बिर्तामोड –१ मा ब्रह्माकुमारी राजयोग गीता पाठशाला

0
1186

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको बिर्तामोड –१ मा ब्रह्माकुमारी राजयोग गीता पाठशाला भवनको शिलान्यास गरिएको छ ।

 

बिर्तामोड –१ का शिक्षासेवी तथा पत्रकार लक्ष्मण ढकाल र दुर्गादेवी ढकालले निःशुल्क प्रदान गरेको पौने तीन धुर जग्गामा उक्त भवन निर्माण गरिने भएको हो ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडको शाखाको रुपमा उक्त भवन निर्माण शुरु गरिएको ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडकी मुख्य सञ्चालिका ब्रह्माकुमारी पूर्णिमा दिदीले बताइन् ।

 

जातीभेद , धर्मभेद ,वर्णभेद, लिङ्गभेद मेटाई एकआपसमा भातृत्वप्रेमको विकासगरी नैतिकवान, चरित्रवान समाजको निर्माण गर्ने उद्धेश्यले ब्रह्माकुमारी राजयोग गीता पाठशाला भवनको निर्माण गरिएको उनले वताइन् ।

मानव सबै एकै ईश्वरका सन्तान र एउटै परिवार भएको बताउँदै उनले समाजमा सुख, शान्ति, समृद्धि र मर्यादा स्थापनाका लागि एकजुट भएर अगाडि बढ्न ब्रह्माकुमारी राजयोग गीता पाठशाला भवनको निर्माण गरिएको जानकारी दिइन् ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडकी ब्रह्माकुमारी वुद्धदिदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्रह्माकुमारी हरितादिदीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले ब्रह्माकुमारी राजयोग गीता पाठशाला भवनको शिलान्यास गर्दै ब्रह्माकुमारी राजयोग संस्था अन्य धार्मिक संस्थाहरू भन्दा पृथक बताउँदै यसले समाजका सबै वर्ग, धर्म र सम्प्रदाय बीच शान्ति, सद्भाव र एकताको सन्देश दिदै भाइचाराको पाठ पढाएको चर्चा गरे ।

मानवलाई विभिन्न विकृति र कुसंस्कारहरूबाट मुक्त गराई आदर्श जीवनयापन गर्न सिकाउने पवित्र संस्थाको रूपमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र विश्वमा स्थापित भइसकेको बताउँदै उनले ब्रह्माकुमारी राजयोग गीता पाठशाला भवन निर्माणका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

कार्यक्रममा बिर्तामोड –१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले ब्रह्माकुमारी राजयोग गीता पाठशाला भवनलाई बिर्तामोड वडा नंं. १ कै गहनाको रुपमा विकसित गरिने र त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा जग्गादाता दुर्गादेवी ढकालले ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र जान नसक्ने महानुभावहरुलाई साधना गर्न सहज होस् भन्ने उद्धेश्यले ब्रह्माकुमारी राजयोग गीता पाठशाला भवन निर्माणका लागि जग्गा प्रदान गरेको वताइन् ।

जग्गादाता दुर्गादेवी ढकाल र सौरभ ढकाललाई सम्मान गरिएको कार्यक्रममा नेपाल –भारत मैत्री संघका बिर्तामोड अध्यक्ष मोहन ढकाल , बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल , पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला लगायत ब्रह्माकुमार ब्रह्माकुमारीहरूको सहभागिता रहेको थियो ।

शिव झण्डोत्तोलन तथा आध्यात्मिक प्रवचन गरिएको कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र बिर्तामोडकी मुख्य सञ्चालिका ब्रह्माकुमारी पूर्णिमा दिदीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here