अधुरो जीपी भवन : प्रमको प्रतिष्ठा

0
1015

झापाको भद्रपुरमा पाँच वर्षअघि शिलान्यास गरिएको गौरवको आयोजना गिरिजाप्रसाद कोइराला स्मृति सभागृह जीपी भवन निर्माण सम्पन्न नहुनु मूलतः भद्रपुरबासीका लागि दुर्भाग्य हो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा निर्माण गरिने भनिएको सो भवनको निर्माण कार्य विगत डेढ वर्षदेखि अलपत्र भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, वर्तमान प्रधानमन्त्री एवम् तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तत्कालीन अध्यक्ष विजयकुमार गच्छदार लगायतको उपस्थितिमा भएको शिलान्यास र निर्माण कार्यले पूर्णता नपाउनु दुःखद् विषय हो । शिलान्यास गर्ने समूहका सुशील कोइरालाको देहावसान भइसकेको छ भने दुई नेता हाल सत्तारुढ नेकपाका अध्यक्ष रहेका छन् । यति भएर पनि झापाकै गौरवको आयोजनाको निर्माण अवरुद्ध हुनु सरकारकै गैर जिम्मेवारीपूर्ण रवैया भएको टिप्पणी हुन थालेको छ ।

त्रिपन्न मिटर लम्वाइ र चौंतीस मिटर चौडाइको सो भवन निर्माणको जिम्मा प्रेरा साह जेभी निर्माण कम्पनीले लिएको थियो । करिब तेह्र करोड रुपैयाँको लागतमा निर्माण शुरु गरेको भवन अझै अलपत्र रहनुले नेतृत्वप्रति अविश्वास र आशंका उब्जिन सक्छ । तत्कालीन पक्ष–प्रतिपक्ष सबै मिलेर शिलान्यास गरेको भद्रपुरको केन्द्रमा जिविसको स्वामित्वमा रहेको जग्गामा सुविधासम्पन्न सार्वजनिक गृहको सम्पन्नताले स्थानीय मात्र होइन राष्ट्रिय महत्वका कार्यक्रमहरु सम्पन्न गर्न सहज हुने थियो । निर्माण कम्पनीका प्रोप्राइटर रञ्जीत साह सरकारले बजेट निकासा नगरेका कारण काम अलपत्र परेको बताउँछन् । हालको जिल्ला समन्वय समितिले योजनाको अनुगमन गर्न पाएको जिम्मेवारी अनुरुप निर्माणको निरीक्षण, अनुगमनका क्रममा सरकारसँग बजेट निकासा गर्न गरेको अनुरोधको पालना नगर्नु आफैंमा लाजमर्दो कुरा हो ।

जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भवन निर्माणको म्याद थप्न नमानेको बताएका छन् । वर्तमान प्रधानमन्त्री प्रतिष्ठासँग समेत जोडिएको यो भवनको सम्पन्नताले जिल्लाकै गौरव बढ्ने निश्चित छ । आफ्नो गृह जिल्लामा आफूले समेत शिलान्यास गरेको भवन अलपत्र पर्दा अन्य आयोजनाहरुको हालत के होला अनुमान गर्न सकिन्छ । त्यसैले प्रधानमन्त्री समक्ष यो विषय पु¥याएर भवनको सम्पन्नतामा जिल्ला समन्वय समितिका अध्यक्षले दवाब सृजना गर्नुपर्छ । अन्यथा राजनीतिक दलहरुमाथिको विश्वास अविश्वासमा बद्लिन समय लाग्दैन । यसतर्फ सम्बद्ध संस्था व्यक्ति, सत्तारुढ दलको ध्यानाकर्षण हुनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here