झापाका ११ पत्रकार संक्रमित, पौडेल होम आइसोलेसनमा

0
625

बिर्तामोड।  हालसम्म झापाका ११ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित बनेका छन् । पछिल्लोपटक दमकका पत्रकार विष्णु पौडेल संक्रमित भएका छन् । उनी हाल दमकस्थित होम आइसोलेसनमा रहेका छन् ।

निष्कर्ष न्यूज साप्ताहिक तथा निष्कर्ष न्यूज डटकम अनलाइनका सम्पादक सञ्चालक रहेका पौडेललाई गत २३ गते मंगलबारबाट कोरोना संक्रमित भएको पुष्टि भएको हो । संक्रमणको लक्षण देखिएपछि उनी १९ गतेबाट होम आइसोलेसनमा रहेका थिए ।

पत्रकार विष्णु पौडेल

होम आइसोलेसनमा रहँदा पनि उनी पत्रकारिताका मै क्रियाशील छन् । संक्रमित भएर घरमा नै आराम तथा औषधि सेवन गरिरहेको अवस्थामा पट्यारलाग्दो समयलाई पत्रकारिताकै काममा लगाउने गरेको पत्रकार पौडेल बताउँछन् । उनी घरमा नै बसेर आफ्नो अनलाइनमा समाचार अपडेट गरिरहेका छन् ।

दैनिक तीन–चारपटक बाफ लिनुका साथै घरेलु औषधिका साथ दमक नगरको स्वास्थ्य शाखाले सिफारिस गरेको भिटामिन सी, डी लगायतका औषधि सेवन गरिरहेको पत्रकार पौडेलले बताए । नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए । ज्वरो तथा अन्य कडाखालको लक्षण नभए पनि दुई दिनदेखि खानामा अरुची बढेको उनको भनाइ छ । शारीरिक रुपमा केही कमजोर महशुस भएको समेत पूर्वाञ्चलकर्मीलाई पत्रकार पौडेलले बताए ।

यसअघि पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटासहित १० जना पत्रकार संक्रमित भएका थिए । संक्रमित सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सामान्य दैनिकीमा फर्किएका छन् । पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, कार्यसमिति सदस्यहरु रमेश तिवारी, विनोद सापकोटा, कान्तिपुर टेलिभिजनका संवाददाता गणेशमान मुखिया, पाथीभरा एफएमका समाचार सम्पादक लोकनाथ रिजाल, राष्ट्रिय समाचार समिति सञ्चालक समिति सदस्य दयाराम दाहाल शुलभ, सगरमाथा टेलिभिजनका भूपाल लुइँटेल, महासंघका सदस्य माधव खतिवडा कल्पित र पत्रकार जीएन शर्मा कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

महासंघका सदस्य रहेका सबै पत्रकारको महासंघसहित विभिन्न सञ्चार संस्थाबाट कोरोना बीमा गरिएकाले बीमा रकम भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले बताएका छन् । महासंघ झापाका अध्यक्ष सापकोटाको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले कोरोना बीमाको रकम दाबी प्रक्रिया अघि बढाउन सह–सचिव केशव भट्टराई र कार्यसमिति सदस्य रमेश तिवारीलाई जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here