिटर पदमार्गमध्ये पहिलो चरणमा १२ किलोमिटरमा पदमार्ग निर्माणको काम थालनी गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले एक कार्यक्रमबीच सोमबार सो पदमार्ग निर्माणको शिलान्यास गर्नुभएको हो ।

प्रदेश सरकारको ३५, स्विस सरकारको ३५ र गाउँपालिकाको ३० प्रतिशत गरी रु ९९ लाख २२ हजार ७८४ लागतमा पहिलो चरणको पदमार्ग निर्माणको काम थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।

छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ का रुपमा विकास गर्न कामको थालनी गरिएको हो । पदमार्गमा जाने आन्तिरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै संरचनाहरु निर्माण गरिने जनाइएको छ ।

किराँत राईहरुको संस्कार, संस्कृतिसँग जोडिएका विभिन्न टिपिकल खानाको व्यवस्था गरिने जनाइएको छ । पर्यटकको पदमार्गमा सहजयात्राका लागि विभिन्न जानकारी मुलुक बोर्डहरुसमेत राखिने पदमार्ग निर्माण समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि पदमार्ग निर्माणको काम थालनी गरिएको छ, प्राकृतिक स्वरुपलाई यथावत् राख्दै सिमेन्टको प्रयोग नगरी स्थानीय स्रोतसाधनको प्रयोग गरेर पहिलो चरणको पदमार्गको निर्माणको काम शुरु भएको छ ।”

पदमार्गका लागि रु दुई करोड लागतमध्ये पहिलो चरणमा रु ९९ लाख बराबरको हुनेछ भने दोस्रो चरणमा चिया घर निर्माण, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँगै पर्यटकहरुका लागि खानाबस्नका लागि अन्य संरचना निर्माण हुने अध्यक्ष राईले जानकारी दिनुभयो । “पहिलो चरणको काम शुरु भयो, यस बजेटले १२ किलोमिटर पदमार्ग निर्माण हुनेछ, त्यसपछि बाँकी बजेटले अन्य संरचनाहरु निर्माण हुनेछन्”, अध्यक्ष राईले भन्नुभयो ।

मुन्दुम ट्रेलको विकासले गाउँपालिकालाई आर्थिक विकासमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ काम अघि बढाएको गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले यहाँका सम्भावनालाई पहिचान गरेर आफ्ना गतिविधि बढाएको छ, गाउँपालिकालाई प्रदेश १ को पहिलो उज्यालो पालिकाका रुपमा घोषणा गर्न सफल भएका छौँ, अब पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ । यसले यहाँको आर्थिक विकासमा टेवा पुग्नेमा हामी आशावादी छौँ ।”

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले पर्यटकहरुको सहज आवागमनका लागि होटल व्यवसायको विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो । उच्च हिमाल चढ्न पनि नसक्ने तर त्यसलाई नजिकबाट नियाल्न चाहाने पर्यटक अन्यक्षेत्रको ठाउँलाई छोडेर पोखरा, चितवन, काठमाडौँमा भ्रमण गर्ने र फर्कने पर्यटक यस्ता किसिमका पदमार्गको भ्रमण गर्न चाहन्छन् । त्यसैले उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यावसायिकीकरण गर्न यो पदमार्गले सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here